२८ असार २०७७ आइतबार
शिक्षा

ताप्लेजुङको उत्तरी क्षेत्रमा रेडियोबाट पढाइ, विद्यार्थी र शिक्षक उत्साहित

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुस्थित चन्द्रोदय आधारभूत बिद्यालयका बिद्यार्थी रेडियो सुन्दै पढ्दै। तस्बिरः नागरिक।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ ईखाबुस्थित चन्द्रोदय आधारभूत बिद्यालयकी शिक्षिका कल्पना लिम्बूले सामाजिक दुरी कायम गरी आफ्नो टोल वरपरका ५–६ जना बिद्यार्थीलाई घरमै राखेर पढाई सहजीकरण गर्न थालेकी छन्। उनी बिद्यार्थीलाई रेडियो सुन्न लाउँछिन् र केहि अस्पष्ट र थप जिज्ञासा भए त्यसको समाधान पनि गरिदिन्छन्।  

लकडाउनका कारण बिद्यालय जान नपाएर पढाईको समस्या भोगिरहेका बिद्यार्थीका लागि ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले ताप्लेजुङका ३ र तेह्रथुमको १ गरी ४ वटा रेडियोबाट पढाई गर्ने व्यवस्था गरेको हो। रेडियोमा आउने कार्यक्रम समय अनुकुल पारेर सुन्न समस्या खेपीरहेका बालबच्चालाई कल्पनाले आफ्नै घरमा बोलाएर रेडियो सुनाउने र बिद्यार्थीका थप जिज्ञासा भए समाधान गरिदिने कोशिष गर्दै आएकी छन्।‘  

रेडियो नै नभएर दुर शिक्षा रेडियो कार्यक्रम सुन्न समस्या परेका वा रेडियो सुनेर पनि आफ्ना थप जिज्ञासाको समाधान गर्न कसरी गर्ने भन्ने दोभारमा परेका बालबच्चालाई निकै ठूलो बल पुग्ने रहेछ’कल्पनाले भनिन्।

उनी पहिला रेडियोमा आउने पढाई केन्द्रित कार्यक्रमलाई ध्यानपूर्वक सुन्न लगाउँछिन् र केहि समस्या भए टिप्न पनि। जब रेडियोमा पढाई कक्षाको कार्यक्रम अन्त्य हुन्छ,त्यसपछि अस्पष्ट भएका र बिद्यार्थीका थप जिज्ञासाका समाधान गर्न कोशिष गर्छिन्।  

आफ्नो बिषय शिक्षा बाहेकका बिद्यार्थीका जिज्ञासा भए सम्वधित शिक्षक वा रिड नेपालका बिषय बिज्ञबाट समेत समाधान हुने गरेको छ। रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्त दुर शिक्षा रेडियो कार्यक्रम सुरु भएको ५ औं दिनबाटै रेडियो सुनेर सिक्न बिद्यार्थीमा देखिएको उत्साह र सम्वन्धित क्षेत्रका शिक्षक तथा अभिभावकको चासोले आफुहरुलाई मोहित तुल्याएको बताउँछन्।‘यो कार्यक्रमप्रति बिद्यार्थी र अभिभावक मात्रै होइन,आफ्ना कार्यक्षेत्रका शिक्षकहरुको उत्साह पनि कम पाइन’पन्तले भने। रेडियोबाट सुरु भएको शिक्षण सिकाईप्रति स्थानीय अभिभावकको पनि चासो बढेको छ। पन्तका अनुसार अभिभावकको माग अनुसार नै अहिले दुर शिक्षा रेडियो कार्यक्रमको प्रसारण ताप्लेजुङ बाहेक तेह्रथुमको एउटा रेडियोबाट समेत हुन थालेको छ।

ताप्लेजुङका रेडियोको प्रसारण पहुँच नपुगेका खेवाङ, याम्फुदिन, सुरुम्खिम र मामाङ्खेको वल्लो भाग समेतमा तेह्रथुमको आठराईको रहेको रेडियो आठराईले प्रसारण पहुँच राख्ने पन्तले जानकारी दिए। यो बाहेक ताप्लेजुङका रेडियो तमोर, रेडियो ताप्लेजुङ र रेडियो फक्ताङ्लुङमा दुर शिक्षा रेडियो कार्यक्रम प्रसारणमा रहेको छ।

सिरिजङ्घा गाउँपालिका वडा नं ७ खेवाङका वडाध्यक्ष नयेन्द्र तिवारी रेडियोबाट सुरु भएको पढाई कार्यक्रमले लामो समय सम्म शिक्षण सिकाई प्रकृया अबरुद्ध भएका बालबालिकालाई रेडियोमार्फत सिकाई गराउने कार्य प्रभावकारी रहेको बताए। उनले पढाई गराउने रेडियो कार्यक्रम पछि परीक्षा सञ्चालन गर्ने सम्मको केही बिधि भए तय गर्न समेत रिड नेपालसंग प्रस्ताव गरेका छन्। रिड नेपालले जेठ १ गते देखि यहाँका कक्षा १देखि ८ सम्मका बिद्यार्थीलाई अंग्रेजी, गणित, विज्ञान र नेपाली बिषयको शिक्षण सिकाई सुरु गरेको छ।

घरैमा बसेर विद्यार्थीहरुको विषयगत सिकाइ क्षमता अभिवृद्धी गर्न दुरशिक्षा सिकाइ रेडियो कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला कार्यक्रम प्रवन्धक पन्तले जानकारी दिए। कोभिड–१९ महामारीले आतंकित भएको अवस्थामा सुरक्षित ढंगबाट बिद्यार्थी सिकाई केन्द्रित गर्न यस्तो अभियान सुरु गरिएको उनले बताए। 

प्रकाशित: ६ जेष्ठ २०७७ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App