१६ चैत्र २०८० शुक्रबार
शिक्षा

शिक्षकको सरुवा आफू अनुकुल नभएपछि तालाबन्दी

ठाकुरबाबा नगरपालिकाले शिक्षकको दरबन्दी मिलान गरेको सार्वजनिक गरेपछि आईतबारदेखि शिक्षक आन्दोलित भएका छन् । आक्रोशित शिक्षकले ठाकुरबाबा नगरपालिका शिक्षा शाखा तालाबन्दी गर्दा शाखाको नियमिति काम ठप्प भयो । अर्को निर्णय नगर्दासम्म अनिश्चित कालिन रुपमा चरणबद्ध आन्दोलन गर्ने शिक्षकले शिक्षा शाखालाई शिक्षक संघमा आबद्ध शिक्षकले चुनौति दिएका छन् ।  

आफू अनुकुल शिक्षकको सरुवा मिलान नभएको भन्दै शिक्षक आन्दोलनमा उत्रेका हुन् । शिक्षकले राजनीतिक प्रतिशोधका कारण नगरपालिकाले शिक्षकको दरबन्दी मिलान गरेको आरोप लगाएका छन् ।  

ठाकुरबाबा नगरपालिकाको शिक्षा समितिले सर्व पक्षीय बैठकको निर्णय अनुसार शिक्षकको दरबन्दी मिलान गरेको दाबी गरेको छ । ठाकुरबाबा नगरपालिका २७ वटा विद्यालय छ । अधिकांश विद्यालयमा वर्षौदेखि एउटै शिक्षक कार्यरत छन् ।

अधिकांश विद्यालयमा नियुक्त पाएदेखि अवकास हुँदासम्म एउटै विद्यालयमा पढाउने परम्परा छ । कतिपय स्तरोन्नति भएका विद्यालयमा समेत स्थायी शिक्षक नभएको अवस्था छ । विद्यालयमा योग्यता नपुगेका प्रअले विद्यालय संचालन गरेका छन् ।

माध्यामिक विद्यालय र निम्न माध्यामिक विद्यालयमा समेत प्राबिका शिक्षक विद्यालय चलाईरहेको नाम नखोल्ने सर्तमा एक शिक्षकले बताए । उनका अनुसार कतिपय विद्यालय स्थायी शिक्षक नभएकाले राहत र निजी स्रोतको अस्थायी शिक्षक विद्यालय चलिरहेको छ । दुई वर्षअघिदेखि स्थानीय तहले कार्यान्वयन गर्न पर्ने दरबन्दी मिलान भएपछि शिक्षक आन्दोलित भएका हुन । नगरपालिकाले शिक्षकको दरबन्दी मिलान भएको कतिपय शिक्षकले सकारात्मक रुपमा लिएका छन् भने शिक्षक संघले नगरपालिकाले बलजफ्ति गरेको भन्दै चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेको छ ।

शिक्षकको हितमा दरबन्दी मिलान नगरेर योग्यताका आधारमा कुन शिक्षक कहाँको आवश्यक्ता भनि पहिचान गरेर दरबन्दी मिलान गरेको नगरप्रमुख घननारायण श्रेष्ठले बताए । ‘पुरानो परम्परालाई तोड्न शिक्षक सरुवा गरेका छौ, यसमा कुनै दुई मत छैन,’ उनले भने,‘यो सरुवा शिक्षक रिझाउँनलाई नभई अबोध बालबालिकाको भविष्य र विद्यालयमा गुणस्तरीय शिक्षा पढाई होस भन्ने हेतुमा गरिएको छ ।’  

कुनै पनि प्रतिशोध साध्न नभई विद्यार्थी र विद्यालयमा दिगो संचालनका लागि दरबन्दी मिलानमा कहि कतै त्रुटि नभएको नगर प्रमुख श्रेष्ठले दाबी गरे ।

‘नगर विकास र समृद्धिका लागि पनि दरबन्दी मिलान आवश्यक्ता सोहि अनुसार गरेका छौ,’उनले भने,‘यसअघि योग्याता पुगेका र स्थायी शिक्षक एक ठाउँमै थुप्रिएर बसेको अवस्था थियो, जसले गर्दा नगरपालिकामा शिक्षाको नाजुक अवस्थामा पुगेको छ ।’

४१ जनाको शिक्षकको दरबन्दी मिलान गरिएको कार्यकारी तथा शिक्षा शाखा प्रमुख रामहरि रिजालले जानकारी दिए । उनका अनुसार स्थानीय तहले ऐन कार्यान्वय गर्दा असन्तुष्ट शिक्षक आन्दोल गरिरहेको छन् । ‘समितिले बैठक निर्णय अनुसार दरबन्दी मिलान भएकाले सबै शिक्षक समन्वय गर्न नसकिएको पनि शिक्षा शाखालाई आरोप लागेको छ,’उनले भने ।

वार्ताबाट सहमति नखोजेसम्म आन्दोलन जारी रहेने शिक्षक संघका अध्यक्ष खड्कप्रसाद उपाध्यायले बताए । 'नगरपालिकाले गरेको सरुवा प्रतिशोधमुखी भएकाले हामी सरुवाको बिरोधमा आन्दोलनमा उत्रिएका छौ’ उनले भने, ‘निर्णय नसच्चिदासम्म आन्दोलन जारी रहनेछ ।’

प्रकाशित: १८ श्रावण २०७७ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App