३० माघ २०८१ बुधबार
image/svg+xml
शिक्षा

यादव-राउत अहंले आहत विश्वविद्यालय

शिक्षामा अन्य प्रदेशभन्दा कमजोर मधेस प्रदेशको जनघनत्व बढी छ। मलिलो–उर्वर जमिन र अन्नभण्डारका रूपमा रहेको मधेसलाई प्रविधि र नीतिगत तारतम्य मिलायो भने देशलाई खुवाउने क्षमता राख्ने विशेषता भएको मधेस प्रदेश पछिल्लो समय राजनीतिक प्रतिशोधको सिकार बन्दै गएको छ।  

मधेसका दुई राजनीतिक दलका शीर्ष नेताबिचको जुँगाको लडाइँका कारण मधेस प्रदेशको गौरवको योजनाको रूपमा रहेको मधेस कृषि विश्वविद्यालय संकटमा परेको छ। विश्वविद्यालयले नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गर्न नसकेका कारण नयाँ शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना गर्नसक्ने अवस्था विश्वविद्यालयका पदाधिकारीसँग नहुँदा विद्यार्थीको भविष्य नै अन्योल बन्न पुगेको छ।

राजनीति प्रतिशोधकै कारण मधेस प्रदेशमा भर्खरै बामे सर्दै ३ वर्ष उमेर पुगेको मधेस कृषि विश्वविद्यालयका सबै गतिविधि क्रमिक रुपमा थला पर्दै गएको छ। यसले विश्वविद्यालयसँग सरोकार राख्ने शिक्षक, विद्यार्थी र कर्मचारी तथा स्थानीयलाई समेत चिन्तित बनाएको छ।

राजनीतिक खिचातानीले विश्वविद्यालयले मुख्य रुपमा आर्थिक संकटबाट गुज्रिनुपरेको छ। यसले गर्दा नयाँ शैक्षिक सत्रमा नयाँ भर्नाका लागि आवेदन माग गरिसकेको छ तर ५० कोटा माग गरेकामा १११ आवेदन परेको छ। आवेदन खुलाए पनि प्रवेश परीक्षासमेत सञ्चालन गर्न नसक्नु विश्वविद्यालयको लाचारीपन रहेको विद्यार्थीले जिकिर गरे।

अर्कोतिर हाल अध्ययन गरिरहेका कृषि विज्ञानका विद्यार्थीले अध्ययन अनुसन्धानको व्यावहारिक ज्ञान हासिल गर्न नसकेको विद्यार्थी मनोज मण्डलले बताए। उनले देशका युवा पिँढी स्वदेशमै बसेर केही गर्न खोजे पनि राजनीतिक दलका नेताहरूले नै स्वदेशमा बस्ने वातावरण बनाउन नसकेको भन्दै  आक्रोश पोखे।

‘आफ्नै जन्म थलोमा कृषि विश्वविद्यालय स्थापना भएपछि हामी खुसी छौंं। कृषि व्यावहारिकतासँग जोडिएकाले आफ्नै खेतीपातीलाई आधुनिक प्रविधिसँग जोडेर स्वदेशमै काम गर्ने लक्ष्य लिएर कृषि विज्ञानमा भर्ना भए,’ २५ वर्षीय विद्यार्थी मनोजले गुनासो गरे, ‘तर अहिले राजनीति द्वन्द्वको नकारात्मक असरले विश्वविद्यालय थिचिएको छ। हाम्रो भविष्य अन्योल बनेको छ ।’

कृषि विज्ञानका चौथो सेमेस्टरका विद्यार्थी मनोज मण्डल थप्छन्, ‘शिक्षक र कर्मचारीले ६ महिनादेखि तलब नपाएकाले हाम्रो कक्षा नियमित छैन। सवारीसाधनमा इन्धन नभएकाले हामीले अनुसन्धान केन्द्रहरूको स्थलगत भ्रमण गर्न पाएका छैनौं। कृषि विषय व्यावहारिक विषय हो तर व्यावहारिक ज्ञान हामीले पाएकै छैनौं ।’ नेताहरूको जुँगाको लडाइँको कारण विद्यार्थीले कहिलेसम्म दुःख पाउने ? उनको प्रश्न छ।

विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान् ठाकुरले मधेस प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको मधेस कृषि विश्वविद्यालयले दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर अघि बढको भए पनि पछिलो समय विश्वविद्यालय राजनीति द्वन्द्वको सिकार बन्दै गएको खुलस्त पारे। ‘शैक्षिक अनुसन्धान तथा प्रसारलाई समन्वयात्मक किसिमले अगाडि बढेमा मधेसको कृषि उत्पादकत्व रोजगारीको सृजना, गरिबी न्यूनीकरण, आर्थिक समृद्धि , सामाजिक रूपान्तरण गरी आर्थिक विकासमा टेवा पु¥याउने विश्वविद्यालयको लक्ष्य हो,’ रजिस्ट्रार ठाकुरले नागरिकसँग भने, ‘२ पदाधिकारी र १६ शिक्षक कर्मचारी गरी कुल १८ जनशक्तिले विश्वविद्यालयको आर्थिक संकटकै कारण ६ महिनादेखि तलब पाएका छैनन्। यति मात्र होइन, विश्वविद्यालय सभाले नीति तथा कार्यक्रम पास गर्न नसक्दा विश्वविद्यालयले गति लिन सकेको छैन। यो चिन्ताजनक विषय हो ।’ 

उनले भदौमा प्रवेश परीक्षा सकेर नतिजा प्रकाशन गरी मंसिरदेखि नयाँ सत्र सुरु हुनुपर्नेमा दुई महिना ढिला भइसकेको बताए।

उपकुलपति प्राडा वैजनाथ महतो र रजिस्ट्रार ठाकुर जसपा नेपाल उपेन्द्र यादबको पूर्ववर्ती सरकारले नियुक्त गरेका पदाधिकारी हुन्। तर हाल मधेस प्रदेशको सरकार जनमत पार्टी सिके राउत नेतृत्वको छ। शिक्षामन्त्री लोसपाबाट छन्। सरकार, पदाधिकारी र शिक्षामन्त्रीबिच पनि राजनीति द्वन्द्व रहेको स्पष्ट देखिन्छ। पदाधिकारी र सरकारको राजनीतिक धार फरक परेकाले गर्दा विश्वविद्यालयका सबै कार्यक्रम र बजेट सरकारले रोकिदिएको चर्चा विश्वविद्यालयभित्र चलिरहेको छ। हाल यो विश्वविद्यालयमा कृषिका पहिलो र दोस्रो ब्याचका सय विद्यार्थी अध्ययन गरिरहेका छन्। प्रत्येक ब्याचको लागी विश्वविद्यालयले ५० कोटा तय गरेको छ। ‘हाम्रा शिक्षक कर्मचारीले ६ महिनादेखि तलब नपाएर चियासमेत खान पाएको छैनन्।

मंसिरमा नयाँ विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन गर्नुपर्नेमा गर्न पाएको छैन,’ उपकुलपति महतोले भने, ‘विश्वविद्यालय सभाका अध्यक्ष शिक्षामन्त्री, सदस्य सचिव उपकुलपति र सदस्य रजिस्ट्रार हुन्छन्। तर सभाका अध्यक्षले हामी सदस्य सचिव र सदस्यलाई बाहिर राखेर नीति तथा कार्यक्रम पारित गर्नुभएन। मन्त्रीज्यूले सबै कार्यक्रम रोक्नु भनी निर्देशन दिनुभएको छ ।’ उनले आग्रह गरे, ‘देश बनाउने मूल आधार कृषि हो। र, कृषि विश्वविद्यालयले कृषि विज्ञ दक्ष जनशक्ति उत्पादन गर्ने हो। यसकारण सरकारले हामीलाई विश्वविद्यालय चलाउने वातावरण बनाई दिनुपर्छ ।’ उपकुलपति महतोका अनुसार सरकारले विश्वविद्यालयसँग भएको सिडमनी ३० करोड रकमसमेत उपयोग गर्ने अधिकार दिएको छैन। हालको बजेटले उपलब्ध गराएको १० लाख बजेट पनि उपयोग गर्न पाएको छैन। जब कि गत आवमा पूर्ववर्ती सरकारले यो विश्वविद्यालयलाई ३० करोड रकम दिएको थियो।

प्रदेश सरकारले २०७८ मंसिर २७ गते सप्तरीको राजविराजमा कृषि, पशु, मत्स्यविज्ञान र खाद्य प्रविधि विज्ञान गरी चार संकायमा विषयवस्तु पठनपाठनका लागि मधेस कृषि विश्वविद्यालय स्थापना गरेको हो। विश्वविद्यालय भवन निर्माणका लागि राजविराज नगरपालिकाको बडा नम्बर १२ मा साढे २६ बिघा जग्गा सरकारले दियो। २०८० माघ ८ गते भवनको शिलान्यास जसपा नेपालका अध्यक्ष उपेन्द्र यादबलाई प्रमुख अतिथि बनाएपछि जनमत पार्टी असन्तुष्ट बनेको थियो। उक्त कार्यक्रमका दिन दुई दलबिच केहीबेर झडप पनि भएको थियो।

राजविराज नगरपालिकाको कार्यबाहक मेयर इसरत प्रविनले उपेन्द्र यादब र सिके राउतको दलबिचको प्रतिशोधका कारण विश्वविद्यालय धरापमा परेको खुलाइन्। ‘राजविराज सिके राउतको क्षेत्र हो। तर विश्वविद्यालय स्थापनाको उद्घाटन उपेन्द्र यादबले गर्नुभयो। त्यो बखत पनि झडप भएकै थियो। नेताबिचको प्रतिशोधले शिक्षा क्षेत्र ध्वस्त बन्यो,’ मेयर प्रविनले नागरिकसँग भनिन्, ‘मधेसका नेताले विद्यार्थी, अभिभावक र शिक्षाको हितभन्दा पनि व्यक्तिगत हित र प्रतिशोध साँध्ने प्रवृत्तिले शिक्षा क्षेत्र ध्वस्त बन्दै गएको हो ।’

प्रकाशित: १६ माघ २०८१ ०९:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App