७ वैशाख २०८१ शुक्रबार
शिक्षा

अनलाइन कक्षाका लागि विद्यार्थीलाई डाटा उपलब्ध गराउन टेलिकम सकारात्मक

काठमाडौ- कोरोना भाइरासको जोखिमबाट बच्न सरकारले बैशाख १५ गतेदेखि लागु हुने गरी थप १० दिन लकडाउन लम्ब्याएको छ।  लकडाउनको मारमा शिक्षा क्षेत्र ज्यादै नराम्रोसँग प्रभावित बनेको छ।  एकातिर कक्षा १०, ११ र १२ को परीक्षा कहिले हुने टुंगो छैन भने अर्को तर्फ बैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्र पनि ६ महिना पछाडि धकेलिने संकेत देखिएको छ।  

विद्यालय शिक्षाको शैक्षिक सत्र पछाडि परेसँगै विश्वविद्यालयहरुको समग्र शैक्षिक सत्र पनि ६ महिना ढिला हुने देखिएको छ।  शैक्षिक सत्र खेर जान नदिन विश्वविद्यालयहरु विद्यार्थीहरुसँग छलफल  गरी सबै तहमा अनलाईन कक्षा संचालन गर्ने तयारीमा जुटेका छन्।  जसको लागि मुख्य आधार इन्टरनेट हो।  त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगाएत अन्य विश्वविद्यालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त पहलमा नेपाल टेलिकमले विद्यार्थीहरुलाई डाटा निःशुकल्क तथा कम शुल्कमा वितरणको तयारी गरीरहेको छ।  

नेपाल टेलिकमका एमडी डिल्ली अधिकारीले टेलिकममा नेपालमा अनलाइन शिक्षाकोलागि डाटा उपलब्ध गराउने मागनै पहिलो पटक आएको बताए।  उनले यस विषयमा टेलिकममले अध्ययन समेत सुरु गरिसकेको जनाए।  एमडी अधिकारीका अनुसार हाल टेलिकमले कुल विश्वविद्यालय र स्कुल तह दुबै गरी विद्यार्थी सँख्या कति , नेटवकर्टको अवस्था, स्रोत ब्यवस्थावन तथा निःशुल्क र सस्तोमा डाटा उपलब्ध गराउँदा त्यसबाट पर्न सक्ने नेटवर्क अवरुद्धताबारे अध्ययन गरिरहेको छ।  

‘टेलिकममा शैक्षिक क्षेत्रकोलागि डाटा सस्तोमा र निःशुलक उपलब्ध गराउनेबारे माग आएपछि टेलिकमले नेटको क्षमता र निःशुल्क उपलब्ध गराउँदा पर्न सक्ने नेटवर्कमाथिको चापबारे अध्ययन अघि बढाइसकेको छ,’ एमडी अधिकारीले नागरिकसँग भने ‘नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लाहरुमा पुगिसकेको छ।  केहि उच्च पहाडि र केहि हिमाली जिल्लामा मात्र काम गर्न बाँकी छ।  त्यो पनि पुरा भइसक्थ्यो तर चैत्रदेखि लकडाउन भएसँगै काम रोकिएको छ। ’ उनले थपै ‘फाइबार सेवा भएको ठाउँमा कुनै समस्या छैन।  तर मोवाइल डाटामा मात्र भर पर्ने ठाउँहरुमा केहि समस्या आउन सक्छ।  विश्वमा धेरै ठाउँहरुमा अनलाइन शिक्षा छ।  हामी कहाँ अहिले राम्रो अवसर छ।  त्यही भएर टेलिकमले पनि सेवा दिन पाउँदा सकरात्मक सोचका साथ काम अघि बढाएको  छ।  ’ निर्णय छिट्टै हुने उनले जानकारी दिए।  

सोमबारै त्रिभुवन विश्वविद्यालय र संयुक्त विद्यार्थी संगठनहरुबीच उच्च शिक्षामा अध्ययनरत सबै विद्यार्थीको अनलाइनमा शिक्षामा  पहुँच पुर्याउनेबारे भर्चुअल छलफल सम्पन्न भएको छ।  त्रिविले अनलाइन कक्षा संचालन गर्न सबै कलेजहरुलाई विद्यार्थीको ट्रेसिङ गर्न निर्देशन दिइसकेको त्रिविका रजिष्ट्रार पेशल दहालले बताए।  उनले त्रिवि उपकुलपति कार्यालयले होस्ट गरेको जुम एप्सको प्रयोगबाट सबै विद्यार्थी संगठन र त्रिविका विभागिय प्रमुखहरुसँग छलफल सम्पन्न गरेको जनाए।  उनले लकडाउनको समयअवधि लम्बिदै जाने हो भने विश्वविद्यालयको शैक्षिक सत्र ६ महिना ढिला हुने अवगत गराए।  उनले विद्यार्थीको शैक्षिक सत्र खेर जाननदिन पनि हालको अवस्थामा अनलाईन कक्षा सुरु गर्न अति आवश्यक परेको बताए।  ‘कोरोना संक्रमणका कारण कक्षाहरु असार साउनसम्म पूर्ण अवरोधनै रहन्छ।  खुले पनि केहि निश्चित ठाउहरु मात्र राज्यले खोल्न सक्छ ,’ रजिष्ट्रार दहालले भने ‘शैक्षिक सत्र पुर्ण रुपमा खुल्न दशैं पछि मात्र हुने देखिन्छ।  यसले गर्दा शैक्षिक सत्र ६ महिना खेर जान नदिन त्रिविले अनलाइन लेक्चर कक्षा संचालन गर्न लागिपरेको हो। ’ उनले थपे ‘हालको अवस्थामा सबैसँग उच्च शिक्षा हासिल गर्ने विद्यार्थीसँग स्मार्ट मोवाइल फोन हुन्छनै।  त्यही भएर त्रिवविले आफना कलेजहरुलाई विद्यार्थीको अवस्था एक साताभित्र संकलन गर्न निर्देशन दिएको छ।’ सकेसम्म ६० प्रतिशत भन्दा बढी विद्यार्थीलाई अनलाइन कक्षामा सहभागिता गराउने त्रिविको लक्ष्य छ।  

उता विद्यार्थी संगठनहरुले सोमबारको भर्चुअल छलफलमा मुख्य रुपमा सबै विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा कसरी पुर्याउने, गुणस्तर कसरी कायम गर्ने र राहतमा केन्दित भएरै छलफल अघि बढाएका थिए।  अनेरास्ववीयुका अध्यक्ष एन महरले अनलाइन शिक्षा आजको आवश्यक्ता भएकोले हालको समय अवसर समेत भएको बताए। उनले अनलाइन शिक्षा सबै विद्यार्थीको पहुँचमा सहज होस भन्ने उदेश्यसाथ आफुहरु नेपाल टेलिकमसँग निःशुल्क तथा सहुलियतमा डाटा उपलब्ध गराइदिन माग गरेको जनाए।

‘दुरदराजका विद्यार्थीकालागि वाइफाइ हाललाइ संभाव नभएकोले मोवाइल डाटा महँगो हुन्छ।  त्यही भएर त्यस्ता विद्यार्थीलाई छुट दिन हामीले टेलिकमसँग माग राखेका छौं,’ अध्यक्ष महरले भने ‘आजको शिक्षाको मागनै डिजिटल शिक्षा भएकोले यो समय हामी विद्यार्थीकोलागि उपयुक्त पनि हो।  त्यही भएर त्रिविले परिपक्तासाथ तयारी गरि अघि बढन्नु  पर्ने हाम्रो आग्रह हो।’

प्रकाशित: १८ वैशाख २०७७ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App