१६ चैत्र २०८० शुक्रबार
शिक्षा

स्थानान्तरण लिएर गाउँ जाँदै विद्यार्थी

दाङकी मीना थापामगरले शुक्रबार कालिमाटीस्थित आफ्नो डेराबाट सबै समान लिएर घर फर्किन्। छोराको शिक्षा–दीक्षाकैलागि काठमाडौंं आएकी उनी कोराना संक्रमण फैलिँदै  गएपछि त्रासका कारण श्रीमान्सँगै बालबच्चा लिएर दाङको आफ्नै घर फर्केकी हुन्।

मीनाका श्रीमान्–श्रीमती कालिमाटी तरकारी बजारमै मजदुरी गरेर बोर्डिङ स्कुलमा  छोरा पढाउँदै आएका थिए। तर कोरोना कहरले चैत्र ११ देखि लकडाउन भएपछि दुवैजनाको रोजगारी खोसियो। एकातिर घरधनीले भाडा तिर्न दबाब दिए भने स्कुलले पनि शुल्क माग्यो। ‘कमाई छैन, खानबस्ननै काठमाडौंमा समस्या भयो,’मीनाले भनिन्, ‘त्यही भएर अब हामी कहिल्यै नर्फकने गरी दाङकै घर फर्कन बाध्य भयौं,’ उनले थपिन्, ‘स्थानीय सरकार आएपछि घरतिरै पनि निजी र सरकारी दुवैस्कुल छन्। अब खेती किसानी गरेर गाउँमै छोरा  पढाउँछु।’ मीनाले दुःख पर्दा काठमाडौंमा कोही आफ्नो नहुने महसुस गरेको सुनाइन्।  

कोरोना त्रासकै कारण त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन स्कुल पढ्ने ५० प्रतिशत विद्यार्थी गाउँमै  फर्केका छन्। अभिभावकहरू स्कुलमा फोन गरेर आफ्ना नानीहरूको स्थानान्तरण प्रमाणपत्र माग्न थालेका छन्। कतिपय स्कुलमै आएर घरछेउमै रहेको स्कुलमा पढाउने भन्दै स्थानान्तरण प्रमाणपत्र लिएको स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए। सरकारले असार १ गतेदेखि वैकल्पिक सिकाइको माध्यमबाट विद्यार्थीलाई पठनपाठन गराउन निर्देशन दिएको थियो। तर कोरोना त्रासका कारण अभिभावकको  काठमाडौंमा रोजगारी  र आम्दानीको स्रोत गुमेका कारण स्कुलमा विद्यार्थीनै नभएको प्रधानाध्यापक कँडेलको अनुभव छ।

 उनले काठमाडौंमा बालबालिकाको राम्रो भविष्यकोलागि राम्रो शिक्षा–दीक्षा उपलब्ध गराउनकै लागि  अभिभावकहरू गाउँबाट सहरतिर आएको भए पनि यहाँ हातमुख जोड्न धौधौ परेपछि सबै गाउँ फर्केको बताए।‘यही स्कुलबाट मात्रै ५० प्रतिशत विद्यार्थीले छाडिसकेका छन्,’कँडेलले भने, ‘विशेष गरी आधारभूत तहका नानीका अभिभावक अब काठमाडौं नफर्कने भनेरै स्थानान्तरण प्रमाणपत्र लगिसके भने कतिपयले इमेल गर्न आग्रह गरेका छन्,’उनले थपे, ‘स्थानीय सरकार आएपछि स्थानीय तहमा पनि राम्रा स्कुल बन्दै गएका छन्। अब यस्तै अवस्था रहने हो भने उपत्यकाका सरकारी र निजी दुवै खाले स्कुल सुक्दै जानेछन्।’ स्कुलमा गत वर्ष कक्षा १२सम्म ३ हजार ३ विद्यार्थी अध्ययनरत रहेकोमा यस वर्ष ६ सयले मात्र नाम दर्ता गराएर किताब लगेका छन्। किताब लगेकासमेत आउने नआउने निश्चित नभएको उनको भनाइ छ।  

‘हामी स्कुलका पुराना विद्यार्थीसँग सम्पर्क गर्दा उनीहरूले काठमाडौंमा खान बस्न नै चुनौती छ, त्यही भएर नआउने भन्छन्। अब उपत्यकाका स्कुलले विद्यार्थी जुटाउन मुस्किल छ।’

उपत्यकाको राम्रो मानिने बाफलमा रहेको ज्ञानोदय माविमा समेत यस वर्ष विद्यार्थी आधा भए। यो स्कुलमा गत वर्षसम्म २ हजार ९ सय विद्यार्थी अध्ययनरत रहेकोमा यो वर्ष १५ सयले मात्र नाम दर्ता गराएका छन्। यसैगरी डिल्लीबजारमा रहेको पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालयले पनि यस वर्ष धेरै विद्यार्थी गाउँ नै फर्केको जनाएको छ। यो स्कुलमा गत वर्षसम्म १ हजार विद्यार्थी रहेकोमा यस वर्ष किताब लिने विद्यार्थी ३ सय मात्र दर्ता भएका छन्। बालुवाटारमा रहेको शिवपुरी माविमा पनि यस वर्ष आधाभन्दा पनि कम विद्यार्थीदर्ता भए। यस स्कुलमा गत वर्षसम्म १२ सय विद्यार्थी अध्यनरत थिए भने यस वर्ष २ सयले मात्र नाम दर्ता गराएका छन्।  

ज्ञानोदय माविका ५० प्रतिशतभन्दा बढी विद्यार्थी उपत्यकाबाहिरकै रहेको प्रधानाध्यापक नातीकाजी महर्जनले बताए। उनले गाउँ फर्केका विद्यार्थी अब काठमाडौं आउन मुस्किल रहेको बताए। ‘हामी स्कुलका पुराना विद्यार्थीसँग सम्पर्क गर्दा उनीहरूले काठमाडौंमा खानबस्न नै चुनौती छ, त्यही भएर नआउने भन्छन्,’प्रधानाध्यापक महर्जनले अनुभव सुनाए, ‘अब उपत्यकाका स्कुलले विद्यार्थी जुटाउन मुस्किल छ।’स्कुल खुल्ने वातावरण भए पनि अब यो वर्ष गाउँ फर्केका अभिभावक नानी लिएर काठमाडौं आउन त गाह्रै रहेको उनले बताए।  

कन्या माविका प्रिन्सिपल रीता तिवारीका अनुसार यो स्कुलमा अध्ययनरत छात्राहरू पनि उपत्यकाबाहिरैकै बढी छन्। उनले स्कुलले छात्राहरूसँग बारम्बार सम्पर्क गरिरहेको छ। ‘आर्थिक अभवामै अभिभावकहरू काठमाडौंबाट घर फर्केको बताउँदै आउनुभएको छ,’ प्रिन्सिपल तिवारीले भनिन्, ‘स्थानान्तरण प्रमाणपत्र लिन आउनेलाई हामीले दिएका छौं,’उनले थपिन्, ‘अभिभावक गाउँमै जीवन सहज भएको र स्कुल पनि राम्रो भएकाले उतै बस्ने भन्नुभएको छ।’

निजी विद्यालयको छाता संगठन एनप्याबसनका अध्यक्ष रितुराज सापकोटाले सरकारी मात्र होइन निजी विद्यालयका अभिभावक पनि धेरै उपत्यकाबाहिरकै भएकाले ५० प्रतिशत विद्यार्थी घट्ने निश्चित भएको बताउँछन्। निजी विद्यालय गाउँगाउँमा खुलेकाले पनि होला अभिभावकले गाउँमै विद्यार्थी पढाउने बताउने गरेको उनको भनाइ  छ। ‘काठमाडौंमा समाजिक आर्थिक समस्याकै कारण धेरै अभिभावक सहर छाडेको सूचना प्राप्त भएको छ,’ सापकोटाले भने, ‘निजीमा यो वर्ष विद्यार्थी पु¥याउन चुनौती थपिएको छ।’

प्रकाशित: २९ असार २०७७ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App