२८ असार २०७७ आइतबार
शिक्षा

फेसबुकको रिजल्टले कमजोर विद्यार्थीको बेइज्जत : अभिभावक (अपडेट)

भक्तपुर – अभिभावक संघ नेपाल जिल्ला कार्यसमिति भक्तपुरले फेसबुकमा रिजल्ट गर्दा कम ग्रेड पाएका विद्यार्थीहरूको बेइज्जत भई निराश हुने भएको अभिभावकहरूको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरी यसबारे सम्बन्धित विद्यालय र नगरपालिकालाई गुनासो गर्दा सुनुवाइ नभएकाले केन्द्रीय सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।  

अहिले भक्तपुरलगायत विभिन्न स्थानमा अनलाइन कक्षा सञ्चालन गरेको र यसले गर्दा इन्टरनेटको पहुँच बाहिरका बालबालिकालाई सिक्ने मौकाबाट वञ्चित हुने गरेको संघको विज्ञप्तिमा उल्लेख छ। यस विषयमा सरकारले समेत नगर्नु भनी निर्देशन हुँदाहुँदै विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेको भनी अभिभावकहरूको गुनासोबारे संघको धारणा प्रकाशित गरेको जनाएको छ।

‘शिक्षण सिकाइका लागि अनलाइन विधि पनि एउटा उपाय हो तर हाम्रो जस्तो मुलुकको सामाजिक आर्थिक अवस्था र इन्टरनेटको पहुँच सुविधा तथा मोबाइल, ल्यापटप, आइपड आदि उपकरणहरूको सम्पूर्ण विद्यार्थीहरूमा उपलब्धता नहुनु, प्रायः अभिभावकमा खरिद गर्न सक्ने क्षमता नहुनु र राज्यले प्रदान गर्नसक्ने अवस्था नदेखिनु तथा अन्य पूर्वतयारी नभएको विद्यमान अवस्थामा यो विधि सम्पूर्ण विद्यार्थीमा लागू गर्न सकिने देखिँदैन,’ विज्ञप्तिमा उल्लेख छ। त्यसो भनेर कुनै पनि वैकल्पिक व्यवस्था गर्न नसक्नु राज्यको कमजोरी हुने र विद्यार्थीहरूप्रति अन्याय पनि हुने जनाउँदै संघले केही सुझाव प्रस्तुत गरेको छ।  

गत शैक्षिक सत्रका हकमा राज्यले विद्यालय तहको शिक्षामा कक्षा ७ सम्म उदार कक्षोन्नति साथै एसइईलगायत अन्य कक्षामा अंकीय प्रणाली खारेज गरेर क्रमशः ग्रेडिङ प्रणाली लागू गर्दै गरेको अवस्थामा र कक्षा १२ सम्मको तहको एक वर्षे पठनपाठन करिब सकिएको र त्यस्ता विद्यार्थीको शिक्षण सिकाइका आधारमा आन्तरिक मूल्याकंन भएकै हुनुपर्छ भन्ने सिद्धान्तमा हाललाई ‘जसले पढाउँछ उसैले मूल्यांकन गर्छ’ भन्ने नीति अवलम्बन गरेर उनीहरूको नतिजा कक्षा १० र १२ का विद्यार्थीहरूलाई समेत हुने गरेर आन्तरिक मूल्यांकनलाई मानेर सम्बन्धित निकायले प्रमाणीकरण गरिदिन सुझाएको छ।  

राष्ट्रिय वा स्थानीय टेलिभिजन, स्थानीय एफएमहरूसँग सहकार्य गर्दै टेलिभिजन वा एफएम रेडियोहरूका माध्यमबाट भए पनि विद्याथीहरुलाई पठनपाठन गराउँदा विद्यार्थीहरुले केही सिक्न पाउने र पढाइतर्फ रुचि बढ्ने हुँदा तत्कालीन समस्या हल हुने सुझाव राखेको छ। यसबारे शिक्षा मन्त्रालयले शिक्षक, अभिभावक, शिक्षाका विज्ञहरू निजी विद्यालयका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि तथा अन्य आवश्यक व्यक्तिसहित तत्काल छलफल गरेर साझा न्यूनतम सहमति कायम गरेर कार्यान्वयन गर्नुपर्ने संघका सचिव रामकृष्ण प्रजापतिद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ।  

 

 

 

 

प्रकाशित: ३० वैशाख २०७७ १९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App