coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

पठनपाठनको नाममा विद्यार्थीबाट रकम असुल्नेलाई कारवाही गरिने

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पठनपाठनको नाममा विद्यार्थीबाट कुनैपनि किसिमको शुल्क असुल्ने सामुदायिक विद्यालयलाई कारवाही गर्ने भएको छ । 

चालू आर्थिक वर्षबाट गाउँपालिकाका कक्षा ११ र १२ सम्मका विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था गर्न लागेको गाउँपालिकाले विद्यार्थीबाट शुल्क असुल्ने विद्यालयलाई कारवाही गर्ने नीति ल्याएको छ । गाउँपालिकाले कक्षा ११ र १२ अध्यापन गराउने विद्यालयलाई विद्यार्थीहरुको पढाईका लागि संख्याको आधारमा विद्यालयमा सोझै अनुदा रकम उपलब्ध गराउने भएको छ ।

‘विद्यार्थी संख्या, अनुदानको प्रभावकारी उपयोगिता र सामुदायिक विद्यालयले शुल्क असुले/नअसुलेको सुक्ष्म अध्ययनका लागि गाउँपालिकाको शिक्षा शाखाको नेतृत्वमा सुक्ष्म अनुगमन गर्ने संयन्त्र बनाउने छौं’प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भने । उनले गाउँपालिका भित्रका सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि गर्न शैक्षिक कार्य सम्पादन प्रोत्साहन कोष स्थापना गरिने बताए ।  

प्रभावकारी र गुणस्तरीय कार्य सम्पादन गर्ने विद्यालय र शिक्षकलाई प्रोत्साहन तथा आचरण, मर्यादा र मापदण्ड बिपरित कार्य गर्ने विद्यालय र शिक्षकलाई कारवाही गर्ने प्रयोजनमा कोष परिचालित हुने गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले विद्यालय समय र शिक्षकको उपस्थितिमा नियमितता कायम गर्न गाउँपालिका भरीका सामुदायिक विद्यालयहरुमा गाउँपालिकाबाटै अनुगमन हुने गरी विद्युतीय हाजिरीको व्यवस्थापन गरिने भएको छ । गाउँपालिका भरीका विद्यार्थीहरुको पोशाकमा एकरुपता ल्याउने प्रयास स्वरुप चालू आर्थिक वर्षमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पोशाक र विद्यालय झोला निःशुल्क रुपमा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।  

गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षाको नतिजामा गुणस्तरीय सुधार ल्याउन प्रत्येक वडाका माध्यमिक तहका नेतृत्वकर्ता विद्यालय (फिडर मावि)मार्फत सञ्चालन हुनेगरी अंग्रेजी, गणित र बिज्ञान विषयको कम्तिमा ३ महिना कोचिङ कक्षा सञ्चालन गर्ने प्रबन्ध गर्ने भएको छ । यसका लागि चालू आर्थिक वर्षमा बजेटको व्यवस्था भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए ।‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारकोतर्फबाट अधिकतम् बजेट र योजना तय भएकोले पठनपाठनका नाममा विद्यार्थीबाट कुनैपनि शुल्क असुले त्यो विद्यालय सिधै कारवाहीमा तानिने छ’प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने । 

८ वटा वडा रहेको गाउँपालिका भित्रका प्रत्येक वडाबाट एसईई परीक्षामा सर्वोकृष्ट अंक ल्याउने १÷१ जना विद्यार्थीलाई कृषि र पशुपंक्षी विकास बिधामा प्रविणता प्रमाण–पत्र तह वा सो सरहको अध्ययनका लागि आवाससहितको निःशुल्क छात्रबृत्ति प्रदान गर्ने गाउँपालिकाले घोषणा पनि गरेको छ ।‘गाउँपालिकालाई आवश्यक पर्ने प्राविधिक जनशक्ति गाउँपालिका भित्रैकै नागरिकबाट पूरा गर्न सकियोस् र गाउँपालिकाको शैक्षिक स्थितिमा गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने मनशायले चालू वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हौं’गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले । 

राष्ट्रिय जनगणना २०६८ को शैक्षिक तथ्याङ्क अनुसार सिरिजङ्घा गाउँपालिकाको कूल औसत साक्षरता ७५.१ रहेको छ । यो औसत साक्षरता प्रशित यहाँका ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकाको पछिको राम्रो हो । फुङ्लिङ नगरपालिकाको औसत साक्षरता ७८.४ प्रतिशत रहेको छ । सिरिजङ्घा गाउँपालिकामा पुरुषको साक्षरता ८३ प्रतिशत र महिलाको ६८.२ प्रतिशत रहेको छ ।

प्रकाशित: १७ श्रावण २०७७ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App