६ चैत्र २०८० मंगलबार
शिक्षा

तलब नदिए आत्मदाह गर्ने निजी विद्यालयका शिक्षकको चेतावनी

६ महिनादेखि तलब नपाउँदा निजीका शिक्षकको जिविका चलाउनै मुस्किल

कोभिड–१९ संक्रमणका कारण देखाएर निजी विद्यालय संचालकहरूले त्यहाँ कार्यरत शिक्षकहरूको तलब विगत ६ महिनादेखि निकासा बन्द गरेका छन् । जसका कारण निजी विद्यालयका शिक्षकहरूको जिविका धान्नै मुस्किल परेको पिडित शिक्षकहरू बताउँछन् । कोभिडकै निहुँमा तलब रोक्का मात्र होइन निजि विद्यालयहरूले कार्यरत शिक्षकहरूलाई समेत विद्यालयबाट निस्कासन गरेका छन् । जसका कारण निजी विद्यालयका देशभरिबाट तीन सय शिक्षकहरू बेरोजगार बनेका छन् ।  

निजी विद्यालय संचालकहरूले अब पनि तलब निकासा नदिए शिक्षा मन्त्रालय परिसरमै गएर आत्मदाह गर्ने चेतावनी  संस्थागत विद्यालयका पिडित शिक्षकहरूले दिएका छन् ।  

निजीमा कार्यरत इटहरीका शिक्षक जेपी काफ्लेले आफुले पठनपाठन गराएको स्कुलबाट माघ महिनादेखिको तलब पाएका छैनन । उनको श्रीमति मुटु रोगी छिन् । औषधीकै सहारामा उनी बाचेकि छिन् । ‘जोगाएको पैसाले श्रीमतिको औषधोपचार गर्दै आएको छु,’ शिक्षक काफ्लेले भने, ‘६ महिनादेखि तलब नपाउँदा रितिएको छु । अब बाकी रहेको पैसा नि सक्यो ।’ उनले थपे, ‘अब पनि तलब नपाए जिविका धान्नै मुस्किल पर्छ । सरकारले तत्तकाल निकर्ष नदिए ठूलो दुर्घटना हुन्छ ।’

निजी विद्यालयहरूले हाल शिक्षकहरूलाई तलब नदिएकै कारण युवा शिक्षकहरूमा निराशा छाएको छ । नेपालगन्जका शिक्षक मनोज सुनुवारले पनि आफुले पठनपाठन गराएको स्कुलबाट तलब नपाउँदा निराश बनेका छन्। उनको २ वर्षे बालकको लालनपालन गर्न चुनौति थपिएको छ । ‘श्रीमती गृहस्थ सम्हाल्छिन्,’ शिक्षक सुनुवारले नागरिकसँग गुनासो गरे, ‘मेरै तलबले घर चलेको छ । त्यो तलब पनि नपाउँदा बालबच्चाको लालनपालन गर्न निकै धौधौ परेको छ ।’ उनले थपे, ‘स्कुललाई तलब माग्न सम्पर्क गर्दा समेत संचालकहरू सम्पर्कविहिन हुन्छन् ।’  

संस्थागत विद्यालय शिक्षक युनियनका महासचिव भोला चालिसे पनि आफुले पठनपाठन गराउँदै आएको स्कुलले नियुक्ति पत्र समेत नदिएको बताउँछन् । उनले पनि लकडाउन अवधिको तलब नपाएकोले जिविका चलाउन चुनौति थपिएको बताए । डिल्ली बजारको टाइम्स माविका शिक्षक चालिसेको रोजगारी समेत गुम्ने जोखिम रहेको उनको भनाई छ ।

‘स्कुलहरूले वर्षौदेखि कम्पनीमा दर्ता भएर नाफा कमाउँदै आएकै छन् । तर पनि कोरोना संक्रमणको तीन–चार महिना पनि धान्न नसक्ने सुन्दा दुःख लाग्छ,’ महासचिव चालिसेले यर्थाथ सुनाए, ‘स्कुलसँग तलब माग्दा शुल्क उठाएको छैन । तलब दिन गाह्रो छ भन्ने जवाफ दिन्छन् ।’ उनले थपे, ‘हामीले शिक्षा मन्त्रालय, विद्यालय तथा सरोकारवाला निकाय समक्ष पटकपटक ज्ञापनपत्र बुझाउदा समेत कुनै सुनुवाइ भएन्। साउन ४ गतेसम्म तलब नपाए अब ईष्टुले साउन ५ गतेदेखि सडक देशभरिनै सडक आन्दोलनको तयारी गरिरहेको छ।’

निजी विद्यालयहरूमा हाल साढे दुई लाख शिक्षक कर्मचारीहरू कार्यरत छन् । लकडाउन चैत्र महिनादेखि भए पनि ९० प्रतिशत निजी विद्यालयहरूले शिक्षक–कर्मचारीहरूलाई पाँच महिनादेखि तलब नदिएको इष्टुका अध्यक्ष होमकुमार थापाले बताए । अध्यक्ष थापाले मंगलबार नेपाल शिक्षक महासंघसग संस्थागत शिक्षक कर्मचारीको समस्याबारे छलफल भएको बताए ।‘निजी विद्यालयहरूका शिक्षकहरूले ५ महिनादेखि तलब नपाएपछि वाहाँहरूको दयनिय अवस्था बन्दै गएको छ । इष्टुमा शिक्षकहरूले अब शिक्षा मन्त्रालयमै गएर आत्मदाह गर्ने भन्नु हुन्छ,’अध्यक्ष थापाले नागरिकसँग भने‘हामीले मन्त्रालय, विद्यालय र सरोकारवाला निकायहरूसँग सबै समस्याबारे छलफल गरेका छौं अझै समाधान भएको छैन । 

’उनले थपे‘शिक्षा मन्त्री ज्यूले निजी विद्यालयको सहुलियत ब्याजदारमा ऋण उपलब्ध गराउने विषय अर्थमन्त्रालयमा पुर्याएको बताउनु भएको छ । साथै साउनदेखि भर्ना र स्कुल खोल्ने प्रकृयाबारे समेत मन्त्री ज्यूले कोभिड–उच्चस्तरीय समितिमा छलफलकोलागि विषय राख्नु भएको बताउनु भएको छ । तर पनि हामी निजीका शिक्षकहरूको समस्या अझै समाधान हुन सकेको छैन ।’ निजी विद्यालयका शिक्षकहरू नियुक्तिपत्र नपाएका, कम तलबमा काम गर्नु परेको र काम गरेको दिनको समेत तलब नपाएर समस्यामा परेकोले आत्मदाह गर्ने मनस्थितीमा पुगेको अध्यक्ष थापाको ठहर छ ।  

उता निजी विद्यालयका संचालकहरूले भने आफुहरूले शूल्क उठाउन नपाएकोले शिक्षकहरूलाई तलब दिन नसकेको बताउँछन् ।

प्रकाशित: ३१ असार २०७७ १५:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App