१६ चैत्र २०८० शुक्रबार
शिक्षा

घरमै पुस्तक: शिक्षकले टोलमै पढाउने

स्याङ्जाको भिरकोट नगरपालिकाले विद्यार्थीको घरघरमै पुगेर पुस्तक उपलब्ध गराएको छ। बन्दाबन्दीका कारण लामो समयदेखि शैक्षिक गतिविधि प्रभावित भइरहेका बेला नगरपालिकाले विद्यालयका शिक्षकमार्फत विद्यार्थीको हातहातमा पुस्तक पु-याएको हो।

बन्दाबन्दीका कारण विद्यार्थीको शैक्षिक गतिविधिमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले उनीहरुलाई कक्षाअनुसारका पाठ्यपुस्तक सम्बन्धित विद्यालयमार्फत विद्यार्थीकोमा पु-याइएको भिरकोट नगरप्रमुख छायाँराम खनालले बताए। “पहिलो चरणमा सम्बन्धित विद्यालयका शिक्षक प्रतिनिधिमार्फत विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक वितरण गरिरहेका छौँ”, नगरप्रमुख खनालले भने, “शिक्षक विद्यार्थीको घरघरमा पुगेर पुस्तक उपलब्ध गराउनुका साथै अभिभावकसँग विद्यार्थीको शैक्षिक गतिविधिका बारेमा पनि जानकारी लिने र आवश्यक परामर्श दिने गरेका छन्।”

पहिलो चरणमा सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने र दोस्रो चरणमा टोलटोलमा शिक्षक तथा भोलेन्टियरमार्फत सामाजिक दूरी कायम राखी पिँढी, चौतारी तथा उपयुक्त स्थानमा पठनपाठन गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख खनालले बताए। “अब विद्यार्थी शिक्षा लिनका लागि विद्यालयमै पुग्नुपर्दैन”, नगरप्रमुख खनालले भने, “आ–आफ्नो टोलमा रहेका शिक्षक वा भोलेन्टियरमार्फत प्रत्येक टोलटोलमा पठनपाठन गर्ने कार्य अगाडि बढ्दैछ।”

नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको बैठकमा नयाँ शैक्षिकसत्रको शुरुआत भए पनि विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउन सकेदेखि विद्यार्थी नयाँ पुस्तकमा रमाउन थाल्ने सुझाव दिएका थिए। त्यसमा पुस्तकको व्यवस्थापन गर्नुपर्ने कुरा उठेपछि नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको तथ्याङ्क सङ्कलन गरी पाठ्यपुस्तक ढुवानी गरी विद्यालयमार्फत वितरण गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमप्रसाद आचार्यले बताए।

“भिरकोट नगरभित्र सामुदायिक ३९ र संस्थागत पाँच गरी कूल ४३ विद्यालय छन्”, शिक्षा शाखा प्रमुख आचार्यले भने, “शुक्रबारसम्म ३२ विद्यालयका विद्यार्थीकोमा पुस्तक पुगिसकेको छ, बाँकी विद्यार्थीमा पनि आइतबारसम्म पु¥याउन विद्यालय तथा शिक्षकलाई निर्देशन दिएका छौँ, उनीहरुले पु-याउने प्रतिबद्धतासमेत जनाएका छ।”

नगरपालिकाले प्रत्येक विद्यालयमा ढुवानी गरी नयाँ पाठ्यपुस्तक पु-याउने र विद्यालयमार्फत शिक्षक प्रतिनिधिले घरघरमा रहेका आफ्ना विद्यार्थीलाई पाठ्यपुस्तक पु-याउने व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख आचार्यले बताए। “आफ्नो टोलमा रहेका जुनसुकै विद्यालयका विद्यार्थीलाई पनि सोही टोलमा रहेका शिक्षकले अनिवार्य पढाउने, गृहकार्य दिने, गृहकार्य गरे÷नगरेको जाँच गर्ने व्यवस्था मिलाएका छौँ”, शाखा प्रमुख आचार्यले भने, “नगरभित्रका विभिन्न टोलटोलमा सामाजिक दूरी कायम गरी सम्बन्धित टोलका शिक्षक तथा भोलेन्टियर शिक्षकद्वारा पठनपाठन भए÷नभएको अनुगमन पनि गर्छौैँ।”

कक्षा १ देखि ९ सम्मका विद्यार्थीका लागि तोकिएको पाठ्यपुस्तक उपलब्ध भएसँगै टोलमा रहेका शिक्षकले आलोपालो दैनिक डेढदेखि दुई घण्टा पठनपाठन गर्नुपर्ने निर्णय नगरपालिकाले गरेको शाखा प्रमुख आचार्यले बताए। “शिक्षकले अभिभावकसँग विद्यार्थीको शैक्षिकलगायत अन्य गतिविधिका बारेमा जानकारी लिनुका साथै कोभिड–१९ का बारेमा आवश्यक परामर्श दिनुहुने छ”, शाखा प्रमुख आचार्यले भने, “बालमैत्री स्थानीय शासन घोषणा गर्ने क्रममा रहेकाले बालबालिकाको हकअधिकारप्रति हामी सचेत र प्रतिबद्ध पनि छौँ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App