८ वैशाख २०८१ शनिबार
शिक्षा

कक्षा नौदेखि १२ को एउटै विषयको पाठ्यक्रम बनाउन कार्यदल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास केन्द्र परिषद्को बैठकले एसइईपछि अध्ययन गराइने सिटिइभिटीको तीन बर्से डिप्लोमाको प्राविधिक विषय र मानव स्रोत विकासबाट अध्ययन गराइने विद्यालय तहको कक्षा नौदेखि १२ सम्मका प्राविधिक विषयको एकीकृत पाठ्यक्रम तयार पार्न एक कार्यदल गठन गरेको छ । केन्द्रका महानिर्देशक केशव दहालको संयोजकत्वमा गठित कार्यदलले माध्यमिक तह कक्षा नौदेखि १२ र सिटिइभिटीका तीन बर्से डिप्लोमा सम्मका विषयलाई एउटै बनाउनेतर्फ अध्ययन गरी बुझाएको सिफारिसअनुसार नयाँ पाठ्यक्रम तय गरिने मन्त्रीका स्वकीय सचिव पुन केसीले बताए ।  

केसीका अनुसार शनिबारको बैठकले सिटिइभिटीबाट सञ्चालित एसइईपछिको विद्यालय तहको प्राविधिक विषयको अध्ययन र मानव स्रोत विकास केन्द्रअन्तर्गतको विद्यालय तहको कक्षा नौदेखि १२ सम्मको विषयलाई एउटै बनाउने छ । हाल विद्यालय शिक्षामा कक्षा नौदेखि १२मा मानव स्रोत केन्द्रको विषय सञ्चालन हुन्छ भने एसइईपछि सिटिइभिटीले उही कोर्स तीन बर्से डिप्लोमा अध्ययन गराउँदै आएको छ । दुई निकायले दुईखाले प्राविधिक शिक्षा सञ्चालन गर्दै आएका छन् । जसका कारण विद्यालय तहमा अध्ययन गराइने एउटै तहमा दुईखाले प्रमाण–पत्रले विदेश अध्ययन गर्न जाने र स्वदेशमा समेत काम गर्ने र थप शिक्षा हासिल गर्ने विद्यार्थीका लागि अन्योल बनेको छ ।

‘विद्यालय तहमा कक्षा नौदेखि १२ मा अध्ययन गराइने प्राविधिक शिक्षा र सिटिइभिटीका तीन बर्से डिप्लोमा कोर्स दुई छुटाछुटै निकायले विद्यालय तहमै सञ्चालिन गर्दा अन्योल उब्जाएको छ,’ सचिव केसीले नागरिकसँग भने, ‘अब कानुनतः कक्षा १२ सम्म विद्यालय शिक्षा कायम गरेको छ । त्यही भएर मन्त्रीज्यूले अब विद्यालय तहमा दुवै निकायको विषयलाई समायोजन गरी अब सिटिइभिटीबाटै प्राविधिक शिक्षा सञ्चालन गर्ने नीति अघि सारेको हो । यो बजेटमा समेत आएको छ ।’  

विद्यालय संरचनामा कक्षा १२ सम्म माध्यमिक तह कायम गरेपछि यो पहिलो पटक सरकारले दुई निकायको एउटै विषय बनाएर शैक्षिक प्रमाण–पत्रमा एकरूपता ल्याउने कार्य अघि बढाएको उनको भनाइ छ ।  

सोही बैठकले कक्षा ११ को हाल तयार गरिएको ३२ नयाँ ऐच्छिक विषयको पाठ्यक्रम तयार पारेको छ । तयार पारिएको पाठ्यक्रममा कार्यन्वयनका लागि छलफल र फिड–ब्याक लिन शनिबारै बैठकले पाठ्यक्रम परिषद्का सदस्य प्राध्यापक डाक्टर लेखनाथ शर्माको नेतृत्वमा तीन सदस्य टोली बनाएको केन्द्रका महानिर्देशक केशव दहालले जनाए । सात दिनभित्र सार्वजनिक सुझाव लिएर कार्यन्वयनका लागि परिषद्ले अन्तिम निर्णय गर्नेछ । यसका साथै ४८ विषयको पाठ्यक्रम यसअघि नै तयार भइ कार्यन्वयनका लागि स्वीकृति पाइसकेको छ । अगामी शैक्षिक सत्रदेखि कक्षा ११ मा ९९ ऐच्छिक विषयहरू तयार हुने महानिर्देशक दहालले बताए ।

‘शनिबारको छलफलमा एसइई परीक्षाको मोडालिटीबारे समेत छलफल भयो । परीक्षा गर्ने वा नगर्ने, गर्ने भए कसरी गर्ने र नगर्ने भए कुन मोडेलमा जानेबारे दुई घन्टा लामो छलफल चल्यो छिटै टुंगोमा पुगिनेछ,’ महानिर्देशक दहालले नागरिकसँग भने, ‘सिटिइभिटीको तीन बर्से डिप्लोमा र विद्यालय तहको प्राविधिक शिक्षा कक्षा नौदेखि १२ एउटै विषय अध्ययन गराए विद्यार्थीबीचको एसइईपछि र एसइईअघि भन्ने विभेदसमेत हट्छ । एउटै तहको कोर्समा एकथरी विद्यार्थीले डिप्लोमा र अर्को थरीले माध्यमिक तहको प्रमाणपत्र पाउँदा अन्योल उत्पन्न भएको छ ।’

प्रकाशित: २५ जेष्ठ २०७७ ००:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App