१६ चैत्र २०८० शुक्रबार
शिक्षा

दुर्गमको शिक्षा, विभेदको त्रास

होलेरी बजारमा काफल बेच्न बसेका विद्यार्थीहरु।

कोरोना त्रासले अल्झिएको समाज यतिखेर अलमलमा छ। हरेक क्षेत्र अस्तब्यस्त छ। सहर गाउँ एकनासले शान्त तर भयवित छ। हरेक दिन सुनिने संक्रमितका खबर अनि टोलमा देखिएको अब्यबस्थाले आम जनता झनै अत्तालिएको छ। केन्द्र, प्रदेश वा स्थानीय सरकारहरुले न ढाडस दिएका छन् न त ढुक्क हुने बाताबरण बनाएका छन्। सरकारले आफ्ना जनतालाई कम्तिमा दिनु पर्ने न्युनतम सुबिधा दिन नसकेपनि बिश्वास समेत नदिलाएपछि स्थानीयहरु त्रसित बनेका हुन्।  

यतिखेर सबै अलमलका बिचमा लाखौ विद्यार्र्थीहरुको भबिष्य कुहिरोको काग जस्तै छ। उनीहरुलाई न कसैले कुनै उपाय सुझाएको छ, न त कसैले चिन्ता नगर्न भनेको छ। रेडियो, टिभि र पत्रपत्रिकामा सुनिने शिक्षाका अनौठा समाचारले दिक्क विद्यार्थीहरु बिश्वसनीय खबरको प्रतिक्षामा छन्। घरमा सामान्य मोबाइल समेत नभएका वा स्मार्ट फोनको कल्पनासम्म पनि गर्न नसक्ने दुर्गमका विद्यार्थीलाई यतिबेला तनाव सुरु भएको छ। सरकारले आधारभुत सुविधाका रुपमा राखेको शिक्षा बिभेदपूर्ण हुने डरले दुर्गममा चिन्ता थपेको हो।

‘घरमा गतिलो फोन त छैन अनि कसरी पढ्ने अनलाईन कक्षा ? फोन हुनेको पनि नेटले काम गर्नु प¥यो नि, बत्ति नि छैन।’ दुर्गम गाउँ गामका विद्यार्र्थी रेशम बुढा भन्छन् ‘गाउँमा फोन गर्न त डाडामाथि उक्लिनु पर्छ, यहाँ अनलाईन कक्षाको कुरा सुनिन्छ। माथि पनि सहरका विद्यार्र्थीलाई हेरेर मात्र कुरा गर्छन, हामीलाई कसरी पढाउने भन्ने बारमा छलफल समेत भएको सुनिदैन।’ राज्यले अनलाईन कक्षाका नाममा दुर्गम र सुगम बिच बिभेद वा हुने खाने र हुदा खानेका बिचमा देखिएको शैक्षिक दुरी घटाउन पर्ने देखिन्छ।

गत सालको तथ्याङ्काई हेर्दा रोल्पामा यो बर्ष करिब ९० हजार विद्यार्थी बिद्यालय जानेछन्। हालको अबस्थामा ति मध्य ९० प्रतिसतले अनलाईन कक्षामा सहभागिता जनाउन पाउने छैनन्। ‘रोल्पामा पाँच देखि दश प्रतिसत भन्दा बढिले अनलाईन कक्षाको सुबिधा लिन सक्ने छैनन्। एउटै मापदण्ड बनाएरसंगै पढाई सुरु गर्नु पर्छ। कसैले पढ्न पाउने कसैले नपाउने भयो भने बिभेद हुन्छ जसले द्धन्द्धको सृजना गर्छ। आत्म ग्लानी वा विद्यार्थीमा डिप्रेशनसम्म पनि हुन सक्छ।’ बालकल्याण नमुना माबिका प्रअ मधुसुदन पोख्रेल भन्छन् ‘बरु हाम्रो जिल्लामा रेडियो शिक्षा नै प्रभाबकारी हुने देखिन्छ। सबैलाई समेटिन सकिएन भने बिभेद हुनेछ।’

यतिखेर दुर्गम विद्यार्र्थीहरु अलमल बढेपछि खेतिपाती वा मजदुरीमा ब्यस्त छन्। शिक्षकहरु पनि विद्यार्र्थी जस्तै अन्यौलतामा छन्। ‘हामी मानसिक रुपमा तयारी भएका छौ तर हाम्रो गाउँमा बिजुली र ईन्टरनेट छैन्। विद्यार्थीसंग स्मार्ट फोन पनि छैन। यहाँ अभिभावकलाई एउटा फोन किन्न बाख्रा बेच्न पर्छ। मुख्य कुरा बिजुली र नेट हो।’ दुर्गम गाउँ गाममा रहेको जनता माबिका प्रअ बागबिर घर्ती भन्छन् ‘अरु ठाउँका विद्यार्थीले पढ्ने तर हाम्राले पढ्न पाएनन्् भने मन दुखाउने देखिन्छ। विद्यार्र्थीहरु आत्तिएका छन्, अलमलमा छन्।’ उनका अनुसार डाटाबाट नेट चलाउदा निजी बिद्यालयमा पढेको भन्दा महङ्गो पर्ने देखिन्छ।  

गाउँमा काफल बेच्ने, निर्माण हुँदै गरेको ठाउँमा मजदुरी गर्ने अनि घरायसी खेतिपातीमा ब्यस्त विद्यार्थीहरु आफूलाई पनि सम्बोधन हुने शैक्षिक योजनाको पर्खाईमा छन्। रोल्पा नगरपालिका ४ मा तयार हुदै गरेको हेलिप्याडमा मजदुरी गर्ने पार्बती यरियार र निर्मला बुढा हुन वा होलेरी बजारमा दैनिक काफल बेच्न आउने देवा बस्नेत, यामकुमारी घर्ती जस्ता दर्जनौ विद्यार्र्थीहरुका पक्षमा शैक्षिक योजना बनाउनु पर्ने देखिन्छ। स्थानीय सरकारले पनि शिक्षा सुधारका लागि केन्द्र र प्रदेश सरकारको मुख नताकेर केहि प्रयास गरेमा सहज हुने शिक्षकहरु बताउछन्।

प्रकाशित: २४ जेष्ठ २०७७ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App