८ वैशाख २०८१ शनिबार
शिक्षा

शिक्षकहरू घरघरमै गएर विद्यार्थीलाई पढाउँदै

विद्यार्थीलाई सक्रिय बनाउन घुम्ती कक्षा सञ्चालन

रसुवाको कालिका गाउँपालिका–२, कालिकास्थानमा रहेको कालिका हिमालय माविले विद्यार्थीलाई सक्रिय बनाउन घुम्ती कक्षा सञ्चालन सुरु गरेको छ । पहिलो चरणमा पाँच दिनका लागि घुम्ती कक्षा सञ्चालन गरेको हो ।  

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय सञ्चालन नहुँदा शिक्षक तथा विद्यार्थी निष्क्रिय बन्दै गएकाले विद्यालयले घुम्ती कक्षा सञ्चालन सुरु गरेको हो । विद्यालयले सुरुमा इन्टरनेट, मोबाइल, स्थानीय सञ्चारमाध्यम लगायतको बारेमा सर्वेक्षण गरेको थियो ।  

सर्वेक्षणले अन्य साधनको प्रयोग गर्न कठिनाइ भएको, इन्टरनेट तथा मोबाइलको पहुँचमा थोरै विद्यार्थी मात्र भएको, स्थानीय रेडियोबाट अध्यापन गराउनका लागि विद्यालयसँग पर्याप्त बजेट नभएका कारण घुम्ती कक्षा सञ्चालन गरेको हो ।  

विद्यालयले पाँच स्थानमा घुम्ती कक्षा सञ्चालन गरेको हो । जसमा जिल्लाको गुम्बोडाँडा, काभ्रे, घुम्ती, कालिकास्थान र कटुञ्जे समेटेको छ । विद्यालयका प्रधानाध्यापक श्यामकुमार गुरुङले पहिलो चरणमा पाँच दिन घुम्ती कक्षा सञ्चालन गरेको बताए ।  

‘पहिलो चरणमा हामीले पाँच वटा समूह बनाएर पाँच स्थानमा घुम्ती कक्षा सञ्चालन गरिरहेका छौं’, उनले भने, ‘पाँच दिनको कक्षा सञ्चालन भएपछि यसको प्रभाव बारे अध्ययन गरेर अर्को योजना बनाउँछौं ।’  

पहिलो दिन गएको समूहले प्रत्येक घरमा पुगेर विद्यार्थी तथा अभिभावकसँग छलफल गर्ने, विषयवस्तु बारे जानकारी दिने, विषय शिक्षकद्वारा गृहकार्य दिने, अभिभावक नभेटिएको घरमा पनि गृहकार्यका लागि आवश्यक ह्यान्सआउट छोड्ने लगायतका कार्य भइरहेको प्रधानाध्यापक गुरुङले बताए । भोलिपल्ट उक्त क्षेत्रमा अर्को समूह पुग्छ र अघिल्लो दिन गएको समूहले दिएको गृहकार्य गरे नगरेको हेर्ने, विद्यार्थीले नबुझेको कुरा सिकाउने र नयाँ गृहकार्य दिएर फर्कन्छ ।

नौकुण्ड गाउँपालिका तथा जिल्लाको माथिल्लो क्षेत्रका विद्यार्थीलाई भने यो कार्यक्रम पु¥याउन नसकिएको विद्यालयले जनाएको छ । समूहमा ग्रुप लिडर तोकिएको हुन्छ । ग्रुप लिडरले अन्य समयमा पनि विद्यार्थीको समस्या फोन मार्फत नै समाधान गर्ने गरेका छन् । यो विद्यालयमा करिब ६ सय विद्यार्थी अध्ययनरत छन् भने ३० जना शिक्षक कार्यरत छन् ।

प्रकाशित: १७ असार २०७७ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App