coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

कोरोना कहर संकटमा शिक्षा

दुर्गममा अनलाइन कक्षा, एकादेशको कथा

होलेरीको सडक छेउमा काफल बेच्न बसेका बालबालिका । फोटो दिनेश सुवेदी

उनीहरु बिहानै ५ बजे उठेर अघिल्लो दिन बेलुका जंगलबाट टिपेर ल्याएको काफल बोकेर होलेरी बजारतिर आउँछन् । खाली पेट काफल बेच्न हिंड्ने बालबालिकालाई होलेरी पुग्न झण्डै दुई घण्टा लाग्छ । भिमसेन माध्यमिक विद्यालय सैवाङमा विभिन्न कक्षामा पढ्ने बालबालिकाहरु कोरोना त्रासपछिको लकडाउनले दिक्क बनेका छन् । लामो समय विद्यालय बन्द भएका कारण काफल टिपेर बेच्नु, गोठालो जानु अनि घरायसी काममा सहभागिता जनाउनुको विकल्प छैन । अब के गर्ने भन्नेमा बालबालिका अलमलमा छन् ।

‘गाउँघरमा दाइदिदीहरुसँग, आफुले पढ्ने कक्षाको किताब मागेर पढाइ सुरु गरेका उनीहरुले पढ्ने भेउ नपाएपछि स्कुल खुल्ने बाटो हेरेका छन् । ‘सिनियर दाइदिदीका किताब मागेर ल्याएको बुझ्नै सकिंदैन । नेपाली र सामाजिक सम्म पढ्न सकिन्छ अरु त हुंदैन ।’ अब ९ कक्षामा पढ्ने छात्रा देवा बस्नेतले भनिन् ‘अंग्रेजी, गणित, विज्ञान त झनै केही बुझिंदैन । स्कुल बन्द भएर दिक्क बनायो । यो वर्ष हाम्रो पढाइ बर्बाद हुने भो ।’ नबुझेको लकडाउनले विद्यार्थीलाई अन्योलता थपेको छ ।

पढाइ बिग्रिने चिन्ताले हतास बनेका बस्नेत जस्ता आम विद्यार्थीलाई यतिबेला सहानुभुतिको खाँचो देखिन्छ । अहिलेसम्म रोल्पामा रुन्टीगढी गाउँपालिकाका ५ सैवाङका दर्जनौं विद्यार्थी जस्तै अन्य गाउँका सयौं विद्यार्थीले काफल बेचेर होस या गिट्टी फुटाएर होस आफ्ना लागि पढाइ खर्च जुटाइसकेका छन तर विद्यालय खुल्ने अन्योल छ । पहिले नियमित स्कुल खुल्दा कहिले शनिबार आउला र बिदा होला भन्दै कुर्ने उनीहरु लामो समयको लकडाउनले आत्तिएका हुन् ।

‘अब त अत्यास लाग्न थाल्यो । कति दिन अझै यस्तै हुने हो । वर्ष दिन घोटिएर पढ्दा त गाह्रो हुन्थ्यो अब हतारमा पढ्दा केके हुन्छ ।’ काफल बेच्न आएकी  ५ कक्षाकी छात्रा देवा कहकरीले भनिन् ‘पढ्ने बानी पनि हराउन थाल्यो ।’ मास्क र सेनिटाइजर दैलोसम्म नआएका उनीहरु दिनभर काफल बेचेर अबेला घर जाने बताउँछन् । ‘गिलासको १० रुपैयाँमा बेच्छौ । अब त बिक्न पनि छोडयो । बजारमा मान्छे नै हिंडदैनन् अनि कसले किनिदेओस । भोलिबाट काफल बेच्न नआउने ।’ सडक र बजारमा आवागमन पातलिएपछि उनीहरुको काफल व्यापार हुन छोडेको छ ।

कोरोना भाइरसका कारणले विद्यालय र शहर बन्द भएको सुनेका उनीहरुलाई योभन्दा बढी जानकारी छैन । गाउँको नियमित दिनचर्यासँग अभ्यस्त उनीहरुलाई रोगको त्रासले पनि छोएको छैन् । रेडियो समेतको गतिलो पहुँच नभएका दुर्गमका बालबालिकाले अनलाइन कक्षाको कल्पना समेत गर्न सक्दैनन् । ‘घरमा फोन त गतिलो छैन झन अनलाइन कक्षा ।’ कक्षा ७ की हुकुमी बस्नेत भन्छिन् ‘बरु रेडियोमा सम्म पढाइ भयो भने सुन्नसम्म पाइएला ।’ उनीहरुलाई अनलाइन कक्षाको कुरा एकादेशको कथा जस्तै लाग्छ ।

देशमा लकडाउनका कारणले सबै क्षेत्र अस्तव्यस्त छ । आम नागरिकको दिनचर्या अत्यासलाग्दो छ । त्यसमा पनि लामो भविष्य सुखद बनाउने आशामा बसेका लाखौ विद्यार्थीहरुको पठनपाठन पुर्ण रुपमा संकटमा परेको छ । शहर र गाउँ सबैतिरका अभिभावक आफ्ना सन्तानको अध्ययन के गर्ने भन्ने अन्योलमा छन । शिक्षामा सरोकार राख्ने कोही कसैले सामान्य चासो दिए पनि आम रुपमा यो विषय नै ओझेल परेको छ ।  

बेलाबेलामा शहरका निजी विद्यालयले अनलाइन लगायत विभिन्न माध्यमको प्रयोग गर्दै पठनपाठन चलाउने चर्चा चलाइएको भए पनि त्यो अहिलेलाई अपरिपक्व विधि देखिन्छ । सामान्य रेडियो समेतको पहुँच नभएको देशका ठुलो संख्याका विद्यार्थीबारे पनि सोच्नुपर्ने समय आएको छ । देशैभरिका बालबालिकालाई एकरुपताका आधारमा योजना बनाएर एकैसाथ अध्यापनको सुरुवात गर्नुपर्ने शिक्षाविद्हरुले बताउँदै आएका छन् ।

प्रकाशित: १० जेष्ठ २०७७ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App