२३ आश्विन २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिविमा राजनीतिक हस्तक्षेप रोक्न नियुक्ति मापदण्ड

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रिक्त विभिन्न पदमा नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ। यसका लागि त्रिविले मापदण्ड बनाएको छ। मापदण्डअनुसार नियुक्ति हुन सके र नियुक्त अधिकारीले जिम्मेवारीपूर्वक काम गरे त्रिविले कोल्टो फेर्न सक्ने विश्वास प्राध्यापकहरूको छ।

त्रिविले सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ बनाएको छ । यही विनियममा आधारित भएर उसले डिन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, कार्यक्रम संयोजक, विभागीय प्रमुख, क्याम्पस प्रमुख, परीक्षा नियन्त्रक, सहपरीक्षा नियन्त्रकलगायत पदमा नियुक्ति गर्नेछ।

अहिले त्रिविमा डिनतर्फ पाँच, कार्यकारी निर्देशकतर्फ एक, विभागीय प्रमुखतर्फ चार, क्याम्पस प्रमुखतर्फ ११, परीक्षा नियन्त्रक एक र सहपरीक्षा नियन्त्रकतर्फ चार पद खाली छन्। त्रिविले यी पदका लागि अलगअलग समिति गठन गरी छनोट प्रक्रिया अगाडि बढाएको छ।

‘कार्यक्रम संयोजकदेखि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकसम्मका पदपूर्तिका लागि मापदण्ड बनाएर अघि बढ्नु सकारात्मक पक्ष हो,’ समाजशास्त्र विभागका पूर्वप्रमुख युवराज लुइँटेलले भने, ‘मुख्य कुरा पदाधिकारी, विभागीय प्रमुखहरू, डिनहरू त्रिविप्रति जवाफदेही बन्नु आवश्यक छ ।’ 

उनले थपे, ‘मैले पनि त समाजशास्त्र विभागमा प्रमुख नियुक्तिका लागि मापदण्डमा आधारित भएरै पहिलो नम्बरमा पासाङ शेर्पा र दोस्रो नम्बरमा टीकाराम गौतमको नाम सिफारिस गरेकै हो। तर डिनसम्म पुग्दा सबै उथलपुथल भइसकेको रहेछ। यसकारण त्रिविले बनाएको मापदण्ड पालना भए मात्र नियुक्तिमा राजनीतिक हस्तक्षेप रोक्न सकिन्छ । त्यसपछि बल्ल त्रिविले अवश्य कोल्टो फेर्ने विश्वास गर्न सकिन्छ।’

विश्वद्यालयमा हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग, द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग, लैंगिक अध्ययन विभाग र समाजिक कार्य विभागका कार्यक्रम संयोजक/प्रमुख पद खाली छन्। यी पदपूर्तिका लागि त्रिविले सूचना जारी गरेको छ। यसैगरी चिकित्सा अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र संकाय र शिक्षाशास्त्र संकायमा डिन पद रिक्त छ। यी पदपूर्तिका लागि विज्ञापन गरिएको छ।

मंसिरमा रिक्त हुने व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा डिन छनोटका लागि पनि अहिले नै आवेदन माग गरिएको छ। यसैगरी परीक्षा निन्त्रक र सहपरीक्षा नियन्त्रकका चार पदपूर्तिका लागि समेत त्रिविले आवेदन मागेको छ। त्रिविले बनाएको मापदण्डभित्र पर्न सक्नेले आवेदन दिन सक्छन्।

पाैडेलले विगतमा नियुक्तिसम्बन्धी मापदण्ड तोकिएको विनियम नभएकाले राजनीतिक दबाबमा नियुक्ति हुने गरेको बताए। राजनीतिक दबाबमा नियुक्ति हुने गरेका कारण पनि त्रिवि अधोगतितिर लाग्दै गएको उनको बुझाइ छ। उनले अहिले त्रिवि कार्यक्रम संयोजकदेखि कार्यकारी निर्देशकसम्म नियुक्तिका लागि आधार र मापदण्डसहितको विनियम बनाएर अगाडि बढ्नु सकारात्मक भएको बताए। उनले विनियम कसरी कार्यान्वयन हुन्छ त्यो ठुलो कुरा हुने बताए। 

‘त्रिविले विभिन्न पदमा नियुक्तिका लागि १५० पृष्ठको मापदण्ड र आधार त बनाएको छ तर कार्यान्वयन पक्ष मुख्य हो,’ उनले भने, ‘नियुक्तिको आधार र मापदण्ड कार्यान्वयन गर्न सके त्रिविमा राजनीतिक हस्तक्षेप हट्छ। त्रिविले कोल्टो फेर्न सक्छ।’ नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक लेखनाथ शर्माका अनुसार त्रिविले बृहत् छलफल गरेर सबै पदमा नियुक्तिका लागि आधार र मापदण्ड बनाएको हो। 

‘केही पनि नहुनुभन्दा त केही हुनु नै राम्रो हो। खासगरी प्राज्ञिक र प्रशासनिक पदमा हुने नियुक्तिलाई केन्द्रित गरी मापदण्ड बनाइएको छ,’ शर्माले भने, ‘मापदण्ड कार्यान्वयन भए प्राज्ञिक व्यक्ति आउँछन्, जसबाट विश्वविद्यालयको गुणस्तर उकास्न सहयोग पुग्छ।’ 

त्रिविले कार्यकारी निर्देशक र डिन पदमा नियुक्तिका लागि प्रशासनिक अनुभव, प्राज्ञिक अनुभव, विद्यावारिधि, अनुसन्धानमूलक लेख–रचना, पुस्तक, पाठ्यक्रम निर्माण, परीक्षा तथा मूल्याँकनसम्बन्धी दक्षता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानमा नेतृत्व तथा कोष वृद्धिसम्बन्धी अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य, विश्वविद्यालयका रणनीतिक योजना कार्यन्वयनसम्बन्धी कार्ययोजना, योजना प्रस्तुति, अन्तर्वार्तालगायतमा आधारित मापदण्ड तोकेको छ। 

यसैगरी अन्य पदमा नियुक्तिका लागि पनि आधार र मापदन्ड तय गरिएको शिक्षाध्यक्ष खड्ग केसीले बताए। ‘हामीले नियुक्तिसम्बन्धी आधार र मापदण्डसहितको विनियम पूर्णरूपमा कार्यान्वयन गर्ने र गराउनेछौं’, केसीले भने, ‘अब विश्वविद्यालयभित्र कुनै पनि किसिमको दबाबले काम गर्दैन। नियम र मापदण्डमा त्रिवि चल्नेछ। त्रिविमा गुणस्तर कायम गर्न र थिति बसाउन हामी शतप्रतिशत जिम्मेवार र उत्तरदायी भएर लाग्नेछौं।

प्रकाशित: २४ भाद्र २०८१ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App