११ आश्विन २०७७ आइतबार
शिक्षा

चार वर्षदेखि दीक्षान्त रोकिँदा विद्यार्थी समस्यामा

बिपी प्रतिष्ठानको डिनको कार्यालय एवं शैक्षिक प्रशासन भवन। तस्बिर : रोहित/नागरिक

धरान – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दीक्षान्त समारोह चार वर्षयता हुन सकेको छैन। जसका कारण सन् २०१६ यता उत्तर्ण विद्यार्थीले दीक्षित हुन पाएका छैनन्। उनीहरूले प्रतिष्ठानबाट प्रमाणपत्र नपाउँदा थप उच्च शिक्षासँगै सरकारी जागिरका लागि भिड्न थुप्रै समस्या भोग्नु परिरहेको छ। पास भएका विद्यार्थीलाई प्रतिष्ठानको शैक्षिक प्रशासनले प्रोभिजनल सर्टिफिकेट र ‘विद्यार्थी पास भएको तर विविध कारणले सन् २०१६ देखि दीक्षान्त भएको छैन’ भन्ने व्यहोराको पत्र दिएर पठाउने गरेको छ। प्रमाणपत्र नपाए पनि विद्यार्थीले त्यही पत्रको भरमा उच्च शिक्षा र जागिरका लागि प्रक्रिया पु¥याउने गरेका छन्।

विशेषगरी उच्च शिक्षाका लागि युरोप, अमेरिका, भारतलगायत विभिन्न देशतर्फ जान चाहने विद्यार्थीलाई प्रमाणपत्र नहुँदा समस्या भइरहेको विद्यार्थीहरू बताउँछन्। केही विद्यार्थीले सामाजिक सञ्जालमा आफ्नो समस्या पोस्ट गरे पनि अधिकतर विद्यार्थी मिडियासँग आफ्नो समस्या पोख्न पनि डराउँछन्। ‘यहाँबाट लैजाने पत्र काम चलाउ मात्र हो, हामीलाई सर्टिफिकेट नै चाहिन्छ तर कहिले पाउने पत्तो छैन,’ दीक्षान्त नभएको व्यहोराको पत्र लिन आएकी एक छात्राले भनिन्, ‘म युएसमा पोस्ट ग्राजुएटका लागि प्रवेश परीक्षा दिन लागेकी छु तर सर्टिफिकेट नै नभएर लेटर लिन आएकी हुँ।’

प्रतिष्ठानबाट हरेक वर्ष युजी (अन्डर ग्राजुएट) र पिजी (पोस्ट ग्राजुएट) गरी सरदर तीन सय ५० को हाराहारीमा विद्यार्थी पास आउट हुने गरेका छन्। सन् २०१६ यता पासआउट हुने विद्यार्थीको संख्या हजारभन्दा बढी छ। दीक्षान्त रोकिएर प्रमाणपत्र पाउन नसकेपछि अहिले प्रतिष्ठानको शैक्षिक प्रशासनमा पत्र लिने आउनेको संख्या बढिरहेको छ। ‘दीक्षान्त नहुँदा विद्यार्थीलाई धेरै समस्या छ। दिनहुँ विद्यार्थी आउँछन्। हामी पत्र दिएर पठाइरहेका छौं,’ शैक्षिक प्रशासनका प्रशासकीय सहायक गौरव सञ्जेलले भने, ‘हामीले दिएको पत्रको मान्यता पनि कुनै देशमा दुई वर्ष त कुनै देशमा तीन वर्षसम्म मात्र हुन्छ।’

विद्यार्थीले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट मात्र पाइरहेका छन्। सर्टिफिकेट आवश्यक पर्ने ठाउँमा उनीहरूले प्रतिष्ठानले दीक्षान्त नभएको भन्ने पत्र बुझाइरहेका छन्। तर यो पत्रलाई अमेरिका र अस्ट्रेलियाले दुई वर्षसम्म मान्यता दिएको छ भने भारतले तीन वर्षसम्मलाई मान्यता दिएको छ। बेलायतले यो पत्रलाई मान्यता नदिँदा त्यहाँ पढ्न चाहने विद्यार्थी निरास छन्। ‘भारतमा तीन वर्षसम्म मान्यता पाएकाले पढ्न र काम गर्न मिल्यो। तर चौथो वर्ष लागेपछि अब ठूलो समस्या हुँदैछ,’ प्रशासकीय सहायक सञ्जेलले भने। गत वर्ष अमेरिकामा अध्ययनरत विद्यार्थीलाई यस्तै समस्या आइलागेको थियो। विद्यार्थीहरू घर फर्कनुपर्ने अवस्था सिर्जना भएपछि वैकल्पिक व्यवस्था गरेर झन्डै एक दर्जन विद्यार्थीलाई प्रमाणपत्र दिइएको थियो।

दीक्षान्त नहुनुको कारण
दीक्षान्त हुन प्रतिष्ठानको कार्यकारिणी समितिले ग्रेस लिस्ट अनुमोदन गरेर उपाधि पाउने विद्यार्थीको नामावली सिनेट बैठकमा पेस गर्नुपर्छ। बैठकले स्वीकृत गरेपछि मात्र दीक्षान्त कार्यक्रम हुन्छ। प्रतिष्ठानमा हरेक वर्ष सरस्वती पूजाको दिन दीक्षान्त हुने गथ्र्यो। पछिल्ला वर्षमा प्रतिष्ठान निकै अस्थिरताबाट गुज्रिरहेको छ। पदाधिकारीबीचको बेमेलले सिनेट बैठक मात्र होइन, कार्यकारिणी समिति बैठक बस्न पनि मुस्किल पर्ने गरेको छ। पदाधिकारीहरूको द्वन्द्वले विद्यार्थीको समस्या ओझेलमा त प¥यो नै, सरकार परिवर्तनसँगै प्रतिष्ठानका कुलपति (प्रधानमन्त्री) र सहकुलपति (स्वास्थ्यमन्त्री) फेरिँदा पनि यस्ता मुद्दा प्रभावित हुन पुगे। प्रतिष्ठानका कुलपति प्रधानमन्त्री हुने भएकाले दीक्षान्तमा प्रधानमन्त्रीले पनि समय मिलाउनुपर्ने हुन्छ। गत महिना तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अघिल्लो दिन अचानक सिनेट बैठक स्थगित गरिदिएका थिए। अहिले नयाँ स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नियुक्त भएका छन्।

यसअघि पनि चार वर्ष दीक्षान्त रोकिँदा वैकल्पिक व्यवस्था गरेर विद्यार्थीलाई प्रमाणपत्र दिइएको थियो। शैक्षिक प्रशासनका अनुसार पछि सिनेट बैठकबाट अनुमोदन हुने गरी कार्यकारिणी समितिले निर्णय गरेर प्रमाणपत्र वितरण गरिएको थियो। अहिले पनि प्रतिष्ठानको कार्यकारिणी समितिले सोही प्रकृतिको निर्णय गरिसकेको छ। त्यसैले दीक्षान्त कार्यक्रम गर्न अब सिनेट बैठक पर्खनु पर्दैन। तापनि अर्को प्राविधिक समस्या आइलागेको छ। दीक्षित हुने विद्यार्थीको प्रमाणपत्रमा प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षको हस्ताक्षर हुनेगर्छ। अहिले प्रतिष्ठानमा दुवै पदमा एकै व्यक्ति छन्। प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेपछि निलम्बनमा छन्। सरकारले शिक्षाध्यक्ष डा. गुरु खनाललाई नै कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएको छ। ‘प्रमाणपत्रमा भिसी र रेक्टरको सही गरेर दिनुपर्छ, दुवै पदमा एकै व्यक्ति हुनुहुन्छ। उहाँले दुवैमा सही गर्न मिल्छ कि मिल्दैन, त्यो उहाँको कुरा हो,’ प्रतिष्ठानका एकेडेमिक डिन डा. सिबी झाले भने, ‘हामीले लिखित रूपमै टिप्पणी उठाएर फाइल पठाइसकेका छौं, एकपटक उहाँलाई नै सम्पर्क गर्नुहोला।’

प्रतिष्ठानका कार्यवाहक उपकुलपतिसमेत रहेका रेक्टर डा. गुरु खनालले आफू भर्खर मात्र जिम्मेवारी पाएकाले सुधार गर्न र समस्यालाई क्रमशः हल गर्न लागिपरेको बताए। उनले यही पुस २५ गतेका लागि सिनेट बैठक तय गरिसकेको जानकारी दिँदै आगामी फागुनमा दीक्षान्त हुने सम्भावना रहेको पनि बताए। साथै उनले प्रमाणपत्रमा रेक्टरको हस्ताक्षर गर्ने प्रयोजनका लागि डिनलाई निमित्त रेक्टरको जिम्मेवारी दिइने पनि जानकारी दिए। ‘म भर्खर कार्यवाहक उपकुलपति भएको हुँ, प्रतिष्ठानमा विस्तारै सुधार हुँदै छ,’ कार्यवाहक उपकुलपति डा. खनालले भने, ‘सिनेट पनि हुँदै छ र फागुनमा दीक्षान्त पनि गर्छौं। डिनलाई प्रमाणपत्रमा हस्ताक्षर गर्ने अधिकार दिन्छौं।’

प्रकाशित: ३ पुस २०७६ ०९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App