७ वैशाख २०८१ शुक्रबार
शिक्षा

छात्रबृत्ति उतीर्ण बिद्यार्थी भर्ना हुनबाट बञ्चित

छात्रबृत्तिमा उतीर्ण भएर पनि कलेजमा भर्ना हुनबाट बञ्चित निशा घर्तिमगर आमाको साथमा। तस्बिर : अर्जुन ओली/नागरिक

नेपालगन्ज -  प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद(सिटिईभिटिई)बाट छात्रबृत्ति उतीर्ण गरेकी निशा घर्तिमगर कलेजमा भर्ना हुनबाट बञ्चित भएकी छन्। मधुवन नगरपालिका वडा नम्बर ३ बर्दिया निवासी निशालाई नेपालगन्जस्थित मध्यपश्चिम प्राविधिक शिक्षालयले बञ्चित गरेको हो । कलेजले आफुलाई लामो समय सम्म अल्झाएर भर्ना हुनबाट बञ्चित गरेको उनको गुनासो छ।

 सिटिईभिटिई क्षेत्रीय कार्यालय कोहलपुरले गत साउन १२ गते लिएको प्रवेश परिक्षामा निशाले ‘डिप्लोमा ईन फार्मेसी’ विषयका लागि ‘अन्य महिला’ शिर्षकको कोटामा नाम निकालेकी थिइन्। साउन ३१ गते प्रवेश परिक्षाको नतिजा प्रकाशित भए लगत्तै उनलाई भर्ना गरिदिन सिटिईभिटिईले मध्यपश्चिम प्राविधिक शिक्षालयमा विवरण पठाईदिएको थियो। नाम निस्केपछि निशाले भदौं ३ गते नै उक्त कलेजमा पुगेर प्रिन्सिपललाई भेटिन्। एसईईको पुरक परिक्षाको नतिजा नआएको हुँदा भर्ना हुन पाईदैन कि भन्ने उनलाई थोरै चिन्ता थियो। तर, बुझ्दै जाँदा एसईई पुरक परिक्षाको नतिजा आएपछि पनि प्रमाणपत्र पेश गर्न मिल्ने भएपछि उनी कलेजमा भर्ना हुने तयारी जुटिन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद परीक्षा नियन्त्रण कार्यालयले भदौं १७ गतेसम्म मात्र उतीर्ण बिद्यार्थीलाई भर्ना हुने समय दिएको थियो।

‘साउन ३१ गते स्कलरसिपको रिजल्ट आएपछि भदौं ३ गते मध्यपश्चिम प्राविधिक शिक्षलयमा पुगेर प्रिन्सिपल सरलाई भेटे, उहाँले पुरकको रिजल्ट आएपछि कलेजमा आउ भनेर भन्नु भयो, भदौं १० गते फेरी फोनमा कुराकानी हुँदा भदौं १५ गते सम्पर्क गर्नु भनेर भन्नुभयो,’ निशाले भनिन् ‘१५ गते सम्पर्क गरिसकेपछि फेरीपनि १७ गते आईतबार सम्पर्क गर्न भन्नुभयो, आईतबार सम्पर्क गर्दा आफु मिटिङमा भएको भन्दै कुरा गर्न चाहनु भएन।’

भदौं १८ गते (सोमबार) कलेजमा पुगेपछि मात्र आफुलाई कलेजका प्रिन्सिपलले भर्ना हुने समय १७ गते नै गुुज्रिसकेको कुरा बताएपछि छांगाबाट खसेझै भएको निशाले सुनाइन्। त्यसपछि कलेज प्रशासनले उनलाई सिटिईभिटिई क्षेत्रीय कार्यालय कोहलपुरबाट पत्र ल्याएर आएमा भर्ना गरिदिन सकिने आश्वासन दियो। ‘सिटिईभिटिईको क्षेत्रीय कार्यालयमा पुगेर कुरा राख्दा उसले पनि यो काम हाम्रो होईन भनेर भन्यो, फर्केर फेरी कलेज आए, त्यतिबेलासम्म कलेज बन्द भईसकेको थियो,’ निशाले सुनाइन्। मंगलबार दिनभर कलेजमा बसेर आफुलाई भर्ना हुने वातावरण मिलाईदिन आग्रह गर्दापनि निराश बनाएर फर्काईदिएको उनले गुनासो पोखिन्।

 यता मध्यपश्चिम प्राविधिक शिक्षालयका प्रिन्सिपल सज्जाद अहमदले छात्रबृत्तिको नतिजा प्रकाशित भएपछि १७ दिनसम्म सम्पर्कमा नआएपछि निशा भर्ना हुनबाट बञ्चित भएको दाबी गरेका छन् । ‘स्कलरसिपमा पास भएका बिद्यार्थीलाई १७ गते सम्म सम्पर्क गर्न समय दिइएको थियो, तर निशा एकैचोटी १८ गते अपरान्ह ४ बजे मात्र कलेजको सम्पर्कमा आइन्,’ उनले भने ‘मलाई उनले बीचमा कहिल्यैपनि भेट गरेकी छैनन्, फोनमा पनि कुरा भएको छैन, अन्तिम समयसम्म पनि उनी नआएपछि भोलीपल्ट(भदौ १८ गते) बिहानै रिक्त नामावली सिटिईभिटिई परीक्षा नियन्त्रण कार्यालयमा पठाईदियौं।’

आफ्नो कलेजबाट डिप्लोमा ईन फार्मेसी र पिसिएल नर्सिङका लागि ३/३ वटा छात्रबृत्ति कोटा आएकोमा १/१ जना बिद्यार्थी तोकिएको समयभित्र भर्ना हुन नआएको उनले जिकिर गरे। जबकी परिक्षा नियन्त्रण कार्यालयले भदौं १८ गते सूचना प्रकाशित गरी ३ दिनभित्रमा छात्रबृत्तिमा सिफारिस भई तोकिएको म्यादभित्र भर्ना नभएको रिक्त कोटाको विवरण पेश गर्न भनेको थियो।

 उक्त कलेजले निशालाई भर्ना नगर्ने ‘नियत’ नै राखेर उनलाई रिक्तको सूचीमा समावेश गरी नामावली सिटिईभिटिईमा पठाएको उनका अभिभावक बताउँछन्। ‘मेरी छोरीले सानै उमेरदेखी फार्मेसी विषय पढ्ने ईच्छा राखेकी थिई, छोरीले कडा मेहेनत गरेपछि पढ्ने रहर पुरा हुदैथ्यो, ऋण काढेंर भएपनि तीन महिनासम्म नेपालगन्जमा तयारी कक्षा पढाएँ,’ आमा करमाया घर्तीले भनिन् ‘धेरै मेहेनत गरेर छोरीले छात्रबृत्तिमा नाम निकाल्न सफल भई, तर गरिबको छोरीलाई पढ्नबाट बञ्चित गराए।’

निशाका बुवा भारतमा मजदुरी गर्छन् । मजदुरी गरेरै उनले परिवारको सम्पुर्ण खर्च चलाउँदै आएका छन्। निशाले नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय धनौराबाट एईई दिएकी थिइन्। सानै उमेरदेखी फार्मेसी विषय पढ्ने ईच्छा भएपनि आफ्नो सपनामाथी ‘बज्रपात’ आएको भन्दै निशा यतिखेर निकै तनावमा छिन् । छात्रबृत्तिबाहेक लाखौं रूपैयाँ तिरेर छोरीलाई फार्मेसी विषय पढाउने परिवारको अवस्था छैन।

छात्रबृत्तिबाट कलेजमा भर्ना हुन नपाउँदा अब कुन विषय पढ्ने भन्ने अन्यौलमा छिन्। सिटिईभिटिईले छोरीलाई छात्रबृत्तिमा पढ्ने ब्यवस्था मिलाईदिनेमा परिवारले अझैपनि झिनो आशा राखेको छ। छात्रबृत्ति कोटाबाहेक तीन वर्षे डिप्लोमा ईन फार्मेसी पढ्न बिद्यार्थीले कलेजलाई ३ लाख ३७ हजार ८ सय रूपैयाँ बुझाउनुपर्छ। त्यति धेरै रकम कलेजलाई बुझाएर छोरीलाई पढाउन सक्ने आर्थिक स्थिती आफ्नो नभएको आमा करमाया बताउँछिन्।

सिटिईभिटिई क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख यादव सुवेदीले मध्यपश्चिम प्राविधिक शिक्षालयले पठाएको रिक्त नामावली सिटिईभिटिई परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर पुगिसकेको बताउँदै भने, ‘कलेज र बिद्यार्थीबीच कम्युनिकेशन नहुँदा यस्तो भएको हो, रिक्त नामावली पठाउन तीन दिनको समय दिइएको थियो, तर कलेजले हतार गरेर नामावली पठाउँदा निशाको नाम छुट्न पुगेको देखिन्छ।’ सिटिईभिटिई परिक्षा नियन्त्रण कार्यालयले समयमै जानकारी पाएमा निशाले छात्रबृत्तिबाट फार्मेसी विषय पढ्न पाउने झिनो आशा अझैपनि रहेको प्रमुख सुवेदीले प्रष्ट्याए।

 ‘जुन कलेजमा छात्रबृत्ति कोटा रिक्त रहन पुग्यो, त्यो ठाउँमा सिटिईभिटिई परिक्षा नियन्त्रण कार्यालयले बैकल्पिक परिक्षार्थीको नाम पठाउँछ, अबको दुई÷तिन दिनभित्रमा सबै कलेजमा बैकल्पिक परिक्षार्थीको नाम पठाउन सक्छ, मध्यपश्चिम प्राविधिक शिक्षालयले १८ गते नै सिटिईभिटिई परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराएको भए छुट्ने सम्भावना हुदैनथ्यो,’ उनले थपे। सिटिईभिटिईले जेहेन्दार, गरिब, सिमान्तकृत लगायत बिद्यार्थीका लागि भन्दै हरेक वर्ष विभिन्न विषयमा ३/३ वटा कोटा दिने गरेको छ। स्रोतका अनुसार छात्रबृत्ति कोटामा पढाउन ठुलो मात्रामा आर्थिक चलखेल हुने गरेको छ।

प्रकाशित: २१ भाद्र २०७५ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App