१६ चैत्र २०८० शुक्रबार
शिक्षा

चिकित्सकको खबरदारी धर्ना

धरान – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ४३औं सिनेट बैठक नजिकिँदै गर्दा यहाँका फ्याकल्टी चिकित्सकहरूले विभिन्न माग राखेर दबाबमूलक खबरदारी धर्ना सुरु गरेका छन्। चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले उपचार सेवामा असर नपर्नेगरी मंगलबारदेखि हरेक बिहान एक घन्टा खबरदारी धर्ना सुरु गरेको हो।

फ्याकल्टी चिकित्सकहरूले प्रतिष्ठानको उपकुलपति कार्यालयअघि बिहान ९ देखि १० बजेसम्म धर्ना दिने गरेका छन्। सिनेट बैठक नसकेसम्म त्यो क्रम जारी रहने र आफूहरूको मागबारे ठोस निर्णय नभए पुनः बैठक बसेर आगामी कदमबारे निर्णय लिने समाजका अध्यक्ष डा. विष्णु पोखरेलले जानकारी दिए। ‘हाम्रो माग फ्याकल्टीसँग सम्बन्धित मात्र छैन, प्रतिष्ठानको समग्र हितमा आधारित छ,’ उनले भने,‘सरकार प्रतिष्ठानप्रति गम्भीर देखिएको छैन, हामी ध्यानाकर्षण गराउन चाहन्छौं।’

प्रतिष्ठानको सिनेट बैठक पुस २५ गते राजधानीमा हुँदैछ। यसअघि कात्तिक २२ गते बोलाइएको सिनेट बैठक तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अघिल्लो दिन अचानक स्थगित गरिदिएका थिए। प्रतिष्ठानको महत्वपूर्ण दुई पदाधिकारी उपकुलपति र रजिस्ट्रार नभएका बेला यो सिनेट बैठक हुन लागेको छ। उपकुलपति भ्रष्टाचार मुद्दामा निलम्बित भएका हुन् भने रजिस्ट्रारको पदावधि सकिएपछि झन्डै ६ महिनादेखि पद रिक्त छ। अहिले कायममुकायम उपकुलपति र रजिस्ट्रारको पनि जिम्मेवारी प्रतिष्ठानका रेक्टर डा. गुरूप्रसाद खनालले सम्हाल्दै आइरहेका छन्। शिक्षक कल्याण समाजले रिक्त रहेको पदाधिकारीहरूको नियुक्ति चाँडो गर्न माग गरेको छ। ‘पदाधिकारीहरू नहुँदा व्यवस्थापनमा समस्या त हुन्छ नै। सरकारले चाँडो रिक्त रहेको पदमा नियुक्ति गर्नुपर्छ भन्ने माग हो,’ अध्यक्ष पोखरेलले भने।

फ्याकल्टीहरूले सरकारले वृद्धि गरेअनुसार कम्तीमा १८ प्रतिशत तलब अनिवार्य रूपमा वृद्धि गर्न पनि माग गरेको छ। साथै आगामी वर्षहरूमा पनि सरकारले बढाएअनुरूप नै तलब वृद्धि हुने व्यवस्था गर्न पनि समाजले माग गरेको छ। यसको दीर्घकालीन र स्थायी समाधान नखोजिँदा नै फ्याकल्टीहरू पलायन हुनुको प्रमुख कारण बनेको शिक्षक कल्याण समाजको दाबी छ। प्रतिष्ठानमा दक्ष जनशक्ति हुँदाहुँदै पनि नियमित हुने बढुवा प्रक्रिया लामो समयदेखि रोकेर नेपाल मेडिकल काउन्सिलको मापदण्डअनुसारको फ्याकल्टी संख्यामा कमी भएको भन्दै समाजले नियमित बढुवा तत्काल गर्न पनि माग गरेको छ। समयमा नै यो सुधार नगर्ने हो भने काउन्सिलले दिएका सिटहरू अवैधानिक वा अयोग्य रहने खतरा बढेको पनि समाजका अध्यक्ष पोखरेलले बताए।

यसैगरी समाजले स्वच्छ पिउने पानीको व्यवस्था गर्न, फोहोरमैलाको उचित व्यवस्थापन गर्न, प्रतिष्ठानको खस्कँदै गएको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न पनि माग गरेको छ। साथै सिनेट वा कार्यकारिणी समितिमा फ्याकल्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरू समाजबाट सिफारिस हुने व्यवस्था गर्न पनि समाजले माग गरेको छ। प्रतिष्ठानका कायममुकायम उपकुलपति डा. गुरु खनालले फ्याकल्टीहरूको माग स्वाभाविक भएको प्रतिक्रिया दिँदै सरकारसम्म पु-याएको बताए। ‘सिनेटमा पनि प्रतिनिधि बोलाउँछु,’ कायममुकायम उपकुलपति डा. खनालले भने, ‘तलब वृद्धिबारे पनि प्रतिष्ठानले गर्न सक्ने र धान्न सक्नेसम्म गर्छ।’

प्रकाशित: २४ पुस २०७६ ०३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App