१५ चैत्र २०८० बिहीबार
शिक्षा

दाताको सहयोग रोकिँदा बालबालिकालाई छाक टार्न शकस

बालमन्दिर माध्यामिक विद्यालय ।

आफन्त भनेका शिक्षक र सँगै बस्ने साथी, घर भनेको यही विद्यालय । दशैँ, तिहार, माघेसंक्रान्ती जुनसुकै पर्वमा पनि सधै सँगै विद्यालयमै । बिहान दश बजे खुल्ने र चार बजे बन्द हुने विद्यालय होइन गोरखा नगरपालिका ६ को बाल मन्दिर मावि ।  

यहाँ २२ जना अनाथ बालबालिका दाताको सहयोगमा पढ्दै, बस्दै आएका छन् । तर बिगत १४ महिनादेखि सहयोग पठाउँदै आएका दाताले नपठाउँदा बिहान बेलुकी के खाने भन्ने चिन्ता बालबालिकालाई छ ।  

अष्ट्रेलियाको लग अन फाउण्डेसनले वार्षिक तीन लाख ५० हजार सहयोग गर्दै आएका थिए । उक्त सहयोग १४ महिनादेखि नआउँदा बालबालिकालाई खाद्यान्न अभाव भएको विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेले बताए ।  

‘२२ जना चिने जानेकाहरुकोमा केही गएका छन्’ प्रधानाध्यापक लामिछानेले भने ‘१२ जना विद्यार्थी विद्यालयमै छन् ।’ बाँकी भएका विद्यार्थीलाई बिहान बेलुकी खाना खुवाउनै मुस्किल छ ‘अहिले बिभिन्न संघ संस्था र ब्यक्तिलाई हारगुहार गरेर छाक टार्नु परेको छ’ उनले भने ‘नियमित आउने सहयोग रोकियो भने अनाथ, असहाय बालबालिकालाई पहिले झै राख्न सक्ने क्षमता विद्यालयसँगै रहँदैन ।’  

केही समय अघि अष्ट्रेलियामा आगलागी भएको थियो । त्यहाँका नागरिक पिडामा भएकाले विद्यालयलाई सहयोग केही ढिला गरी पठाउने आश्वासन फाउण्डेसनका ‘मार्क’ नामक ब्यक्तिले गरेका थिए । त्यसयता पुनः लकडाउन भएपछि दाताले सहयोग पठाउने समय धकेलिएको छ । ‘कहिले आउँछ वा आउँदैन पत्तो भएन’ प्रअ लामिछानेले भने । अष्ट्रेलियन नागरिकले छ/छ महिनामा बाल मन्दिरका १४ जना विद्यार्थीलाई पठाउने सहयोगले २२ जना विद्यार्थी विद्यालयले राख्दै आएको थियो ।

विद्यालयमा आवासीय रुपमा बस्दै आएका विद्यार्थीलाई मासिक ८० हजार रुपैयाँ खानामा खर्च लाग्छ । दाताको सहयोग बाहेक ब्यक्ति संघ संस्थाले बिभिन्न पर्व, दिवसको अवसर पारेर सहयोग गर्ने गरेका छन् । ‘बिरामी परेकालाई निजी मेडिकलहरुले पनि निःशुल्क उपचार गरिदिने गरेका छन्’ विद्यालयका प्रअ लामिछानेले भने ‘अहिले स्वास्थ्य बिमा गराएकाले सजिलो भएको छ ।’  

अहिले बालमन्दिर माविमा आवासीय रुपमा बस्दै आएका धार्चे गाउँपालिकाका १० जना, बारपाक सुलिकोट गाउँपालिकाका ४ जना, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका, आरुघाट गाउँपालिकाको दुई/दुई जना, सिरानचोक गाउँपालिकाको एक र अर्का एक गरी २२ जना रहेका छन् । भूकम्पमा आमा बाबु गुमाएका, परिवारको संरक्षण नपाएका ६ देखि २० वर्ष उमेरका ६ जना केटी र १६ जना केटा बालमन्दिरमा बस्दै आएका छन् ।

प्रकाशित: २७ श्रावण २०७७ ११:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App