४ वैशाख २०८१ मंगलबार
शिक्षा

परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन

काठमाडौं – यस वर्षको एसइई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने भएको छ। चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन्। उनीहरुका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा एसइई परीक्षाका केन्द्राध्यक्षलाई सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न परीक्षा केन्द्रमा आउने परीक्षार्र्थीलाई कसैले पनि नछुन निर्देशन दिइएको छ। परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर वा सेनिटाइजर प्रयोग गर्न लगाउन पनि केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ। अभिमुखीकरणमा सहभागिता जनाएका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष हेरम्बराज कँडेलले एसइई परीक्षामा कोरोना जोखिमबाट बच्च उच्च सतर्कता अपनाउन सरकारले निर्देशन दिएको बताए।

विगतमा केन्द्राध्यक्षहरुलाई एकै ठाउँमा राखेर अभिमुखीकरण तालिम दिने गरिएकोमा यसपटक भने कोरोना संक्रमणलाई ध्यानमा राखेर चार समूहमा विभाजन गरिएको थियो।

‘सरकारले निर्देशन गरेअनुसार परीक्षार्थीलाई परबाटै प्रवेशपत्र हेरेर परीक्षा हलमा प्रवेश गराइनेछ,’ कँडेलले भने, ‘निगरानीका क्रममा विद्यार्थीको शरीरमा छुन पाइनेछैन। परबाटै निगरानी राख्ने व्यवस्था गरिनेछ।’ परीक्षा हलभित्र विद्यार्थीलाई एक मिटरको दूरीमा मात्र बस्ने व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए। उनका अनुसार ५ फिटको बेन्चमा दुई र तीन फिटको बेन्चमा एकजना परीक्षार्थीमात्र बस्ने व्यवस्था गर्न सरकारले निर्देशन दिएको छ। यो अभिमुखीकरण तालिम देशभरिकै केन्द्राध्यक्षलाई दिइएको छ।

४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुन लागेको यसपटकको एसइई परीक्षामा कोरोना संक्रमणको सम्भावनालाई ध्यान दिई परीक्षार्थीबीच एक मिटरको दूरी कायम हनेगरी सिट व्यवस्थापन गर्न सरकारले निर्देशन दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै सरकारले परीक्षा केन्द्र व्यवस्थापन गरेको जानकारी दिए। परीक्षार्थीलाई त्रासरहित वातावरणमा परीक्षा सञ्चालन गर्न सरकारले सबै तयारी पूरा गरेको उनले दाबी गरे। ‘नेपालमा हालसम्म कोरोनाका बिरामी फेला नपरेकाले सरकारले पूर्वनिर्धारित समय र तालिकामै परीक्षा सञ्चालन गर्नेछ’, शर्माले भने, ‘बालबालिकाको स्वास्थ्य सुरक्षाबारे सरकारले यस वर्ष निकै सतर्कता अपनाएको छ। स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारसँग समन्वय गरी हरेक परीक्षा केन्द्रमा हेल्थ डेस्क र एम्बुलेन्सको व्यवस्था गरिएको छ। विद्यार्थीले ढुुक्क भएर परीक्षाको तयारी गर्दा हुन्छ।’

परीक्षा केन्द्रमा कुनै परीक्षार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेको फेला परेमा स्वास्थ्य परीक्षण गरी छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।

उनले प्रश्नपत्रको गोपनीयता र सुरक्षा कायम गर्न टिनको बाकसमा चाबी लगाएर प्रहरी चौकीमा सुरक्षाघेरामा राखिएको जानकारी दिए। उनले थपे, ‘परीक्षालाई मर्यादित बनाउन स्थानीय सरकार र केन्द्र सरकारका प्रतिनिधिसहितको अनुगमन टोलिले अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।’

परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षा केन्द्रमा असम्बन्धित व्यक्तिलाई भिडभाड गर्न बन्देज लगाएको बताए। उनका अनुसार एउटा परीक्षा केन्द्रमा बढीमा तीन सय र एउटा कक्षाकोठामा २०–३० परीक्षार्थी राख्ने व्यवस्था गरिएको छ। कसैले परीक्षाको मर्यादा भंग गर्ने वा बिथोल्ने काम गरे कानुनअनुसार ६ महिना कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने उनले बताए।

प्रकाशित: ४ चैत्र २०७६ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App