coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

टोल–टोलमा पुगेर पढाइ सुरु

टोलटोलमा विद्यार्थीलाई पढाउँदै। तस्बिरः नागरिक

कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ। विद्यालय बन्द भएपछि नियमित पठनपाठन, परीक्षा प्रभावित भएका छन्। शिक्षण कार्यलाई नियमित बनाउन सहरी क्षेत्रका केही विद्यालयले अनलाइन कक्षा सुरु गरेका छन्। तर धादिङका टोलटोलमा पुगेर पढाउन सुरु गरिएको छ।  

विद्यार्थीलाई जम्मा गरेर शिक्षक आफंै टोलमा पुगेर पढाउन थालेको सिद्धलेक गाउँपालिका–४ मा रहेको जलेश्वरी माविका प्रधानाध्यपक भोजराज अर्यालले बताए। ‘एक महिनादेखि दैनिक तीन घण्टा टोल टोलमा कक्षा सञ्चालन गर्दै आएका छौं,’ उनले भने, ‘वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्देशनअनुसार अभिभावकहरूको सहयोगमा टोलटोलमा पुगेर पढाउन थालेका हौं, यस्तो गर्दा शिक्षकको भने अभाव हुने गरेको छ।’

गाउँमा रहेका चौतारी, प्रतिक्षालयलगायतका ठाउँमा पठनपाठन हुँदै आएको छ। यसरी टोलटोलमा नै विद्यार्थीहरु जम्मा गराएर पठनपाठन गराउँदा माथिल्लो कक्षाका विद्यार्थीहरूमा भने समस्या हुनेगरेको प्रधानाध्यक अर्यालले बताए। शिक्षक सबै विषयको ज्ञान नहुने भएका कारण सम्बन्धित विषय शिक्षक नै परिचालन गरेर पढाइ सुरु गर्ने तयारी गरेको उनले बताए।

विद्यालयले आफ्ना विद्यार्थी रहेका सात वटा टोलमा पढाइ सञ्चालन गर्दै आएको छ। लामो समयपछि पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित भएको शिक्षक खुलना मगरले बताए। सामाजिक दूरी कायम गरेर विद्यार्थीलाई पढाउने गरेको उनले बताए।  

जिल्लाको थाक्रे गाउँपालिकामा रहेको जनजागृती माविले ३० वटा अस्थायी केन्द्र बनाएर पढाइ सुरु गरेको छ। विद्यार्थीलाई कितावको ज्ञान भन्दा पनि नेतृत्व विकास, कला, लेखनसीपका साथै हात धुने तरिका, सरसफाई, आत्मबल बढाउने विषयमा सिकाउँदै आएको शिक्षक रामचन्द्र रुपाखेतीले बताए। सानो सानो समूह बनाएर कोरोना भाइरस संक्रमणको जोखिमबाट सचेत रहँदै पढाइ सञ्चालन गरेको उनले बताए।  

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ। महामारीको यो अवस्थामा विद्यालयमा नै पठनपाठन सम्भव नभएपनि टोलटोलमा पुगेर पढाउँदा बालबालिकालाई सहज भएको बताइएको छ।

प्रकाशित: १८ असार २०७७ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App