६ वैशाख २०८१ बिहीबार
शिक्षा

‘सार्वजनिक शिक्षा भद्रगोल भयो’

काठमाडौं- शिक्षा मन्त्रालयका सचिव मधु प्रसाद रेग्मीले मुलुक संघीय व्यवस्थामा प्रवेश गरेपछि सार्वजनिक शिक्षा भद्रगोल भएको बताएका छन्। शिक्षा पत्रकार समूहको बार्षिकोत्सवको अवसरमा शनिबार अनामनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘जबसम्म सावर्जनिक शिक्षा व्यवस्थित हुन्न तबसम्म हामीले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्‍यौं भनेर गफ लगाउन सुहाउँदैन,’ उनले भने, ‘अहिले शिक्षा क्षेत्रमा झनै अन्योल, अस्पष्टता, आशंका उत्पन्न भएका छन्, यसलाई सबै मिलेर पुर्न जरुरी छ।’ उनले स्थानीय तह संचालन ऐन आएपछि शिक्षाका २३ वटा जिम्मेवारपूर्ण कार्य स्थानीय तहले  पाएको जानकारी दिए । ‘स्थानीय तहमा गएपनि शिक्षाका संरचना र अधिकार यथावत रहेका छन्,’ उनले भने, ‘अब के गर्ने भनेर हामीले ती निकायलाई निर्देशन पनि दिइसकेका छौं।’

कार्यक्रममा शिक्षाको भूमिका जोड्दै पूर्व शिक्षामन्त्री धनीराम पौडेलले यसअघि शिक्षा मन्त्रालय र जिल्ला शिक्षा कार्यलय मार्फत हुँदै आएको व्यवस्थापन र नीतिगत निर्णयको काम स्थानीय निकाय मार्फत जानु बिडम्बना रहेको बताए। उनले भने, ‘यसैले पनि अहिले शिक्षा क्षेत्र भद्रगोल देखिएको छ, स्थानीय तहहरुले अब एकै प्रणाली अनुसार काम गर्न जरुरी देखिन्छ।’

एमाले  नेता रबिन्द्र अधिकारीले शिक्षा पत्रकार समूह (इजेजी) ले शिक्षा क्षेत्रमा उठाएका मद्दा र विषयहरु सान्दर्भीक रहेको बताए । ‘नेपालको शिक्षा क्षेत्र अझै पनि चुनौतिको जालोमा फसेको छ,’ उनले भने, ‘हामीले शिक्षा क्षेत्रमा जति छलफल अरु क्षेत्रमा गरेका छैनौं, त्यैपनि हाम्रो शिक्षा क्षेत्र उस्तै छ् ।’ शिक्षा क्षेत्रको विकासबिना अरु क्षेत्र सुधार्न नसकिने भन्दै अधिकारीले विद्यालय, विश्वविद्यालय र सार्वजनिक शिक्षा क्षेत्रलाई सबै मिलेर सुधार्न आवश्यक रहेको औल्याए।

पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले १८ बर्षअघि शिक्षाको जुन विषयमा चर्चा हुन्थ्यो अहिले पनि तीनै विषयमा वहस र चर्चा चलिरहेको बताए। ‘अहिलेको फरक हेर्दा शिक्षा स्थानीय तहमा गएको छ, यो बोहक खासै फरक छैन,’ उनले भने, ‘हामीले देशलाई समृद्ध बनाउने भाषण ठोक्छौं तर सरकारको शिक्षा प्रणाली कस्तो छ भनेर लेखाजोखा गर्दैनौं ।’ उनले शिक्षा क्षेत्र स्थानीय तहमा गइसकेपछि स्थनीय तहले नै त्यहाँ भएका साधन–स्रोत प्रयोग गर्न सक्ने  बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले हरेक मुलुकले शिक्षालाई दिगो विकासको मुख्य अजेन्डा बनाएको बताए । ‘विकसित देशले शिक्षालाई केन्द्रमा राखेको पाइन्छ,’  उनले भने, ‘हाम्रोमा शिक्षाका एजेन्डाहरु नै पुरा गर्न नसकिने खालका हुन्छन् ।’

वार्षिकोत्सवको अवसरमा समूहले उत्कृष्ट नतिजा हासिल गर्ने रुपञ्देहीको त्रिवेणी आधारभूत विद्यालय र सिन्धुलीको कमला माध्यमिक विद्यालयलाई सम्मान पनि प्रदान गरेको थियो । त्यस्तै, शिक्षा पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै बुटबलमा कार्यरत पत्रकार कृष्ण मल्ललाई २० हजार नगद सहित सम्मान पनि गरेको छ।  

शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरुको समूह ले यो बर्षदेखि दुर्घटनामा परि ज्यान गुमाएका रुपञ्देहीका पत्रकार तिर्थराम भूसालको नाममा ‘तिर्थराम भूसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार पनि स्थापना गरेको छ।

प्रकाशित: ५ फाल्गुन २०७४ १०:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App