२१ असार २०७७ आइतबार
शिक्षा

अनलाइन कक्षाबारे के भन्छन् त प्रधानाध्यापक ?

अनलाइन शिक्षा अन्याेलमा

पछिल्ला दुई दिनमा कोरोना संक्रमणबाट दुईजनाको ज्यान गइसकेको छ । दिन दुईगुना रात चौगुना संक्रमितको संख्या वृद्धिले हाम्रो देशमा पनि झनै चुनौती बढ्दै गएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै झन्डै दुई महिनादेखि पटकपटक लकडाउन थपिँदै आएको  छ । छैटौंपटक जेठ ६ बाट लागू हुनेगरी १५ दिनका लागि थपिएको लकडाउन जेठ २० गतेसम्म रहनेछ । संक्रमितको संख्या बढ्दै गइरहे लकडाउन हट्ने आशा गर्न सकिँदैन ।

लकडाउनले सबैजसो क्षेत्रलाई तहसनहस बनाएको छ । त्यसले शिक्षा क्षेत्रलाई पनि डामाडोल बनाएको छ । यतिखेर विभिन्न तौरतरिका अपनाएर विद्यार्थीको पढाइलाई निरन्तरता दिने प्रयासलाई मूर्तरूप दिनुपर्ने टड्कारो आवश्यकता खड्किएको छ । लकडाउन महिनौं लम्बिने स्थिति आए रेडियो, टेलिभिजन तथा अनलाइनबाट कक्षा सञ्चालनबाहेक अरू विकल्प दैखिँदैन । शिक्षा मन्त्रालय तथा शिक्षा विभागले शिक्षाविद्हरूसँग बृहत् छलफल गरेर केही ठोस योजना बनाउनु अत्यत्न जरुरी बनेको छ ।  

जिल्लाका धेरै विद्यालय भवनलाई अहिले क्वारेन्टिन बनाइएको छ । कोरोना संक्रमण सकिएपछि बृहत् सरसफाइ गरी ‘सेनिटाराइज्ड’ गरिसक्दा मात्र ती विद्यालय भवनमा पढाइ सञ्चालनमा ल्याउन सकिन्छ । यतिखेरको अवस्थामा भने कुनै हालतमा त्यहाँ पठनपाठन सञ्चालन सम्भव देखिँदैन । सबैभन्दा चासोका साथ खोजिनुपर्ने उपाय भनेकै यस्तो बेला पढाइलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने हो ।

कोरोना महामारी र लकडाउनको स्थितिमा शैक्षिक क्षेत्रको व्यवस्थापनका लागि छलफल भइरहेका छन् तर कुनै खास योजना बन्न नसकेको स्थिति छ । यद्यपि भर्खरै शिक्षा मन्त्रालयले ई–लर्निङ पोर्टल भने सञ्चालनमा छ, जुन कक्षा १ देखि १० सम्मका विद्यार्थीले पढ्न मिल्नेगरी तयार पारिएको छ । विद्यालयमा पढिने–पढाइने सामग्रीलाई यो पोर्टलमा समावेश गरिएको छ । विद्यालय तहका सबै विषयका सामग्री learning.cehrd.gov.np पोर्टलमा समेटिएका छन् । यस पोर्टलको सञ्चालन तथा नियन्त्रण शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्नेछ ।

केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाका अनुसार विद्यार्थीले यो पोर्टलमा गएर आफूलाई आवश्यक कक्षा र उक्त कक्षाका विषयअनुसारको सामग्री पढ्न पाउनेछन् । त्यसमा भेटिने सामग्री डाउनलोड गर्न पनि सकिने बताइउको छ । तर त्यसका लागि विद्यार्थीमा इन्टरनेटको पहुँचमा हुनुपर्छ । मन्त्रालयका प्रवक्ता दीपक कुमार शर्माका अनुसार त्यसबारे अनौपचारिक रूपमा छलफल भइसकेको छ ।  

‘छलफलमा सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरूले सुझाव दिनुभएको छ,’ उनले भने, ‘विषयवस्तु हेरेर सरकारसँग समन्वय गरेर उचित योजना बनाउने तयारी भइरहेको छ ।’  

अनलाइन मात्र भनेर नहुने हरेक स्थानीय तहका विद्यार्थीका लागि शिक्षा मन्त्रालयले योजना बनाएर तत्काल सार्वजनिक गर्नुपर्ने शिक्षाविद् सुसन आचार्यले बताइन् । ‘टेलिकमको प्याकेजबारे जानकारी गराउनुपर्‍याे,’ आर्चायले भनिन्, ‘देश संघीयमा गइसकेपछि सबै स्थानीय तहलाई स्वयंलाई योजना बनाउन दिनुपर्‍याे ।’

उनका अनुसार अहिले कोराना नियन्त्रणमा स्थानीय तहले राम्रो काम गरेका छन् । त्यस्तै शिक्षासम्बन्धी गतिविधिमा पनि तिनको परिचालन गर्नुपर्छ । हरेक स्थानीय तहमा विद्यार्थी छन् भने शिक्षकहरू पनि छन् । शिक्षकलाई नै परिचालन गरेर कसरी सम्भव हुन्छ, त्यसरी नै विद्यार्थीको शिक्षालाई अघि बढाउनुपर्छ ।  

अहिले आममानिसमा मानसिक समस्या पनि देखापरेको छ । यस्तो अवस्थामा शिक्षा र मानसिक स्वास्थ्यका क्षेत्रमा गरिरहेका सामाजिक संस्था पनि परिचालन गर्नुपर्ने उनको धारणा छ । सरकारले आफूले पनि काम नगर्ने र स्थानीय तहलाई पनि काम गर्न नदिने प्रवृत्तिले अन्योल पैदा गरेको छ । ‘सोसल साइकोलोजी’को तालिम लिएका शिक्षकलाई परिचालन गर्नु राम्रो हुने शिक्षाविद् आचार्यको भनाइ छ ।  

प्रिन्ट मिडिया, अनलाइन, रेडियो, टिभी सबैबाट विद्यार्थीलाई पढाउनुपर्ने देखिन्छ । हरेक वडामा सामुदायिक सूचना केन्द्र तथा पुस्तकालय बनाउने भनिएको छ, त्यसलाई छिट्टै कार्यान्वयवनमा ल्याउनुपर्छ । केन्द्र सरकार र प्रदेश सरकार अनि प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरेर अघि बढ्नुपर्ने सुझाव उनले दिइन् ।

विद्यार्थीहरू गाउँ गएका छन् । शिक्षकहरू पनि गाउँमै हुन सक्छन् । जो जहाँ छन्, त्यहीका स्रोत साधन परिचालन गरेर शिक्षा विस्तार गनुपर्ने उपाय शिक्षाविद् सुसन आचार्यले सुझाइन् । कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार नभएकाले यसको टीकाटिप्पणी हुँदै आएको सन्दर्भमा प्रअ, विद्यार्थी र अभिभावकले अनलाइन शिक्षालाई कसरी हेरिरहेका छन् ? पढौँ, उनीहरूकै शब्द :

अनलाइन कक्षा प्रभावकारी भएन  

आस्था ठाकुर
विद्यार्थी, डीएभी सुशील केडिया विश्व भारती विद्यालय

म कक्षा ८ मा पढ्छु । पढ्ने बानी कायमै राख्न सञ्चालित अनलाइन कक्षामा सहभागी भएकी छु । स्वअध्ययन पनि गर्दै छु । दिदीकै पुस्तक प्रयोग गरेकी छु, त्यसैले पुस्तक खोज्ने झन्झट भएन । 

विद्यालयमा गएर पढेजस्तो अनलाइन कक्षा प्रभावकारी भएको छैन । बेलाबेलामा इन्टरनेट चल्दैन, सिक्न खोजिएका कुरा राम्रोसँग बुझिँदैन । दैनिक चार घण्टासम्म कम्प्युटरमा बस्दा आँखा दुख्ने समस्या देखिन थालेको छ ।

त्यस्तै, सबै साथी अनलाइन कक्षामा उपस्थित हुँदैनन् । तर, कक्षा नै नहुनुभन्दा  ठीकै भएको छ । केही साथीहरू गाउँ गएका छन् । उनीहरूसँग  इन्टरनेटको पहुँच  छैन । अनलाइन कक्षाले समयको सदुपयोग भइरहेको छ । अनलाइन कक्षाका केही नकारात्मक पाटा रहेछन् । जस्तो : आँखा पोल्ने र खुट्टा दुख्ने ।  

लकडाउको असर त छ, तर उच्च शिक्षाबारे अन्योल

निशान्त खड्का
विद्यार्थी, अक्षरिका स्कुल

म  एसइई दिने  तयारीमा थिएँ, लकडाउन भयो । तैपनि, म परीक्षाको तयारी गर्दै छु, तर लामो समयसम्म पढेका कुरा सम्झिन गाह्रो हुँदो रहेछ । विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिहेको छ । जसमा ६० प्रतिशत विद्यार्थी  उपस्थित हुन्छन् । इन्टरनेटको समस्या छ, यसैकारण सबै विद्यार्थी अनलाइन कक्षामा सहभागी भएनन् ।  

अनलाइन कक्षामा गृहकार्य दिइन्छ । दिनभर  पढाइमै व्यस्त भइन्छ । तर, मनमा डर छ, अन्योल छ,  कहिलेकाहीँ त पढ्नै मन लाग्दैन । सरकारले एसइई परीक्षाबारे केही निर्णय गरिदिए हुन्थ्यो ।

हल्ला सुनेको छु, परीक्षा जसरी पनि हुन्छ नै । विगत दुई महिनादेखि निरन्तर मिहिनेत गरिहेको छु । राम्रो अंक (जिपिए) ल्याउने इच्छा छ ।  हामीहरू एकआपसमा छलफल पनि गरिरहन्छौं । यसबाट  थप ऊर्जा मिलेको छ । लकडाउनले केही असर त पारेको छ, तर  उच्च शिक्षाबारे सोच्दा झन् चिन्ता लाग्छ ।  

विद्यालयको जस्तो वातावरण छैन

मोनिता पौडेल
विद्यार्थी, सेन्ट जेभिएर स्कुल 

कक्षा सातमा पढ्छु । लकडाउनमा विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको छ । तर, त्यसमा विद्यालयको जस्तो वातावरण नहुँदो रहेछ । राम्रोसँग बुझिँदैन, साथीभाइसँगै छलफल गरेर बुझ्नुपर्ने हुन्छ ।  यस्तो अवस्थामा अनलाइन कक्षा प्रभावकारी नहुन सक्छ ।

विद्यालयमा  विषयगत शिक्षकबाट पढ्न पाइन्थ्यो र रमाइलो लाग्थ्यो । तर, अनलाइनमा त्यस्तो अवसर पाइएको छैन र  झ्याउ लागेको छ । चार–पाँचवटा विषय मात्र पढाइ हुन्छ । करिब ९० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा सहभागी भएका छन् ।

ल्यापटपको स्क्रिननजिकै रहँदा  आँखामा समस्या हुने र टाढा रहँदा नबुझिँदो रहेछ । ढाड दुख्ने समस्या हुँदो रहेछ ।   यसरी लामो समयसम्म त पढ्न सकिँदैन जस्तो लाग्छ । विद्यालयको वातावरण प्रिय हुन्छ । सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्नुपर्छ । यसका लागि धेरै उपाय छन् ।  ९० प्रतिशत विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी हुने गरेका छन् ।

शैक्षिक सत्र सुरू नगर्दा आर्थिक भारको चपेटामा विद्यालय

होमनाथ आचार्य
प्रिन्सिपल, बूढानीलकण्ठ स्कुल

बूढानीलकण्ठ स्कुलका विद्यार्थी ७७ जिल्लामै छरिएर रहेका छन् । यहाँ करिब ११ सय ५० विद्यार्थी छन् । अहिलेको अवस्थामा पढ्ने बानी हराउँदै जाँदा विद्यार्थीमा मानसिक समस्या देखिने भएकाले अनलाइन कक्षा सञ्चालन गरिएको छ । यसका लागि विद्यालयका तर्फबाट अभिभावकलाई एक महिनाको डाटा प्याकेज उपलब्ध गराइएको छ । निजी विद्यालयको हकमा नयाँ शैक्षिक सत्र सुरू नगर्दा आर्थिक भारको चपेटा पर्न सक्छ । सामुदायिक विद्यालयमा सरकारले सबै खर्च बेहोर्ने हुँदा यस्तो समस्या नआउला ।

दैनिक पढ्ने बानी बसाल्न र ‘माइन्ड रिफ्रेस’ का लागि अनलाइन कक्षा सञ्चालन गरिएको हो । अनलाइन कक्षामा ९० प्रतिशत विद्यार्थी सहभागी हुने गरेका छन् । अभिभावकसँग पनि प्रतिक्रिया लिएर अघि बढेका छौं । व्यायाम तथा अन्य पाठ्यक्रम पढाएर भए पनि विद्यार्थीलाई संलग्न गराउँदै आएका  छौं । माइक्रोसफ्ट टिमबाट अनलाइन कक्षा सञ्चालन गरिएको छ । यसमा पुस्तक अपलोड तथा  गृहकार्य, अभ्यास आदि विद्यार्थीले अपलोड गर्ने सुविधा भएकाले मूल्यांकन गर्न र पठनपाठनमा झनै सजिलो भएको छ ।

सरकारले छिट्टै योजना सार्वजनिक गनुपर्छ

नातिकाजी  महर्जन
प्रिन्सिपल, ज्ञानोदय माध्यमिक विद्यालय 

देश नै लकडाउन भएको बेला विद्यार्थीहरू आ–आफ्नै घरमा छन् । यतिबेला विद्यालय र विद्यार्थी  अन्योलमा छन् । अनलाइन शिक्षाबारे सरकारले  प्रभावकारी कार्यक्रम ल्याउनुपर्छ । लकडाउन र सुरक्षालाई व्यवस्थित गर्दै शिक्षा क्षेत्र सञ्चालन गर्न  योजना बनाउनुपर्ने देखिएको छ ।

शिक्षा मन्त्रालय तथा शिक्षा विभागले अनलाइन शिक्षाको प्रस्ट खाकासहित कार्यक्रम सञ्चालन गर्न छिटोभन्दा छिटो निर्देशन दिनुपर्छ । अभिभावकसँग पनि समन्वय गर्दै अघि बढेका छौं । विद्यार्थी जहाँ छन्, त्यहाँ पढाउने व्यवस्था गरिनुपर्छ । विद्यालयले स्रोतसाधन तथा पुस्तक वितरण गर्नुपर्छ । अहिलेको अवस्थामा आर्थिक भारभन्दा  विद्यार्थीको संलग्नता र मनोबल बढाउने कार्य गर्नुपर्छ । शिक्षाको जिम्मेवार व्यक्ति र शिक्षाविद्ले बृहत् छलफल गरी योजनासहित अघि बढ्नुपर्छ ।  

टेलिभिजन, रेडियो र अनलाइनबाटै सिकाऔं

पूर्णचन्द्र अधिकारी
प्रिन्सिपल, माल्पी इन्टरनेसनल

लकडाउनमा अनलाइन कक्षा सञ्चालन गर्‍याे । तर,  अन्योल  छँदै छ । अहिले आत्तिनुपर्ने अवस्था त छैन, तर यसलाई कसरी अघि बढाउने भन्ने अन्योल हटाउन सरकार अग्रसर हुनुपर्छ ।

सबै ठाउँमा इन्टरनेटको पहुँच छैन । कति ठाउँमा  फोन सुविधासमेत छैन । कतिपय परिवारमा बिहान–बेलुकाको छाक टार्न समस्या छ । 

यस्तो अस्वथामा अनलाइन कक्षा सञ्चालन गर्न गारो हुन सक्छ । आन्तरिक मूल्यांकन गरेर कक्षा चढाउन सकिन्छ । सरकारले  टेलिभिजन तथा रेडियोबाट  केही विषय पढाएर सहयोग गर्दै आएको छ ।

यसलाई थप व्यवस्थित गर्नुपर्छ । अनलाइनमा पाठ्यक्रमहरू पनि उपलब्ध छन् । विद्यालयको मुख्य समस्या नै आर्थिक भार हो । विद्यालयले विद्यार्थीसँग शुल्क नलिई शिक्षक र घरवहाल तिर्न समस्या हुन्छ । सरकारले यसको विकल्प भने छिट्टै सोच्नुपर्ने देखिएको छ ।

पढ्ने बानी हरायो !

अनिता थापा, अभिभावक

दुईचार वटा विषय मात्र पढाइन्छ । तर, सबै विषयको ज्ञान जरुरी छ । अनलाइन कक्षालाई  व्यवस्थित गरेर सबै विषय पालैपालो पढाउँदा अलि राम्रो हुन्छ कि ? 

अनलाइन कक्षाले विद्यार्थीमा पढाइप्रति रुचि जगाएको छ । शिक्षा मन्त्रालयले यसबारे केही योजना चाँडै बनाउनुपर्छ ।  

विद्यालयमा विद्यार्थीहरू खेलकुद, व्यायाम, म्युजिक, डान्सलगायत क्रियाकलापले रिफ्रेस हुन्थे, अहिले त्यस्तो अवस्था छैन । विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको  छ, तर  पढ्न मान्दैनन् । पढ्ने बानी नै हराउने हो कि ?  

केही शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरेर विद्यार्थीलाई शैक्षिक गतिविधिमा सहभागी हुन प्रोत्साहन गर्दै आएका छन् । तर, अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार छैन् ।  

प्रकाशित: ५ जेष्ठ २०७७ १५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App