७ वैशाख २०८१ शुक्रबार
शिक्षा

एसइईमा ‘ए प्लस’ को प्रलोभन देखाई ११ मा भर्ना गर्न दबाब

प्रतिकात्मक तस्बीर

उपत्यकाका निजी विद्यालयले आफ्नै विद्यालयको कक्षा ११ मा भर्ना गराए एसइईमा ‘ए प्लस’ आउने गरी नम्बर दिने भन्दै अभिभावकलाई प्रलोभन देखाउन थालेका छन्। विशेषगरी ललितपुर र काठमाडौंका नाम चलेका केही निजी विद्यालयले अभिभावकलाई फोन गरेर वा विद्यालयमै भेट्न बोलाएर नानीबाबुलाई आफ्नै विद्यालयको ११ मा भर्ना गरे एसइईमा ‘ए प्लस’ दिने बताएको अभिभावकले गुनासो गरेका छन्।  

हाल कोभिड–१९ का कारण उपत्यकाका विद्यालयबाट ५० प्रतिशत विद्यार्थी घटेको, धेरै विद्यार्थी गाउँ गएर काठमाडौं नफर्केको अवस्थामा विद्यार्थी कमी भएको समेत विद्यालयले अभिभावकसँग खुलेरै भन्ने गरेको बताइएको छ। ‘छोरीलाई हाम्रै विद्यालयमा कक्षा ११ मा भर्ना गराउनुभयो भने नानीलाई एसइईमा ए प्लस ग्रेड बनाइदिन्छुु,’ अभिभावक सृजना श्रेष्ठले नागरिकसँग भनिन्, ‘छोरीलाई कक्षा ११ मा अर्कै विद्यालयमा पढ्ने इच्छा छ तर अन्त लगे एसइईमा कम नम्बर दिने भनेको छ।’

सिर्जनाले सरकारले विद्यालयहरूको अनुगमन गर्नुपर्नेमा जोड दिइन्। लकडाउनका कारण सरकारी अनुगमन नहुनुको फाइदा निजी विद्यालयले उठाइरहेको उनको गुनासो छ। उनका अनुसार उपत्यकाका अधिकतर विद्यालयले अभिभावकलाई एसइईमा ‘ए प्लस’ ग्रेड दिने प्रलोभन दिँदै सोही विद्यालयमा कक्षा ११ मा भर्ना गराउन दबाब दिइरहेका छन्।  

विद्यालयमा नम्बरको राजनीति हुनुको मुख्य कारण सरकारले क्याबिनेटबाट एसइईको सवालमा आन्तरिक मूल्यांकनबाटै नम्बर दिने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्डका एक उच्च अधिकारीले बताए। ‘पहुँचवाला निजी विद्यालय सञ्चालकले प्रधानमन्त्रीलाई भेटेरै एसइईको मूल्यांकनको अधिकार विद्यालयलाई नै दिनुपर्ने मागपत्र नै बुझाएका थिए,’ बोर्डका उच्च पदाधिकारीले भने, ‘त्यहीअनुसार क्यबिनेटले एसइईको मूल्यांकन विद्यालयले नै आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको हो।’ उनले थपे, ‘यसले हाल विकृति ल्याएको सूचना बोर्डलाई प्राप्त भएको छ।’

कोभिड–१९ विश्वका २ सय ४० देशमा फैलिएको छ तर कुनै पनि देशमा बोर्ड परीक्षाको सवालमा क्याबिनेटले निर्णय गरेको छैन। ती देशमा परीक्षाको निर्णय परीक्षा बोर्डहरूले नै गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए। उनले हाल स्थानीय तहका परीक्षा समन्वय एकाइहरूले असार ३० गतेभित्र विद्यार्थीको एसइई नतिजा पठाउने बताए। ‘नतिजा बोर्डमा आएकाको इन्ट्री गर्ने काम भइरहेको छ,’ अध्यक्ष पौडेलले नागरिकसँग भने, ‘साउन दोस्रो सातासम्म नतिजा प्रकाशन गर्ने बोर्डको लक्ष्य हो।’ उनले थपे, ‘कुनै पनि विद्यालयले नतिजा फेरबदल गरे कानुनअनुसार कारबाही हुन्छ। अभिभावकलाई भर्नाका लागि दबाब दिनु गलत हो।’

उच्च शिक्षा तथा माध्यमिक विद्यालय सञ्चालक संघका महासचिव लोकबहादुर भण्डारीले कुनै पनि विद्यालयले नियमविपरीत काम गरेको पाए कारबाहीको भागीदार हुनुपर्ने बताए। ‘बोर्डले विद्यालयहरूले आन्तरिक मूल्यांकनका आधारमा नतिजा पठाउन निर्देशन दिएको छ। त्यहीअनुसार विद्यालयले मूल्यांकन गर्नुपर्छ,’ महासचिव भण्डारीले नागरिकसँग भने, ‘कक्षा ११ मा विद्यालय छनोट गर्ने विद्यार्थीको अधिकार हो। कुनै विद्यालयले दबाब दिनु गैरकानुनी कार्य हो।’

इसइई नतिजा अगावै ११ मा भर्ना  

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा साउन दोस्रो साता आउने भनेको छ। तर, उपत्यकाका निजी माध्यमिक विद्यालयहरूले कक्षा ११ मा भर्ना सुरु गरेका छन्। राजधानीका थुप्रै निजी विद्यालयले आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालको प्रयोग गरी प्री–भर्ना तथा रजिस्ट्रेसन फाराम खुला गरेका छन्।  

सरकारले एसइईको नतिजाअघि ११ मा भर्ना नलिन दिएको निर्देशनविपरीत ललितपुरस्थित प्रिमियर विद्यालयले कक्षा ११ का लागि प्री–रजिस्ट्रेसन फाराम खुलाएको छ। सो विद्यालयले तीन महिनाको शुल्कसहित एक लाख रुपैयाँभन्दा बढी रकम तिर्न अभिभावकलाई दबाब दिँदै आएको भन्दै अभिभावकले गुनासो गरेका छन्।  

राजनीतिक पहुँचको आडमा उपत्यकाका विशेष गरी ठुला विद्यालय जेभियर इन्टरनेसनल, गोल्डेनगेट, सिसिआरसी, युनिग्लोब, काठमाडौं भ्याली, केएमसीलगाएत अधिकतर विद्यालयले एसइईको नतिजाअघि नै भर्ना मात्र होइन, सरकारले खारेजी गरेको संकाय प्रणालीलाई नै अपनाउँदै विज्ञान, व्यवस्थापन, शिक्षा, कानुन, मानविकीलगायत समूह कायम गरेरै भर्ना खोलेका छन्।  

हिसानका महासचिव एवं जेभियर इन्टरनेसनल विद्यालयका संस्थापक लोकबहादुर भण्डारीले विगतमा पनि एसइईको नतिजाअगावै एलेभल, आइबिएमलगायत बोर्डले भर्ना लिने परम्परा रहेको बताए।  तर, राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष पौडेलले एसइईको नतिजाअगावै कक्षा ११ मा भर्ना लिन र सूचना प्रकाशित गर्न नमिल्ने बताए। 

प्रकाशित: २७ असार २०७७ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App