८ वैशाख २०८१ शनिबार
शिक्षा

‘कलेज बन्द छ, कमाई पनि छैन, बाच्न ग्राहो भयो, घर फर्काइदिनुस्’

नेपाली छोरीहरू असुरक्षित बन्दै

कोभिड–१९का कारण लामो समय सम्मको लकडाउनले गर्दा भारतका विभिन्न ठाउँमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली विद्यार्थीहरू बेखर्ची भएका छन् । आर्थिक संकटका कारण उनीहरूको जिविका धान्न नसक्ने भएको छ । लकडाउनका कारण कलेजहरू सबै बन्द छन् र काम समेत गर्न नपाएपछि विद्यार्थीहरूलाई खर्च धान्नै चुनौती बनेको छ ।  

लामो समयसम्मको लकडाउनका कारण कामकाज ठप्प हुँदा विद्यार्थीलाई घर भाडा र खाना खर्च समेत जुटाउन धौधौ परेको बैंगलोरमा फारमेसी अध्ययनरत अनिसा शर्माले बताइन् । ‘कलेज बन्द भइसकेको छ, काम छैन र कमाई पनि छैन,’ अनिसाले नागरिकसँग फोनमा भनिन्, ‘मलाई आर्थिक समस्या परिसक्यो । बैंगलोरमा म जस्तै धेरै नेपाली अध्ययनरत छन् । हामी नेपाली छोरीहरू यहाँ सुरक्षित छैनौं ।’ उनी भावुक हुँदै अनुरोध गरिन्, ‘हमीलाई कृपया छिटै नेपाल फर्काउनुस् ।’ गोदावरी घर भएकी अनिसा परिवारसँग धेरै दिनदेखि टाढा रहेको र कोरोना त्रासका कारण निकै आत्तिएकि छिन् ।  

बैंलोरकै गिरीनगरको एक कलेजमा अध्ययनरत एश्वर्य झाले भारत स्थित नेपाली राजदुतावाससँग आफुहरूको समस्या राख्दा समेत दुतावासले उल्टै हकारेको गुनासो गरिन् । केहि सिप नलागेपछि भारतमा रहेका नेपाली विद्यार्थीहरूले समाजिक संजालबाट एकअपासमा सम्पर्क गरी तथ्याँकसमेत संकलन गरि नेपालको श्रीएयरलायन्स प्लेन चार्टर गर्न कुरारानी अघि बढाएको उनले बताइन् । तर विद्यार्थीको समस्या बुझेर सहयोग गर्नुको साटो उल्टै श्रीएयरलायन्सले प्रति विद्यार्थी ५५ हजार नेपाली रकम प्राप्त भए मात्र नेपाल फर्कादिने भनेपछि विद्यार्थीहरू थप निरास बने ।  

‘एकारित हामी कलेजको छात्राबासबाट समेत निस्कनु परेको छ भने अर्को तर्फ हाम्रो नेपाली दुतावासले समेत नेपाल फर्काउन असहयोग गरेको छ,’ एश्वर्याले नागरिकसँग गुनासो गरिन, ‘कलेज बन्द र काम पनि नभएकाले नेपाली विद्यार्थी डिप्रेसनको सिकार हुन थालेका छन्।’ बैंगलोरमा मात्र ९० नेपाली विद्यार्थीहरू नेपाल फर्कन तयार पारेका छन् ।  

फिजियो थेरापीमा डक्टरी अध्ययन गरिरहेकी सरस्वती कार्कीले आफुले काम गरिरहेको अस्पतालमा समेत काम बन्द भएपछि गाँस र बास दुबै जुटाउन मुस्किल परेको सुनाइन् । कार्की गर्भवती समेत रहेको सुनाइन् । ‘मैले दुतावासमा आफ्नो समस्या राख्दा समेत दुतावासका कर्मचारीले गैरजिम्मेवार पुर्ण जवाफ दिँदै रोडबाट जानुस भने। हामी सहयोग गर्न सक्दैनौं भन्दा मेरो मन दुखेको छ,’कार्कीले भनिन्, ‘हामी श्रीमान श्रीमति दुबै काम गर्दै पढीरहेका छौं । म गर्भवती भएकोले थप समस्या परेको छ।’  

बैंगलोरको वातावरण नेपालसँग मिल्ने भएकोले धेरै नेपाली विद्यार्थीहरूको उच्च शिक्षाको शैक्षिक गन्तब्य नै बैंगलोर बनेको छ । लकडाउनमा फसेका विद्यार्थीमध्ये छात्राहरू बढी छन् । ‘लकडाउनका कारण भारतमा नेपाली छात्राहरू बढी असुरक्षित छन्,’विद्यार्थी सागर सुवेदीले भने, ‘नेपाल सरकारले हामीलाई चार्टर प्लेनको व्यवस्था गरिदिओस् । हामी भाडा तिर्न तयार छौं ।’ दुःखको समयमा दुतावासले अभिभावकत्वको भूमिका निर्वाह गर्न नसकेको भन्दै विद्यार्थीहरू दुःखित बनेका छन् ।

भारतकालागि नेपाली राजदुत निलाम्बर आचार्यले वास्तवमा नेपाली विद्यार्थीहरू भारतमा निकै मार्कामा परेको जनाए । उनले दुतावासमा पनि सयौं विद्यार्थीहरूले नेपाल फर्काउन आग्रह गर्दै आएको जनाउँदै नेपाली विद्यार्थीहरूको अवस्था निकै दयनिय बनेकोले नेपाल सरकारले यी विद्यार्थीहरूको तत्काल उद्धार गर्नुपर्ने जोड दिए । ‘मैले नेपाल सरकारसँग नेपाली विद्यार्थीको समस्या पुर्याइसकेको छु,’ राजदुत आचार्यले नागरिकसँग कुरा गर्दै भने, ‘विद्यार्थीहरू बेखर्ची भएर नेपाल फर्कन अतालिएका छन् ।’ ‘नेपाल सरकारले छिटै यी विद्यार्थीलाई नेपाल फर्काउने ब्यवस्था गर्नुपर्छ ।’ उनले थपे ।

पर्यटन मन्त्रालयका सहसचिव एवं सिसिएमसीका सदस्य बुद्धिसागर लामिछानेले भारतबाट विद्यार्थी उद्धार गरि ल्याउन सरकार सकरात्मक रहेको जनाए । उनले कम्तीमा एक सय बीस विद्यार्थी भए सहुलियत भाडा पर्ने भएकोले उनले नेपाल फर्कन चाहने विद्यार्थीले सूची तयार पारी भारत स्थित नेपाली दुतावासमा बुझाउन सुझाए । ‘विद्यार्थी जति भए पनि नेपाल सरकार नेपाल फर्काउन तयार छ तर धेरै विद्यार्थी भएमा प्लेन भाडा सस्तो पर्छ,’ सहसचिव लामिछानेले नागरिकसँग भने, ‘विद्यार्थीले भाडा आफै ब्योहर्नुपर्छ । सरकार प्लेन चार्टर गरेर विद्यार्थी फर्काउन तयार छ । यसकालागि विद्यार्थीहरू एकत्रीत हुनुपर्छ ।’ उनले नेपाल सरकारले भारतमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउन नेपाल एयरलायन्ससंग कुरा अघि बढाएको दाबी गरेका छन् । हालसम्म भारतस्थित नेपाली दुतावासबाट नेपाल फर्कने विद्यार्थीको यकिन तथ्याँक नभएकोले ढिला भएको उनको भनाई छ। 

प्रकाशित: २२ असार २०७७ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App