७ वैशाख २०८१ शुक्रबार
शिक्षा

पढाइपछि तुरुन्तै जागिर

कक्षा १२ को नतिजा प्रकाशित भइसक्यो । अब के पढ्ने भन्ने सबैले आ–आफ्नो तरिकाको सुझाव दिइरहेका छन् तर नेपालमा विद्यमान बेरोजगारीको स्थिति विचार गरेर होटल म्यानेजमेन्ट पढ्ने सोच बनाएको नेपालगन्जका सुभम शाह बताउँछन् ।

‘बाहिर राम्रो अवसर भएको र नेपालमै भए पनि पढाइ सकिनेबित्तिकै जागिर पाइन्छ,’ शाहले भने, ‘अहिलेको अवस्थामा पैसा कमाउन सकिनेतिर तथा प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढी छ ।’

‘बेरोजगारी बढिरहेको बेला डिग्री सकिएपछि नै रोजगारी पाउने अवसर छ,’ आयाम कलेजका अध्यक्ष कृष्णचन्द्र झाले भने, ‘यसमा दुईवटा अवसर साथसाथै छ काम गर्ने वा आफ्नै व्यवसाय गर्ने भन्ने । आफ्नो पुँजीअनुसारको लगानी गरेर व्यवसाय सञ्चालन गर्न पनि सकियो र होटलमा काम पनि गर्न सकिन्छ ।’ 

होटल म्यानेजमेन्टमा दुइटा अवसर साथसाथै छ काम गर्ने वा आफ्नै व्यवसाय गर्ने ।

विदेश गएर पढ्ने मोह सँगसँगै काम गर्दै पढ्न मिल्ने र आफैं होटल सञ्चालन गरेर राम्रो कमाइ गर्न सकिने भएकाले पछिल्लो समय धेरैजसो विद्यार्थीको रोजाइमा परेको हो, होटल म्यानेजमेन्ट (बिएचएम) । होटलमा काम गर्ने जनशक्ति नभएर ठूला–ठूला होटल तथा रेस्टुरेन्टमा भारतबाट कामदार ल्याउनुपर्ने अवस्था देखेर होटल म्यानेजमेन्टको पढाइलाई विशेष प्राथमिकता दिएको लिबर्टी कलेजका संयोजक प्रभिक जोशी बताउँछन् ।

विषय छनोट गर्ने दुई प्रक्रिया छन् । पढेर दक्ष बन्ने वा पढाइसँगै काम गरेर पैसा कमाउने । पिएचडी गरेर वा स्नात्तकोत्तर गरेर मात्र नभएर सिप नै आवश्यकता पर्ने भएर विद्यार्थी रोजाइमा प्रोगात्मक शिक्षा पर्न थालेको शिक्षकहरू बताउँछन् । ज्ञान सँगसँगै सिप र क्षमता पनि पाइने भएर व्यावहारिक शिक्षातिर विद्यार्थी बढेका छन् । 

होटल क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्न र स्तरोन्नति गर्न लागिपरेको काठमाडौं इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टले जनाएको छ । व्यावहारिक र प्रयोगात्मक शिक्षा अहिलेको आवश्यकता भएकाले यसैमा जोड दिएर विद्यार्थीको क्षमता विकासमा ध्यान दिएको कलेजको भनाइ छ ।

‘पढाइसँगै कमाउन पनि सकिने विषय भएकाले पनि विद्यार्थीको आकर्षण बढेको आदर्श कलेजमा अध्ययनरत छात्रा नितिशा भट्ट बताउँछन् । ‘बिजनेस तथा हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा राम्रो अवसरमात्रै छैन यसले आफूलाई नै केही गर्न सक्नेगरी सक्षम बनाउँछ,’ नितिशा भन्छिन्, ‘साथसाथै विदेशमा गएर सातांै र आठौं सेमेस्टर पूरा गर्ने भएकाले बाहिरी ज्ञान पनि लिन सकिन्छ।’ 

होटल म्यानेजमेन्टका चार डिपार्टमेन्ट छन् । फ्रन्ट अफिस, हाउस किपिङ, फुड वेभरेज र फुड प्रोडक्सन । विद्यार्थीले चाहनाअनुसारको विषय आफंै रोजेर पढ्न सक्छन् । जुनसुकै डिपार्टमेन्ट रोजे पनि होटल म्यानेजमेन्टमा स्नातक गरेका विद्यार्थी म्यानेजर तथा व्यवसायी बन्न सक्षम हुन्छन् । 

होटल म्यानेजमेन्टलाई भान्से विद्याका रूपमा मात्र लिने सोच बदल्नुपर्ने देखिन्छ । ‘होटल म्यानेजमेन्टमा हस्पिटालिटी क्षेत्रमा कुलिनरी आर्ट (परिकार बनाउने), सेवा दिने, व्यवस्थापन गर्ने, कसरी खाने, कसरी बनाउनेजस्ता सबै पढाइ हुन्छ,’ कान्तिपुर इन्टरनेशनल कलेजका नवीन जोशीले भने, ‘सिकाइका क्रममा विद्यार्थीमार्फत सहजीकरण गरिने भएकाले यसको व्यावहारिकता र प्रभावकारिता बढ्दो छ ।’ 

एसिएन इन्स्टिच्युट अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (एआइटिएम स्कुल अफ होटल म्यानेजमेन्ट) ले होटल म्यानेजमेन्ट अध्यापनका क्षेत्रमा हालै ‘नेपालको नम्बर वान’ अवार्ड प्राप्त गरेको छ । प्रयोगात्मक शिक्षालाई जोड दिँदै गुणस्तरीय ल्याब बनाएकाले यो उपलब्धि प्राप्त गर्न सम्भव भएको एसिएन इन्स्टिच्युटका निर्देशक वसन्त जोशी बताउँछन् । ‘विद्यार्थीहरू पास आउट भइसकेपछि रोजगारीको सुविधा पनि छ, उनले भने, ‘विद्यार्थीले दिएको बायोडाटाअनुसार रोजगारीको व्यवस्था गर्ने गरिएको छ ।’ 

‘होटल म्यानेजमेन्ट पढ्नुको मुख्य कारण नै तुरुन्त रोजगारी पाइनु हो,’ गोरखा घर भएकी छात्रा युनिशा भट्ट भन्छिन्, ‘अहिलेको अवस्थामा होटलमा कार्यरत रहेकाहरू पढेर होइन लामो समय काम गरेर सिकेका छन्, उनीहरूसँग व्यवस्थापनको सौद्धान्तिक ज्ञान हुँदैन । यसले गर्दा ठूला–ठूला होटल तथा रेस्टुरेन्टले बिएचएम पढेकालाई नै खोज्छन् ।’

‘पर्यटकीय विकासका लागि होटल तथा होमेस्टतिर लगानी बढ्दै गएको छ । जसमा होटल म्यानेजमेन्टका विद्यार्थी लागि राम्रो अवसर छ,’ भट्टले थपिन्, ‘विदेश जान चाहनेले पनि होटल म्यानेजमेन्ट पढेमा राम्रो अवसरका साथै राम्राो पारिश्रमिक पाउँछन् ।’ एकपटक लगानी गरेर राम्रो आम्दानी गर्न सकिने भएकाले पनि यसमा आकर्षण बढेको छ । 

नेपालको विश्वविद्यालयकै शुल्कमा अन्तर्राष्ट्रियस्तरको पढाइ हुने कलेज विद्यार्थीको रोजाइमा पर्छन् । पढ्ने कुरामा भन्दा पनि पढ्ने शैली सिकाउनु कलेजको मुख्य जिम्मेवारी हुनुपर्छ । पास आउट भएका विद्यार्थी अहिलेको सामाजिक तथा आर्थिकस्तरअनुसार जुध्न सक्ने हुनुपर्नेमा जोड दिइएको कलेज सञ्चालक बताउँछन् । 

प्रकाशित: १५ भाद्र २०७६ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App