coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

राजनीतिक खिचातानीमा विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयमा लकडाउनयता पदाधिकारीले एकलौटी रूपमा विभिन्न कलेज, विभाग, डिन कार्यालय, अध्ययन संस्थानलगायत निकायका ३३ पदमा नेकपाका कार्यकर्ता धमाधम नियुक्ति गरिएपछि विश्वविद्यालयभित्र विद्यार्थी, प्रध्यापक र पदाधिकारीबीच मुठभेडको अवस्था उत्पन्न भएको छ ।  

मंगलबार विश्वविद्यालयको उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष शिवलाल भुसाल र रजिष्ट्रार पेशल दहालको कार्यकक्षमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तोडफोड गरेको छ भने विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख गंगाबहादुर थापामगर चढ्ने गाडी र कर्मचारी बोक्ने गाडीसमेत तोडफोड भएको छ ।

विश्वविद्यालयका उपकुलपतिसहितको नेतृत्वले रिक्त रहेका पदमा नेकपाका विभिन्न आरोप लागेका व्यक्तिलाई समेत नियुक्ति गरेको थियो । मंगलबार नेवि संघले त्रिविका तिनै पदाधिकारीको कार्यकक्षमा ढुंगामुढा गरी तोडफोड गर्नुका साथै नेकपानिकट अनेरास्ववियुले प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्षलाई फोन गरी धम्काएका थिए । यसैगरी नेवि संघले आफना दलनिकट प्रध्यापकलाई धम्की दिएको भन्दै नेकपानिकटका पदाधिकारीलाई कालोमोसो दल्ने र जे पनि गर्ने धम्की दिएको एक प्राध्यापकले बताए । नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ र नेवि संघले उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकालयमा तालाबन्दी गरेलगत्तै अनेरास्ववियु नियुक्तिको बचाउमा उत्रेको थियो ।  

विश्वविद्यालयका प्रवक्ता सूर्यप्रसाद अधिकारीले मंगलबार केही विद्यार्थीको समूहले पदाधिकारीको कार्यकक्षमा ढुंगामुढा गरी झ्याल, ढोका तथा दराजका सिसा फुटाएको बताए । ‘संक्रमणकालीन अवस्थामा विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी र प्रध्यापक मिलेर विश्वविद्यालयलाई कसरी अघि बढाउनुपर्ने सोच्नुपर्नेमा तोडफोड र तालाबन्दीमा उत्रनु विश्वविद्यालयको हितमा हुँदैन,’ प्रवक्त अधिकारीले भने, ‘उच्च अदालत पाटनको निर्देशनअनुसार नै विश्वविद्यालयले साउन २३ मा तालाबन्दी खोलाएर कामकाज निरन्तर गरेको छ ।’ एक रिटमा उच्च अदालतले त्रिविका शैक्षिक गतिविधि नरोक्न  आदेश दिएको थियो ।  

करार हुनुपर्ने माग राख्दै तोडफोड
यसैबीच, त्रिविका आंशिक शिक्षकले विश्वविद्यालयले करार गर्नुपर्ने माग राख्दै महेन्द्र बहुमुखी क्याम्पस, दाङका प्रमुखको कार्यकक्षमा तोडफोड गर्नुका साथै प्रमुखको टेबुल कुर्सीमा आगजनी गरेका छन् । शिक्षकको समूहले क्याम्पस प्रमुखको नेमप्लेट र विद्युतीय हाजिर मेसिनमा समेत आगजनी गरिदिएका छन् ।  

कलेज प्रमुख दिवाकर शर्मालाई कार्यकक्षबाहिर निकालेर कार्यकक्षमा तालाबन्दीसमेत गरिदिएका छन् । नेपाल आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दले त्रिविले पटकपटक आंशिक शिक्षकलाई करार गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेकाले देशभरिकै आंगिक कलेजमा संघले तालाबन्दी गरेको बताए । ‘शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै मन्त्रिपरिषद्बाट १ हजार ४ सय २० आंशिकलाई करार गराउने प्रस्ताव पारित गराएका थिए,’ चन्दले नागरिकसँग भने, ‘तर हालका पदाधिकारीले त्यसलाई निरन्तरता गराउन चाहेनन्, त्यसबाट पछि हटेका छन् ।’  

नेकपानिकट नेपाल राष्ट्रिय प्राध्यापक संघका सहसंयोजक प्राडा रमेश भट्टराईले विश्वविद्यालय जटिल राजनीतिक र प्राज्ञिक संस्था भएकाले पदाधिकारीले वार्ता र छलफलबाट समस्याको समाधान निकाल्नुपर्ने सुझाए ।  

यसैबीच, नेपाली कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा देखिएका समस्या तत्काल समाधान गर्न अपिल गरेको छ ।

शैक्षिक संस्था अनिश्चितकालीन बन्द
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले शैक्षिक संस्था अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।  

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले मंगलबार संक्रमणको जोखिम बढ्दै गएकाले शैक्षिक संस्था हाललाई खोल्ने अवस्था नरहेकाले अर्को निर्णय नभएसम्म बन्द गरिने बताएका छन् । उनले काठमाडौं उपत्यका र २ सय भन्दा बढी संक्रमित रहेको जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर उपलब्ध सेवा घरबाटै व्यवस्थापन गर्न आग्रहसमेत गरेका छन् ।

प्रकाशित: २८ श्रावण २०७७ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App