८ वैशाख २०८१ शनिबार
शिक्षा

ताप्लेजुङको सिनाम मावि टोलटोलमा पुगेर पढाउँदै

टोलटोलमा शिक्षा कार्यक्रममार्फत आफ्ना विद्यार्थीलाई उनीहरुकै घरटोलमा पुगेर पढाउँदै ताप्लेजुङको सिनाम माविका शिक्षक र पढ्दै विद्यार्थीहरु । तस्बिर : नागरिक

साउनको दोस्रो साताबाट भौतिक दुरी कायम गरी पठनपाठन सुरु गर्ने घोषणा गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा रहेको सिनाम माविले टोल–टोलमा पुगेर पढाउन थालेको छ । साविक सिनाम गाविसका ९ वटै वडासहित सिरिजङ्घाको वडा नं २ आम्बेदिन र वडा नं ६ मामाङ्खे तथा पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं ६ थुम्बेदिनका टोलटोलमा पुगेर पठपाठन सुरु गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीको क्षेत्रलाई आधार मानेर टोलटोलमा शिक्षक परिचालन गरी पढाउन थालिएको सिनाम माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले जानकारी दिए । 

हप्तैपिच्छे विषयगत शिक्षकले विद्यार्थीका लागि गृहकार्य दिने, मोवाइल फोनमा १० रुपैयाँको प्याकेज लिएर विद्यार्थीलाई नबुझेको विषयमा सोध्न सक्ने व्यवस्था समेत गरिएको उनले बताए । पढाई प्रभावकारी बनाउन सो विद्यालयले विद्यालय आमा समूह र पूर्व विद्यार्थी समाज समेत बनाएको छ । लकडाउनका कारण पठनपाठन प्रभावित बनेको समयममा विद्यालयको योजनालाई साथ दिन विद्यालय व्यवस्थापन समिति, विद्यालय आमा समूह र पूर्व विद्यार्थी समाजको भूमिका अब्बल देखिएको प्रधानाध्यापक गौतमको भनाई छ । 

सिनाम मावि टोल–टोलमा भन्ने नाराअघि सारेको विद्यालयले टोलमा पुगेर पढाउनु अघि विद्यार्थीलाई साबुन पानीले हातमुख धुनु अनिवार्य गरेको छ । सफाईका सबै उपाय र भरसक भौतिक दुरी समेत कायम गरेर पढाउन टोलटोल पुग्ने शिक्षकले विद्यार्थीलाई पढाईमा व्यस्त बनाउने गरी गृहकार्य दिने गरी समाधानमा समस्या देखा परे अर्को दिन वा फोनमा सोध्न सक्ने व्यवस्था गरेको छ । कोभिड–१९ महामारीका कारण विद्यार्थीको पढाईमा समस्या नहोस् भनेर अभिभावकै सल्लाह र सहमतिमा यो अभियान अघि सारेको गौतमले जानकारी दिए । 

गौतमका अनुसार साउन दोस्रो साताबाट कक्षा १२ सम्मका सबै पढाई सुरु गर्ने योजना बनाएको विद्यालयले प्राविधिक धारतर्फको पढाई भने साउन पहिलो साताबाटै सुरु गर्ने छ । ‘पर्याप्त मात्रामा भौतिक पूर्वाधार भएकोले भौतिक दुरी र सफाईका सबै उपाय अवलम्बन गरेर पढाई सञ्चालन गर्ने छौं’ गौतमले योजना सुनाए । 

करिव ९ सय विद्यार्थी अध्ययनरत सो विद्यालय २०७५ सालमा सामुदायिकतर्फ जिल्लाकै उत्कृष्ट बन्दै १ नं प्रदेश सरकारबाट २ लाख रुपैयाँ नगदसहित सम्मानित भएको थियो । संस्थागततर्फ भने यो तहको पुरस्कार फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कुलले पाएको थियो ।

प्रकाशित: ३० असार २०७७ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App