७ वैशाख २०८१ शुक्रबार
शिक्षा

मासिक सय रूपैयाँमा अध्ययन गरेर चार जिपिए

काठमाडौं– कावासोतीस्थित समता स्कुलकी छात्रा प्रतिभा भुर्तेलले चार जिपिए ल्याएकी छन्। शैक्षिक उपलब्धिका लागि महँगो स्कुलभन्दा मिहिनेत र विश्वास महत्वपूर्ण कुरा हो भन्ने प्रमाणित गरेकी छिन् प्रतिभाले, मासिक सय रूपैयाँमा पढेर चार जिपिए ल्याउन सफल भएर। अचेल कक्षा ११ र कक्षा १२ माध्यामिक शिक्षा भए पनि एसइईको मान्यता उत्तिकै भएकाले दिनरात मिहिनेत गरेको प्रतिभाले बताइन्।

‘साधारण’ स्कुलमा पढेर पनि चार जिपिए ल्याउन सफल प्रतिभाको घरमा खुसीको  वातावरण छ। परिवारले छोरीको यो सफलताका कारण समाजमा आफ्नो प्रतिष्ठा बढेको अनुभव गरेको छ। परिवारको खुसी नै आफ्ना लागि सबैभन्दा ठूलो खुसीको कुरा भएको प्रतिभाले बताइन्। ‘घरमा पढ्ने वातावरण तथा बाबा–मम्मी र शिक्षकको हौसलाले नै यो उपलब्धि प्राप्त भएको हो’, उनले भनिन्, ‘भविष्यमा डाक्टर बन्ने चाहना छ, त्यसको लागि अझ मिहिनेत गरेर पढ्छु।’ अब विज्ञान विषय लिएर पढ्ने र मेडिकल फिल्डमा रहेर दुर्गम क्षेत्र तथा गरिबहरूको उपचारमा समर्पित भएर देशमा आफू चिनिने चाहना छ उनको।

‘समता स्कुलका विद्यार्थीमा पहिलो कुरा अनुशासन छ, दोस्रोमा पढाइ,’ प्रतिभाका बुबा पुरुषोत्तम भुर्तेलले भने, ‘अनुशासित विद्यार्थीमा पढ्ने चाहना हुन्छ, आफैं लगनशील भएर पढ्छन् र अपेक्षित लक्ष्य प्राप्त गर्छन्। प्रतिभा त्यसैको एउटा उदाहरण हुन्।’ पुरुषोत्तमका अनुसार प्रतिभा महान् व्यक्तिहरूका डकुमेन्ट्री हेर्न रुचाउने, आफूले गर्न चाहेको कुरा गरिछाड्ने र चन्चले स्वभावकी छिन्। ‘उनको एउटा राम्रो बानी के छ भने उनी खाली कहिले बस्दिनन्, इन्टरनेटमा हुँदा प्रायः मोटिभेसनल भिडियो हेर्न मन पराउँछिन्,’ पुरुषोत्तमले भने, ‘महान व्यक्तिहरूको जीवनी पढ्न पनि निकै रुचाउँछिन्।’

युकेजीदेखि समतामा पढ्दै आएकी प्रतिभा लगनशील एवं फरक क्षमताकी छात्रा रहेको प्रिन्सिपल महेश भुर्तेलले जानकारी दिए। ‘उनको नेपाली लेखन शैली र चित्रकला जिल्लामै उत्कृष्ट छ,’ उनले भने। प्रिन्सिपल भुर्तेलका अनुसार आफूले पढेको तथा इन्टरनेटमा हेरको व्यक्तिको जन्ममितिलगायतका कुरा सजिलै भन्न सक्छिन्। पढेको कुरा नभुल्ने उनी विशेष प्रतिभा हुन्।

प्रतिभाका दुईजना दिदी पनि पढाइमा अब्बल छन्। प्रतिभाले दिदीहरूको मिहिनेत देखेर, सिकेर दिदीहरूभन्दा राम्रो गर्छु भन्ने अठोट लिएको पुरुषोत्तमले बताए। त्यसैअनुरूप उनले चाहेका र मागेका हरेक पुस्तक तथा शैक्षिक सामग्री उपलव्ध गराएको उनको भनाइ छ।

समता स्कुलले देशभरका ७७ वटै जिल्लामा मासिक सय रूपैयाँमा नर्सरीदेखि स्नातकोत्तरसम्म पढाउँदै आएको छ। २०७५ सालको एसइईमा १८ वटा समता स्कुलबाट एक हजार सात सय तीन विद्यार्थी सहभागी थिए। जसमध्ये तीन सय दुई जनाले ए प्लस, चार सय ८७ जनाले ए, पाँच सय १० जनाले बि प्लस, तीन सय ८३ जनाले बि र २१ जनाले सि प्लस ग्रेड ल्याएको समता स्कुलका जोरपाटीका प्रिन्सिपल अजय अधिकारी सुशीलले बताए। प्रिन्सिपल अधिकारीका अनुसार देशभरिका समता स्कुलबाट जिपिए चार ल्याउने छात्रा एकजना मात्र रहे पनि तीन दशमलव ९५ र तीन दशमलव ९६ ल्याउने विद्यार्थी धेरै छन्। मासिक सय रुपैयाँमा पढेर पनि राम्रो गर्न सकिन्छ भन्ने विद्यार्थीको मेहिनेतले देखाएको छ।

प्रकाशित: १९ असार २०७६ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App