३१ असार २०७७ बुधबार
शिक्षा

असहजतामा शिक्षा : बाख्रा चराउँदै ‘होमवर्क’

थवाङ छेर्लावाङको सडक छेउँमा बाख्रा चराउदै गृहकार्य गर्दै गरेकी १३ बर्षिया स्यामकुमारी पुन ।

रोल्पा– सम्पन्न परिवारका बालबालिकाको बिहानी अभिभावकको साथमा पठनपाठनमा बित्छ भने बेलुका बिद्यालयबाट फर्किएपछि उनीहरु गृहकार्य सकाउने धुनमा हुन्छन्। उनीहरु लेख्नुपर्ने थोरै रैछ भने कम्प्ुटर, टिभी वा अभिभावकको मोबाइलमा ब्यस्त रहन्छन्। तर, विपन्न परिवारका बालबालिकालाई न बिहानीको घरधन्दाले किताब फर्काउने समय हुन्छ न त बेलुका गृहकार्यका लागि पर्याप्त समय मिल्छ। ‘घरको काम पनि भ्याउनु प-यो, होमवर्क पनि भ्याउनै प-यो। बुवा बिदेश हुनुहुन्छ। आमा दाउरा लिन जानुभाछ। बहिनीले घरमा पानी भर्दै छ। म बाख्रा चराउँदै होम वर्क गर्दै छु’, थवाङ छेर्लावाङको सडक छेउमा कापीमा गृहकार्य गर्दै गरेकी १३ बर्षीया स्यामकुमारी पुनले सुनाइन।

चरम गरिबी र आर्थिक अभाबका कारण कक्षा ८ कि छात्रा स्यामकुमारी जस्ता थुप्रै बालबालिकाको दैनिकी कस्टकर छ। दश बर्षे युद्धले लामो समय थलिएको रोल्पा शान्ति स्थापनासंगै मुहार फेर्ने अपेक्षामा थियो। संबिधान सभाबाट नयाँ संबिधान जारी भएसंगै तीनवटै तहका निर्वाचन भएपछि स्थानीयको अपेक्षा निराशामा बदलिएको छ। जिल्लामा बैधानिक र चोर बाटोबाट बार्षिक आएको करोडौं बजेट सदुपयोग दुरुपयोग के भयो सबै अन्यौलमा छन्। आज पनि रोल्पालीको जीबनस्तर झन झनै खस्किदै गइरहेको छ। विकास भनेको सडक हो भन्ने मान्यता बोकेका राजनीतिक नेतृत्व अनि कार्यकर्ता भरणपोषणका लागि गठन हुने उपभोक्ता समिति र त्यहाँभित्र हुने अनियमितताले जिल्ला मानवीय विकासमा पछि परेको देखिन्छ।

थवाङ छेर्लावाङका दर्जनौ बालबालिका घरछेमा माबि, निमाबि नभएका कारण हिमालय फुलवारी माबि मिरुल टुटुमा पढ्न जान्छन्। ‘स्कुल जान ओरालो बाटो छ। दौडिँदै जान्छौं त्यसैले डेढ घण्टामा पुग्छौं। भरे बेलुका फर्किदा उकालो पर्छ, २ घण्टा भन्दा बढी समय लाग्छ’, स्यामकुमारी भन्छिन, ‘बिहान घरको अलिअलि काम गर्नै प¥यो, सधै हतार हुन्छ। फर्किदा अध्यारो भइसक्छ।’ रोल्पाका बिद्यार्थीहरु आज पनि बिद्यालय टाढा भए पछिको सास्ती भोग्दै छन्। दुर्गम भुभाग रहेको यहाँ लामो अनि उकाली ओराली बाटो पार गर्दै समयमै बिद्यालय हातामा प्रबेश गर्नुपर्ने बाध्यता छ। सहरमा जस्तो नजिक बिद्यालय तथा स्कुल बस सुबिधा नहुँदा लामो पैदल यात्राले कक्षा कोठामै बिद्यार्थीहरु थाक्ने गर्दछन्। 

उता जिल्लाका अन्य ठाउँमा पनि यस्तो समस्या प्रशस्तै भेटिन्छन्। बिद्यालय पोशाकमा कपाल कोर्दै उकाली, ओराली गरिरहेका छात्रछात्रा सधै हतारमा हुन्छन। ‘घरमा कपाल कोर्न थाल्ने हो भने त स्कुल छुट्छ’, कोटगाउँ रिम्सकी १० कक्षामा पढ्ने छात्रा भुमिसरा घर्तीले काइयो झोलामा राख्दै भनिन, ‘सधै यस्तै हो सर। कपाल कोर्ने, टाई बनाउने सधै बाटो मै हो। हतार हुन्छ। बिस्तारै गयो भने त झन २ घण्टा लाग्छ, भ्याइँदैन दौडिनु पर्छ। बाटो ओरालो छ र जाँदा अलि सजिलो हुन्छ।’ बिहान ९ बजे घरबाट हिडेका उनीहरु ४ बजेसम्म स्कुल पढ्छन। ‘फर्किदा उकालो पर्छ। घर पुग्दा त ६ बज्छ। राति हुन्छ। अध्यारोमा घर पुग्छौं। के गर्नु नजिक स्कुल छैन। घर गयो खाना खाएर पढ्दा पढ्दै थकाईले निद्रा लाग्छ। कहिले काही त कक्षा कोठामा पनि निद्रा लाग्छ।’

‘बिहान हतार हतार खाना खाएर स्कुल गयो। घरबाट लगेको नास्ताले दिनभरि त धान्छ तर बेलुका फर्कदा उकालोमा भोकले हैरान बनाउँछ। घर आयो थकाई लागेको हुन्छ। होमवर्क गर्दा गर्दै निद्रा लाग्छ। बिहान घरको कामले ठिक्क। चाहेर पनि राम्रोसंग पढ्ने समय नै हुँदैन’, भुमिसरा संगै रहेकी मारियाले थपिन। उनीहरुको कपाल कोर्ने, टाई मिलाउने काम बाटोमै हुन्छ भने जुत्ता पालिस गर्न शनिबार नै कुर्नु पर्छ।

घर भन्दा टाढा बिद्यालय भएका कारण अभिभावक पनि चिन्तित रहने गर्दछन्। ‘डेरा गराउन खर्चले धान्न सकिँदैन। नगराउँदा केटाकेटीको बिजोग छ। साँझ घर आउँदा भोक र थकाईले गलेर आउँछन्। नपढाएर पनि भएन’, एक अभिभावकले दुखेसो पोखे। ‘नेताले सडक खन्ने मात्र भन्छन। हाम्रा छोराछोरीले पढ्न पाए हुन्थ्यो। बिचरा साना साना केटाकेटी स्कुल जाँदा सधै हिड्नु पर्ने त्यो पाजी बाटोको के काम।’ यहाँ रहेका ९० हजार बिद्यार्थीमध्ये धेरै बालबालिका दैनिक लामो पैदल यात्रा गरेर बिद्यालय पुग्ने गर्दछन्। 

गत निर्वाचनहरुमा शिक्षासंग सम्बन्धित पठनपाठनको बिषय कुनै पनि दलले आफ्नो प्रतिबद्धता पत्रमा राखेनन् भने स्थानीय तहले अहिलेसम्म पनि बिद्यालय र बिद्यार्थीको बिषयमा कुनै छलफल समेत गर्ने गरेका छैनन्। चुनाबमा भोट माग्न सडक, बत्ति, पानी, रोजगारी जस्ता बिषयलाई प्राथमिकतामा राखिए पनि आधारभुत शिक्षा स्वास्थ्य जस्ता बिषयमा जनप्रतिनिधिहरु मौन रहेका छन्। 

प्रकाशित: २४ मंसिर २०७५ २१:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App