१६ चैत्र २०८० शुक्रबार
शिक्षा

अन्यौलमा शैक्षिक भविष्य

गिट्टि फुटाउदै सकिन सेन । तस्बिर : दिनेश/नागरिक

केन्द्रमा बसेर भविष्यको राजनितिक लाभका लागि बोले जस्तो गर्ने विद्यार्थी संगठनका केन्द्रीय नेतृत्व यतिबेला आम शैक्षिक समस्या प्रति बेखबर जस्तै बनेका छन्। निजी विद्यालयको शुल्कमा आखा गाडेका संगठनहरूले दुर्गमका विद्यार्थीको समस्याका बारेमा बोल्ने गरेका छैनन् । कोरोना त्रास संग देशको ठुलो हिस्सा यतिबेला पठनपाठबाट टाढा छन् । उनीहरूलाई अनलाईन कक्षा, टिभि र रेडियोका कक्षाहरू एकादेशको कथा जस्तै छ ।

अन्यौल पुर्ण शैक्षिक भविष्य बोकेका बालबालिका र तिनका अभिभावकहरू लामो समयको बन्दाबन्दीले दिक्क बनेका छन्। घरायसी कामकाज, मजदुरी र बरालिएर बस्नु बालबालिकाको दैनिकी जस्तै बनेको छ । संघ र प्रदेश सरकारले जस्तै गाउँमा आएको भनिएको स्थानीय सरकारले पनि शैक्षिक अवस्था कसरी सुधार गर्ने भन्नेमा चासो दिएको छैन। यतिबेला दुर्गममा बिपन्न परिवारका मात्र नभएर आम नागरिकका सन्तानहरू पनि अन्यौलतामा छन् । कतै कतै केही विद्यालयले रेडियो कक्षा संचालनको सुरुवात गरेपनि सोको जानकारी विद्यार्थीको दैलो सम्म पुगेको देखिदैन ।

सुनिलस्मृती गाउँपालिका–६ गजुलका कक्षा ७ मा भर्ना भएका १३ वर्षीय सबिन सेन हिजो आज गाउँमै गिट्टी फुटाउन ब्यस्त छन् । लकडाउनले विद्यालय बन्द भएको सुनेका उनलाई कोरोनाको बिषयमा यो भन्दा बढि जानकारी छैन्। विद्यालय कहिले खुल्छ वा अबको पढाई के हुने भन्ने बारेमा कोही कसैले कुनै जानकारी दिएको छैन । ‘किताब किनेको छ तर पढाई भएको छैन ।’ एक बोराको एक सय १० रुपैयामा गिट्टी बेच्ने उनलाई मेहनतको पैसाले पढाईमा सहज भने हुने छ ।  

बुवाले मजदुरी र आमाले घरायसी काम गर्ने सबिनका एक दाई भारततीर छन् भने ३ कक्षामा पढ्ने बहिनी विद्यालय खुल्ने प्रतिक्षामा छिन् । ‘घर बस्दा र काम गर्दा अत्यास लागेको छ । अब त स्कुल जाने मन लाग्न थाल्यो ।’ छोटो बिदा पाउँदा घरमा रमाउने सबिन जस्ता विद्यार्थीहरू विद्यालय खुल्ने प्रतिक्षामा छन् । अनलाईन कक्षा सुन्दै नसुनेका उनलाई रेडियो र टिभिमा आउने पढाईका बारेमा पनि कसैले केही सुनाएको छैन ।

कोरोना महामारी त्रासको यो समयमा स्थानीय तह पनि अहिले सम्म शैक्षिक मुद्धामा खासै प्रभावकारी ढंगले लागेको देखिदैन । ‘अहिलेलाई त्यस्तो खासै केही कार्यक्रम संचालन गरिएको छैन ।’ वडा अध्यक्ष अर्जुन सुबेदीले भने ‘यसपालीको बजेटमा गाउँपालिका स्तरबाट शिक्षा क्षेत्रमा गतिलो बजेट छुट्याएका छौं । अब कसरी शिक्षा सुधार गर्ने छलफल हुने छ । उनका अनुसार हाललाई अनलाईन, रेडियो, टिभि कक्षाका बारेमा कुनै निर्णय भईसकेको छैन ।  

रोल्पा गजुलका सबिन सेन प्रतिनिधि पात्र मात्र हुन्। देशै भर हजारौं विद्यार्थीहरू अलमलका बिचमा दैनिकी बिताईरहेका छन्। न राज्य केही बोल्छ न त राजनिति गर्ने विद्यार्थी संगठनहरूले विद्यार्थीलाई ढाडस दिन्छन् । त्यसो त अधिकांश शिक्षकहरू पनि लकडाउनलाई बिदाका रुपमा हेरिरहेका छन् ।

प्रकाशित: ११ असार २०७७ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App