१६ चैत्र २०८० शुक्रबार
शिक्षा

शब्द भण्डार बढाउन संस्कृत फर्काइँदै

कोरोना महामारी समेतले संस्कृतमा रहेका प्राचीन सन्दर्भ तथा शब्दहरूको महत्व उजागर गरेको छ ।

थोरै शब्दको ज्ञानले धेरै शब्दहरू प्रयोग गर्ने क्षमता विकास गर्न आवश्यकता अनुभव गरी नेपाल सरकारले कक्षा एकदेखि संस्कृत विषय पठनपाठन गराउने निर्णय गरेको छ । माघ दुई गते बसेको राष्ट्र्यि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा एकदेखि संस्कृत विषय पठनपाठन गराउने निर्णय गरेको हो । 

अढाइ दशकअघि विद्यालय तहमा कक्षा चारदेखि अनिवार्य विषयको रूपमा पठनपाठन हुँदै आएको संस्कृत विषयलाई माओवादी द्वन्द्वकालमा विद्यालय तहबाटै संस्कृत विषय जबरजस्ती हटाउन लगाइएको थियो । कतिपय विद्यालयमा माओवादीको नेतृत्व तहमा भएका नेताहरूले नै विद्यालयमा तोडफोड गरेरै संस्कृत विषय हटाउन लगाएका थिए । 

तर हाल आएर कोरोना महामारी समेतले संस्कृतमा रहेका प्राचीन सन्दर्भ तथा शब्दहरूको महत्व उजागर गरेको छ । भाषाहरूको मूल भाषा र शब्दहरूको भण्डारण क्षमता वृद्धि गर्ने भएकाले चालु शैक्षिक सत्रदेखि नै विद्यालय तहको कक्षा एकदेखि नै स्थानीय विषयको रूपमा संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको केन्द्रका निर्देशक गणेश भट्टराईले बताए । 

पाठ्यक्रम विकास केन्द्रका निर्देशक भट्टराईका अनुसार संस्कृत विषयको हजार शब्द भएको नमुना पाठ्यक्रम र पाठ्यपुस्तक केन्द्रले तयार पारेको छ । कक्षा एकमा नेपालीअंग्रेजीगणित र हाम्रो सेरोफेरो अनिवार्य विषय हो भने स्थानीय विषय पाँचौंमा पर्छजसमा तीनवटा विकल्पहरू छन् । मातृभाषास्थानीय विषय वा संस्कृत । 

निर्देशक भट्टराईले केन्द्रमा लामो समयदेखि विद्यालयहरूले तीन विकल्पमध्ये सबैभन्दा बढी संस्कृत विषय नै पठनपाठनका लागि माग गरेको बताए । संस्कृत विषयको पाठ्यक्रम तयार पार्न विज्ञहरूको टोलीले तीन वर्ष अध्ययन गरेर पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको बताए । उनका अनुसार संस्कृत पाठ्यक्रममा समेटिएका शब्द तथा वाक्यहरू तीन भाषामा उल्लेख गरिएको छ । 

विद्यालय तहमा कक्षा एकदेखि संस्कृत विषय नेपालमा पहिलो पटक पठनपाठन हुन लागेको हो । विगतमा कक्षा चारदेखि मात्रै विद्यालयमा अनिवार्य विषयको रूपमा संस्कृत पठनपाठन हुने गरेको थियो । 

विद्यालय तहबाट संस्कृत विषयको माग आएपछि विज्ञहरूले तयार पारेको पाठ्यक्रम केन्द्रले परिषद्मा लगेको हो । मन्त्रीज्यूले पनि यो विषय आवश्यकताको अनुभव गरी पठनपाठनका लागि निर्णय गर्नुभयो,’ निर्देशक भट्टराईले नागरिकसँग भने, ‘केन्द्रले नमुना पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको छ । स्थानीय तहले आफैं बनाउँछु भन्दा पनि केन्द्रले प्रिन्ट–रेडी कपि दिन्छ । आफैं स्थानीयतामा आधारित भएर बनाए पनि हुन्छ । संस्कृत विषय विद्यार्थीहरूले स्थानीय विषयको रूपमा बढ्ने हो ।’

शब्द भण्डारण क्षमता वृद्धि गर्ने र नैतिकताको पाठसमेत संस्कृत विषयमा सिकाइने भएकाले हालको समयमा यो विषयको विश्वमै माग रहेको छ । हाल ४० देशमा दुई सय ५४ विश्वविद्यालयहरूमा संस्कृत विषय प्राथमिकतासाथ पठनपाठन गराइन्छ । निर्देशक भट्टराईका अनुसार हाल कक्षा एकदेखि लागु गरिएको र पछि माथिल्लो कक्षासम्म पाठ्यक्रम बनाउँदै जाने केन्द्रको तयारी छ ।

अनिवार्य भाषासँगै संस्कृत सिकाइ सहज हुने भएकाले पाठ्यक्रम विकास केन्द्रले तीन भाषामा शब्दहरू पाठ्यक्रममा राखेको केन्द्रका संस्कृत भाषा विभागका अधिकृत पुरुषोत्तम घिमिरेले बताए । उनले संस्कृत विषय सानै उमेरदेखि अध्ययन गर्दा बालबालिकाको बौद्धिक क्षमतासमेत वृद्धि हुने भएकाले यसको आवश्यकता अनुभव गरिएको जनाए । केन्द्रमा हाल निजी र सामुदायिक विद्यालयहरूले आधारभूत तहका लागि संस्कृत विषय पठनपाठनको माग गरेको उनको भनाइ छ । 

हाल संस्कृत पाठशालाहरूमा समेत कक्षा चारदेखि मात्र संस्कृत विषयको पठनपाठन हुने गरेको छ । ‘कक्षा एकदेखि तीनसम्म हाल साधारण शिक्षा नै पढ्नुपर्छ वेद–विद्यालगायत संस्कृत पाठशालामा अध्ययन गर्न कक्षा चारदेखि मात्र हो,’ अधिकृत घिमिरेले भने, ‘विश्वका संस्कृत पढाइने देशहरूमा संस्कृत पठनपाठनले सिकाइ उपलब्धि राम्रो देखिएको छ । थोरै शब्द सिकेर धेरै शब्दहरूको प्रयोग गर्न सकिनेप्राचीन विज्ञान र चिकित्सा विज्ञानसँग समेत संस्कृत जोडिएकाले यसको महत्व विशेष छ ।’

वाल्मीकि विद्यापिठका पूर्वप्रध्यापक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य दिनेशराज पन्तले विद्यालयहरूमा राम्रो तरिकाले बालबालिकालाई अनिवार्य रूपमा पठनपाठन गराउँदै आएको संस्कृत विषयलाई पूर्वमाओवादीहरूले २०५२/०५३ सालतिर लखेटे पनि हाल त्यसको आवश्यकता अनुभव गरी पुनः विद्यालय शिक्षामा पठनपाठनको निर्णय सकारात्मक पहल रहेको बताए ।

पूर्वमाओवादी पार्टीकै नेता एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संस्कृत विषयको महत्वलाई बुझेरै पठनपाठनको निर्णय गर्नु सकारात्मक कदम भएको संस्कृतविज्ञ पन्तको ठहर छ । विज्ञ पन्तको घर–परिवारबीच संस्कृत भाषा नै बोलीचाली गरिने समेत उनले जनाए । उनका अनुसार बालबालिकाको दिमागको विकासमा संस्कृत विषयको महत्वपूर्ण भूमिका रहेको छ । 

हाल कोरोनाको उपचारमा समेत हाम्रो परम्परागत संस्कृत विषयसँग जोडिएका प्राचीन विधियोगधर्म–संस्कृति नै औषधिका रूपमा प्रयोग भइरहेको छ,’ उनले भने ‘संस्कृत विषयमा पनि हामी यही नै अध्ययन गर्छौं । बिहानै नुहाइधुवाइपूजापाठ सरसफाइनमस्कारलगायत पूर्वीय संस्कार सिकाइन्छ ,’  उनले थपे ‘नेपाली जीवन पद्धतिलाई राम्ररी बुझ्न र बुझाउन संस्कृत विषयको आवश्यकता परेको हो ।’

प्रकाशित: २ जेष्ठ २०७७ २२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App