१२ जेष्ठ २०७७ सोमबार
शिक्षा

स्वीकृतिबिना पाठ्यपुस्तक छापिए

सरकारसँग स्वीकृतिबिना नै निजी प्रकाशन गृहले कक्षा १ को पाठ्यपुस्तक बिक्री गरेका छन् । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा रहेकै बेला सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट स्वीकृति पाएका पुस्तक पसल खोल्न खनुमति दिएसँगै जथाभावी पुस्तक बिक्री सुरु भएको हो ।  

पाठ्यक्रम विकास केन्द्रले यस वर्षका लागि जनक शिक्षा सामग्री केन्द्रबाहेक कुनै पनि प्रकाशनलाई कक्षा १ को पुस्तक छपाइको स्वीकृति दिएको छैन । तापनि निजी प्रकाशन गृहले  आफूअनुकूल बिनास्वीकृति पाठ्यक्रम तयार पारेका पुस्तक स्कुल हुँदै अभिभावकको हातसम्म पुगेका छन् । अनुमतिबिनै पुस्तक ल्याउनेमा संगम, युनाइटेड, युनिक, ऐरावती, निरन्तर, पाथफाइन्डर, ब्रेनटेन, जेबिडीलगायत रहेका छन् । यी प्रकाशन गृहले कक्षा १ को नेपाली, अंग्रेजी, हाम्रो सेरोफेरो र गणित गरी चारवटा अनिवार्य विषयका पुस्तक निजी विद्यालयका लागि अवैध रूपमा छापेर प्याव्सन र एनप्याव्सनसँग आबद्ध रहेका स्कुलमा पु्¥याएका छन् । ती स्कुलले लकडाउनकै समयमा अभिभावकलाई समेत थमाएका छन् ।  

पाठ्यक्रम विकास परिषद्को माघ २ गतेको बैठकले कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । त्यसअनुसार यस वर्षदेखि लागू हुनेगरी कक्षा १ को नयाँ पाठ्यक्रम तयार गरिएको केन्द्रका निमित्त महानिर्देशक रुद्रप्रसाद अधिकारीले बताए । नयाँ पाठ्यक्रमका लागि हालसम्म जनक शिक्षा सामग्री केन्द्रले मात्र छपाइ र वितरणको अनुमति पाएको जानकारी दिँदै उनले निजी प्रकाशन गृहहरूले माघ अघि नै स्वीकृतिका लागि पेस गरेकाले उनीहरूको पाठ्यसामग्री र विषयवस्तु नयाँ पाठ्यक्रमसँग मेल नखाएकाले पाठ्यक्रम मूल्यांकन समीतिले परिमार्जन गर्न सुझाव दिएको बताए । ‘तर निजी प्रकाशन गृहले पसिमार्जन गरी सच्याएर ल्याउनुको साटो पाठ्यक्रमको स्वीकृति छापेर कक्षा १ को पुस्तक बजारमा ल्याएको गुनासो केन्द्रमा आयो,’ महानिर्देक अधिकारीले भने, ‘निजी प्रकाशन गृहले थप सामग्रीको रूपमा स्वीकृति लिए पनि स्कुलहरूले भने अनिवार्य विषयकै रूपमा लगाएको सूचनासमेत केन्द्रमा आएको छ ।’  

उनले थपे, ‘लकडाउनकै कारण समितिको बैठक नबसेकाले कक्षा १ का लािग कसैले पनि स्वीकृति पाएका छैनन् । लकडाउन खुल्नासाथ अवैध रूपमा पाठ्यक्रमको लोगो राखेर पुस्तक छापेर बजारमा ल्याउने निजी प्रकाशन गृहलाई केन्द्रले कालो सूचीमा राख्ने र आगामी वर्षको छपाइ र बिक्रीवितरण गर्न पनि स्वीकृति दिने छैन ।’

निजी विद्यालयले लकडाउनको समयमा पनि अभिभावकलाई सम्पर्क गरेर पुस्तक बिक्री गरिसकेको एक पुस्तक बिक्रेताले बताए । उनले नाम नराख्ने सर्तमा निजी प्रकाशन गृहले कमिसन स्वरूप प्याब्सन र एनप्याब्सनको चितवन, धादिङ, तनहुँलगायत २० जिल्लाभन्दा बढीमा निजी भवनसमेत बनाइदिएको बताए । ‘निजी प्रकाशन गृहको पुस्तक बेचेबापत निजी विद्यालयले ४० देखि ५० प्रतिशसम्म कमिसन पाउँछन् । त्यही भएर उनीहरूले जनकको किताब लगाउँदैनन् । यति मात्र होइन, अंगे्रजी माध्यमबाट पढाइने सरकारी स्कुलले समेत यति नै कमिसनमा थप पुस्तकको रूपमा निजीको किताब पढाउँदै आएका छन्,’ उनले भने ।  

जेबिडी प्रकाशनको नारायण ज्ञवालीले लेखेको मेलोडी म्याथ, पाथफाइन्डरको म्याथलिंक र इंग्लिस रिडर, संगमको  हाम्रो सेरोफेरो, ऐरावती प्रकाशनको डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, गणेशप्रसाद भट्टराई र धीरकुमार श्रेष्ठले लेखेको मेरो प्यारो नेपाली र एलाइड पब्लिकेसनको कक्षा १ को किताब स्वीकृतिबिना बजारमा हाल देखिएका छन् ।  

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काठमाडौं जिल्ला अध्यक्ष महेश शर्माका अनुसार संघमा समेत पाठ्क्रम विकास केन्द्रको स्वीकृति बेगर कक्षा १ को किताब निजी प्रकाशन गृहले बिक्री गरेको सूचना आएको बताए । उनले यसै सूचनाको आधारमा गलत काम गर्नेलाई तत्काल नगर्न निर्देशन दिएको जनाए । 

प्रकाशित: ६ जेष्ठ २०७७ ०४:३० मंगलबार

खुशी 0%
दुखी 22.2%
अचम्मित 55.6%
हास्यास्पद 0%
क्रोधित 22.2%
अर्को समाचार
Download Nagarik App