६ वैशाख २०८१ बिहीबार
शिक्षा

बाँकेमा साउन १५ गतेबाट विद्यालय खोल्ने तयारी

राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा रहेको नेरा माविले नमुनाको रुपमा सञ्चालन गरेको पढाई । तस्बिर : नागरिक

कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित बाँकेमा रहेको एक स्थानीय तहले आगामी साउन १५ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिकाले कुनै विषम परिस्थिती नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो ।  

गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, प्रधानाध्यापकसहित आइतबार बसेको सर्बपक्षिय बैठकले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।  ‘कुनै विषम परिस्थिती आएन भने अथवा केन्द्र सरकारले कुनै नीति निर्देशन पठायो भने अलग पाटो हो, नत्र साउन १५ गतेबाट विद्यालय खोल्ने निर्णय भएको छं,’ उनले भने । विद्यालयमा सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने सर्बपक्षिय रुपमा सुझाव आएको अध्यक्ष थारुको भनाई छ ।

‘कोरोना भाइरसका कारण विद्यालय बन्द हुँदा विद्यार्थीको पठन पाठन ठप्प छ, यस्तो अवस्थामा अब विद्यालय खोलेर पढाई सञ्चालन गर्नुपर्ने सबैको सुझाव आएको छ,’ उनले भने । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा ब्यवस्थापनका लागि अधिकांश वडामा विद्यालयका भवनलाई क्वारेन्टिन तथा आइसोलेसनका रुपमा प्रयोग गरेको थियो । विद्यालय सञ्चालन हुनुभन्दा पहिले क्वारेन्टिन तथा आइसोलेसनमा प्रयोग भएका विद्यालयलाई सेनिटाइज गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । ‘विद्यालय खुल्नु भन्दा पहिले सबै विद्यालयलाई सेनिटाइज गरिनेछ,’ उनले भने ।

गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले राप्ती सोनारीमा कोरोना संक्रमण घट्दै गएको हुँदा पूर्व तयारी स्वरुप साउन १५ बाट विद्यालय खोल्ने निर्णय गरिएको बताए । उनले भने, ‘साउन १५ गतेबाट विद्यालयको अनुकुल अनुसार खोल्ने निर्णय भएको छ, यदी कुनै विषम परिस्थिती सिर्जना भएन भने मात्र यो निर्णय लागु हुनेछ, संघिय सरकारको नीति र परिपत्र पनि आउँला ।’  

सुरुमा माथिल्लो कक्षाका थोरै विद्यार्थीलाई मात्र विद्यालयमा बोलाएर पछि क्रमशः संख्या बढाउँदै लैजाने नीति अबलम्वन गरिने उनले बताए । कोरोना भाइरस प्रभावित विद्यार्थीलाई लक्षित गरेर गाउँपालिकाले यसअघि रेडियोबाट ट्युसन कक्षा सञ्चालन, घुम्ती शिक्षक परिचालन जस्ता शैक्षिक गतिबिधी चलाएको थियो । उक्त गाउँपालिका क्षेत्रमा ५४ वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।  

शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव विद्यालय खोल्ने विषयमा केन्द्रबाट कुनैपनि परिपत्र नआएको बताउँछन् । ‘विद्यालय खोल्ने विषयमा मन्त्रालय, विभागबाट कुनै त्यस्तो परिपत्र हामीलाई आएको छैन, तर जिल्लाका कतिपय स्थानीय तहले आफ्नो हिसाबले विद्यालय खोल्न खोजिरहेका छन्,’ उनले भने ।

प्रकाशित: २८ असार २०७७ १३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App