coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

वितरक केन्द्रमा पुगे, विद्यार्थी सम्म अझै पुगेनन् पुस्तक

कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व नै आक्रान्त बनेको छ । जसका कारण चैत महिनादेखि देश लकडाउनमा छ । सरकारले अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय गरेसँगै विद्यालय क्याम्पस लगायतका शैक्षिक संस्था पनि बन्द छन् । नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि विद्यालयमा पठनपाठन हुन सकेको छैन । कोरोना भाइरसको महामारीका कारण चैत महिनामा सञ्चालन गरिने माध्यमिक शिक्षा एसइईको परीक्षा समेत हालसम्म हुन सकेको छैन ।  

मुलुक नै महामारीको चपेटामा परेको बेला भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रले भने केन्द्रबाट छापिएका पाठ्यपुस्तक जिल्लाका विभिन्न वितरण केन्द्रमा पठाएको छ । महामारीको समयमा पनि विद्यार्थीको पठनपाठनलाई लक्षित गरी जिल्लाका विभिन्न आठ वटा वितरण केन्द्रमा एक करोड १७ लाख ६० हजार थान नयाँ पुस्तक पठाएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।  

सरकारले सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १० सम्मका पुस्तक निःशुल्क वितरण गर्ने गरेको छ । मुलुकभरका १ देखि १० कक्षासम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि पुस्तक छाप्ने जिम्मा भने जनक शिक्षाको हो ।

जनक शिक्षाले नयाँ शैक्षिक सत्रका लागि पुस्तक छापेर मुलकका विभिन्न ठाउँमा स्थापना गरिएका मुख्य वितरण शाखामा पठाउने गर्छ । पुस्तक छापेर भक्तपुरबाटै सबै जिल्लामा पुस्तक वितरण गर्न कठिन हुने भएकाले देशका विभिन्न शहरमा वितरण शाखा स्थापना गरिएको हो । केन्द्रमा छापिएका पुस्तकहरू समयमै सबै विद्यालयमा पुर्याउन सकौं भनेर आठ ओटा वितरण शाखा सञ्चालन गरेको केन्द्रका सूचना अधिकारी चित्र आचार्यले बताए ।  

उनका अनुसार यस वर्ष देशभरका विद्यालयमा पुग्नेगरी केन्द्रले ८० प्रतिशत पुस्तक छापेर वितरण शाखामा पठाइसकेको छ । यहाँबाट पठाइएका पुस्तकहरूलाई वितरक शाखाले विगतका वर्षदेखि नै आफ्नो पायक पर्ने जिल्ला, सदरमुकाममा पठाउने गरेको उनको भनाइ छ ।  

यस वर्ष देशमा भइरहेको लकडाउनका कारण विद्यालयहरु बन्द रहेकाले विद्यार्थीको हातसम्म पुस्तक पुर्याउन अलिक कठिनाइ भएको उनले बताए । ‘हामीले सञ्चालन गरेको आठ वटै वितरक केन्द्रमा पुस्तक समयमै पुगे पनि हालसम्म २५ प्रतिशत मात्रै पुस्तक वितरण भएको हामीलाई जानकारी आएको छ,’ सूचना अधिकारी आचार्यले भने, ‘लकडाउनका कारण अझै विद्यार्थीको हातमा पुस्तक पुगेको छैन । यस विषम परिस्थितिमा सरकारले स्थानीय निकायको सहयोग लिएरै भए पनि विद्यार्थीको घरघरमै पुस्तक पुर्याउने व्यवस्था गर्नुपर्छ ।’  

केन्द्रका प्रबन्ध सञ्चालक महेश तिमल्सिनाले विद्यार्थीको घरमै पुस्तक पुर्याउनेबारे छलफल भइरहेको बताए । कोरोना भाइरसको त्रासका कारण पनि विद्यालयबाट वितरक केन्द्रमा पुस्तक लिन नआएको बताउँदै उनले भने, ‘लकडाउनका समयमा सञ्चालनमा ल्याइएको अनलाइन कक्षाका लागि पनि विद्यार्थीलाई पुस्तक आवश्यक छ । विद्यार्थीको हातमा पुस्तक पुर्याउन सकियो भने उनीहरु खाली समय पुस्तकसँग खेलेर बिताउन सक्छन् ।’

कुन वितरण शाखामा कति पुगे पुस्तक

यस वर्षको शैक्षिक सत्रका लागि जनक शिक्षा सामग्री केन्द्रले एक करोड १७ लाख ६० हजार थान पुस्तक वितरणका लागि पठाइसकेको छ । केन्द्रकाअनुसार यस वर्षका लागि विराटनगरमा १८ लाख ५० हजार थान पुस्तक पठाइसकेको छ ।  

विराटनगरमा रहेको वितरक शाखाले विराटनगर लगायत त्यहाँ पायक पर्ने अन्य जिल्लाहरूमा पुस्तक पठाउने गर्दछ । अघिल्लो वर्षको तुलनामा यस वर्ष विराटनगरमा चार लाख २२ हजार थान कम पुस्तक पठाइएको केन्द्रले जानकारी दिएको छ ।  

जनक शिक्षा केन्द्रले जनकपुरमा भने अघिल्लो वर्षभन्दा यस वर्ष एक लाख, नौ हजार दुई सय ४० थान पुस्तक बढी पठाएको छ ।  अघिल्लो शैक्षिक सत्रका लागि केन्द्रले १० लाख ९० हजार, सात सय ६० थान पुस्तक वितरणका लागि पठाएको थियो तर यस वर्ष भने १२ लाख थान पुस्तक पठाएको जनक शिक्षा सामाग्री केन्द्रको तथ्यांकले देखाएको छ ।  

यसवर्षको शैक्षिक सत्रका लागि भरतपुरमा १६ लाख ६० हजार थान पुस्तक पठाइसकेको छ । केन्द्रकाअनुसार अघिल्लो वर्षभन्दा यसवर्ष भरतपुरमा चार लाख ८० हजार थान पुस्तक कम पठाइएको छ । त्यस्तै पोखरामा पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष दुई लाख, ४८ हजार ५७२ थान कम पुस्तक गएको केन्द्रले बताएको छ । केन्द्रकाअनुसार पोखरामा यसवर्ष १२ लाख थान पुस्तक पठाइएको छ ।  

त्यस्तै केन्द्रले बुटवलमा यस वर्ष १४ लाख थान पुस्तक वितरणका लागि पठाएको छ । अघिल्लो वर्ष ११ लाख ६८ हजार मात्र पठाएको थियो । यस वर्ष बुटवल र आसपासका जिल्लाहरूलाई पुग्नेगरी अढाई लाख थान पुस्तक बढी पठाएको छ ।

यस वर्षका लागि नेपालगञ्जमा १७ लाख थान पुस्तक पठाइएको छ । अघिल्लो शैक्षिक वर्षमा भन्दा यस वर्ष नेपालगञ्जमा  पाँच लाख ७६ हजार आठ सय १३ थान पुस्तक कम पठाइएको छ । अघिल्लो शैक्षिक सत्रमा नेपालगञ्जमा २२ लाख ७६ हजार आठ सय १३ थान पुस्तक पठाइएको थियो ।  

सुर्खेतमा यस वर्षको शैक्षिक सत्रका लागि नौ लाख थान पुस्तक केन्द्रले पठाएको छ । अघिल्लो वर्ष सुर्खेतमा आठ लाख ३९ हजार ६ सय ६० थान पुस्तक पठाइएको थियो । त्यस्तै धनगढीमा गत वर्षको तुलनामा यस वर्ष सात लाख थान पुस्तक कम पठाइएको छ । केन्द्रको तथ्यांकअनुसार यसवर्ष धनगढीमा १८ लाख ५० हजार थान पुस्तक मात्रै पुगेको छ ।

यसबाहेक बाँकी पुस्तक काठमाडौं लगायत नजिकका आवश्यक ठाउँका लागि केन्द्रले छापेका पुस्तक केन्द्रीय कार्यालय सानोठिमीमा राखिएको हुनाले आवश्यक विद्यालयले केन्द्रमै आएर लैजान सक्ने आचार्यले बताए । उनले केन्द्रमा यति नै थान पुस्तक राखिएको छ भन्ने यकिन नभएको जानकारी दिए ।

जनक शिक्षा सामग्री केन्द्रले १ देखि १० कक्षासम्मको नेपाली माध्यमका विषयहरू छाप्ने गरेको छ । केन्द्रले अघिल्लो वर्ष एक करोड, ८० लाख, ५९ हजार, चार सय २८ थान पुस्तक छापेको थियो भने नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै एक करोड, ३७ लाख, ८६ हजार सात सय सात थान पुस्तक जिल्लाका आठ वटै वितरक केन्द्रमा पठाएको थियो ।  

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नयाँ शैक्षिक सत्रका लागि वितरक केन्द्रसम्म पुस्तक पुगे पनि मुलुकका कुनाकाप्चामा रहेका विद्यालय र विद्यार्थीको हातमा अझै पुस्तक पुग्न सकेको छैन । 

प्रकाशित: १२ जेष्ठ २०७७ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App