६ चैत्र २०८० मंगलबार
शिक्षा

टोलवस्तीमै शिक्षक पठाएर पठन–पाठन गर्ने तयारी

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोभिड–१९ का कारण अवरुद्ध शैक्षिक क्रियाकलापलाई सुचारु गराउने तयारी थालेको छ । असार मसान्त बित्न लाग्दा समेत कोभिड–१९ को अशर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएकाले गाउँपालिकाले आगामी साउन ७ गतेदेखि सामाजिक दुरी कायम गरेर पठन–पाठनलाई सुचारु गराउने तयारी थालेको हो । मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले कोभिड–१९ का कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर सुचारु गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

आगामी साउन ३ गते बिहान १० बजेभित्र हरेक शिक्षक÷शिक्षिकाले स्वास्थ्यचौकी डाँडागाउँ ओख्रेमा अनिवार्य उपस्थित भएर आरडिटी परीक्षण गराउनुपर्ने, साउन ४ गते अनिवार्य विद्यालयमा उपस्थित भएर आ–आफ्नो विषयको कार्यतालिका निर्माण गर्ने र साउन ७ गतेदेखि टोल वस्तीमा पुगेर शिक्षण सिकाई कार्य अघि बढाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । 

शैक्षित्र–सत्र सुरु भएको तीन महिना बित्न लाग्दा गाउँपालिकाका हरेक टोलमा विषयगत शिक्षकलाई पठाएर पठन–पाठनलाई अघि बढाउने तयारी थालिएको हो । एक टोलमा दैनिक एक विषयको पठन–पाठन गरिने गाउँपालिका अध्यक्ष राईले बताए । शिक्षण सिकाईका लागि आफ्नो विषय अनुसार टोल–टोलमा पुग्ने शिक्षक/शिक्षिकाले विद्यार्थीलाई पढाउने छन्, होमवर्क दिने छन् र मूल्यांकन गर्ने छन् ।  

७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५ सय १२ विद्यार्थी अध्ययनरत छन् । उनीहरुको शिक्षण सिकाईका लागि बाल विकास केन्द्रमा कार्यरतसहित २ सय ६७ शिक्षक/शिक्षिकालाई परिचालन गर्ने तयारी गरिएको छ । कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्नका लागि विद्यालय कक्षाको बिकल्प अघि सारिएको हो । टोल–टोलमा गरिने शिक्षण क्रियाकलापका लागि नजिक र पायक पर्ने विद्यालयलाई प्रयोग गर्न सकिने छ । विद्यालयको भवन प्रयोग गर्ने अवस्था नभए सामुदायीक भवन, महिला तथा युवा समूहको भवन वा अन्य सार्वजनिक स्थललाई उपयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।  

शैक्षिक–सत्रको सुरुबाट पठन–पाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदा कटौती गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । ‘बैसाखबाट सुरु हुनुपर्ने पठन–पाठन हालसम्म ठप्प छ । हालसम्म सिकाई उपलव्धी शून्य छ । विद्यार्थीमा पढ्ने बानी हट्दै जान थालेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तत्काल नै यो कोरोना संक्रमण अन्त्या हुने अवस्था पनि देखिन्न । महामारी रहिरह्यो भन्दैमा सिकाई उपलब्धिबिना विद्यार्थीलाई माथिल्लो कक्षामा अपग्रेड गर्ने कुरा पनि भएन । त्यही भएर सामाजिक दुरी कायम गरेर पठन–पाठन सुचारु गराउने निर्णय गरिएको हो ।’  

टोल–टोलमा सञ्चालन गरिने शिक्षण सिकाईका लागि गाउँपालिकाले विद्यार्थीलाई पाठ्यापुस्तक वितरण गरिसकेको छ । टोलमा पुग्ने शिक्षक/शिक्षिकाले मास्क, ग्लोव्स र सेनिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित: २४ असार २०७७ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App