७ वैशाख २०८१ शुक्रबार
शिक्षा

प्रदेश २ काे एसइई परीक्षा चैत्र २२ देखि(तालिकासहित)

काठमाडौं - प्रदेश दुईमा चैत्र १४ गते माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) विज्ञान विषयको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएपछी राष्ट्रिय परीक्षा बोर्डले उक्त दिनको परीक्षा रद्द ग-यो । त्यसको भोलिपल्ट चैत्र १५ गते हुने निश्चित भएको अनिवार्य समाजिक विषयको प्रश्न पत्र पनि १४ गतेको रात बाहिरिएको सूचना प्राप्त भएपछि विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरलेलले मन्त्रिस्तरीय निर्णयबाट १५ देखि र बाँकी रहेको सबै विषयका परीक्षा स्थगित गरे ।

प्रदेश दुईमा रद्द र स्थगित गरिएका माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को विषयहरुको पुनः परीक्षा चैत्र २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिने नेपाल राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले निर्णय गरेको छ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले रद्द गरिएका अनिवार्य विज्ञान र स्थगित गरिएका विषयहरु अनिवार्य समाजिक, अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, ऐच्छिक प्रथम र द्वितीय विषयहरुको नयाँ प्रश्नपत्र छपाई कार्य सोमबारदेखि नै सुरु भएको बताए । उनले यसका साथै प्राविधिक विषय, वेदविद्याश्रम र संस्कृत विषयहरुमा समेत नयाँ प्रश्नपत्र छपाई कार्य सुरु भएको बताएका छन् ।

‘४ लाख ५ हजार परीक्षार्थीको परीक्षा सोमबार सकिएको छ । प्राविधिक विषयको परीक्षा चैत २१ गते सकिन्छ,’ सदस्य सचिव अर्यालले नागरिकसँग भने, ‘प्रदेश दुईको ८ जिल्लाकै रद्द र स्थगित गरिएको विषयहरुका परीक्षा पनि चैत्र २९ गते भित्रै सकिन्छ ।’ उनले थपे, ‘सबैको नतिजा पनि एकै पटक आउँछ । अबको परीक्षामा कडा सुरक्षा व्यवस्था गरिनेछ ।’ दुई नम्बर प्रदेश सरकारले माध्यामिक शिक्षा परीक्षा कक्षा १०(एसइई) लाई मर्यादित बनाउने कडा सुरक्षा व्यवस्था तथा सचेतनामूलक प्रचारप्रसार गर्दागर्दै पनि कहाँबाट प्रश्नपत्र बाहिरियो आपहरु नै आश्यर्चमा परेको प्रदेश दुईका समाजिक विकास मन्त्री नवलकिसोर साह बताउँछन् । ‘प्रश्नपत्र छपाई ढुवानी तथा व्यवस्थित गर्ने सबै जिम्मेवारी केन्द्र सरकारको थियो । हाम्रा ८ जिल्लाकै केन्द्रहरुमा परीक्षा हुने विषयहरुको प्रश्नपत्र सिलबन्दी नै आएको छ,’ मन्त्री साहले नागरिकसँग भने, ‘अप्ठ्यारा विषय मानिने अंग्रेजी र गणित, नेपालीमा कुनै समस्या आएन । बडो व्यवस्थित रुपले परीक्षा सञ्चालन भएकोमा हामी खुसी थियौं ।’ उनले गुनासो गरे, ‘तर अनिवार्य विज्ञानको परीक्षाको एक दिन अगावै मोबाइलमा कसरी प्रश्नपत्र बाहिरयो ? यसको गहन अध्ययन र छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्छ ।’

प्रदेश दुईको बारा, पर्सा, सर्लाही, सप्तरी, रौतहट, धनुषा, सिराहा र महोत्तरी गरी ८ जिल्लाकै ७० हजार ५ सय ८ विद्यार्थीहरुले एसइई परीक्षामा सहभागिता जनाइरहेको प्रदेश दुईका शिक्षा विकास निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बताए ।

प्रकाशित: १९ चैत्र २०७५ ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App