१५ चैत्र २०८० बिहीबार
शिक्षा

त्रिवि स्नातकोत्तरको शुल्क वृद्धि

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि शिक्षण शुल्कमा दोब्बर वृद्धि गरेको छ ।
त्रिवि कार्यकारी परिषद्को निर्णयले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी स्नातकोत्तर तहको शुल्क प्रतिसेमेस्टर ८ हजारबाट बढाएर संकायअनुसार १२ हजारदेखि २० हजारसम्म बनाएको छ।

गुणस्तरीय जनशक्ति तयार गर्न त्रिवि कार्यकारी परिषद्ले शुल्क वृद्धि गरेको विश्वविद्यालयका रजिष्ट्रार डिल्ली उप्रेतीले बताए । वार्षिक परीक्षा प्रणालीभन्दा सेमेस्टर प्रणाली खर्चिलो हुने भएकाले शिक्षण शुल्क बढाउनुपर्ने वाध्यता भएको उनले बताए।

स्नातकोत्तर तहको शुल्क प्रतिसेमेस्टर ८ हजारबाट बढाएर संकायअनुसार १२ हजारदेखि २० हजारसम्म बनाएको छ।

‘सेमेस्टर प्रणालीमा कक्षा समूह बढ्छ । शिक्षक फुलटाइम अनिवार्य हुनुपर्छ,’ कार्यकारी परिषद् सचिवसमेत रहेको उप्रेतीले नागरिकसँग भने, ‘उपत्यकामा त गत वर्षदेखि नै स्नातकोत्तरमा सेमेस्टर कार्यान्वयनमा थियो । अगामी शैक्षिक सत्रदेखि भने देशभरि समेस्टर लागू हुने निर्णय भएको छ । त्रिविमा सेमेस्टरका कोर्स अन्तर्राष्ट्रिय स्तरको भएको र प्रविधिमैत्री तथा विद्यार्थीमैत्री बनाउन पनि शुल्क वृद्धि गरिएको उनले बताए।

रजिष्ट्रार उप्रेतीले त्रिविको मुख्य आम्दानी नै परीक्षा शुल्क भएको र वार्षिक प्रणालीभन्दा सेमेस्टरमा थोरै विद्यार्थी हुने भएकाले शुल्क वृद्धि गर्नुपरेको तर्क पेस गरे । ‘५ वटै डिन कार्यालयको प्रस्तावमा कार्यकारी परिषद्ले सेमेस्टरको परीक्षा शुल्क  १५ सयबाट वृद्धि गरी २५ सय पु¥याएको हो,’ रजिष्ट्रार उप्रेतीले नागरिकसँग भने, ‘सेमेस्टरमा ४०–६० कोटा मात्र छ । प्रश्नपत्र निर्माणदेखि परीक्षा सञ्चालन र नतिजा प्रकाशनसम्म निकै खर्चिलो भएकाले परीक्षा शुल्क वृद्धि भएको हो ।’
त्रिविले शिक्षण शुल्क मात्र होइन विद्यार्थीलाई छिटो छरितो सेवा उपलब्ध गराउने लक्ष्यसहित परीक्षाका शुल्कसमेत ३३ प्रतिशतले वृद्धि गरेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार कार्यकारी परिषद्ले प्राज्ञिक परिषद्को सिफारिसमा यस वर्षको भर्ना पुस पहिलो सातादेखि खुलाएसँगै रजिस्ट्रेसन शुल्क, समकक्षता शुल्क, ट्रान्क्रिप्ट शुल्क लगायतका शीर्षकमा ३३ प्रतिशत वृद्धि गरेको बताए।

परीक्षा नियन्त्रक जोशीले विगत एक दशकअघि तय भएको शुल्कले परीक्षा नियन्त्रक कार्यालय धान्न नसकिने बताउँदै स्तरीय सेवा सुविधा प्रदान गर्न पनि शुल्क वृद्धि गरिएको बताए।

‘स्नातक तीन वर्षेबाट चार वर्षे भयो । सेमेस्टरको ८ तहको तथ्यांक राख्न पनि खर्च बढ्ने भएकाले सबै खर्च ब्योहर्न शुल्क वृद्धि गर्नु परेको हो,’ नियन्त्रक जोशीले भने । पनिकालाई चुस्त र दुरुस्त बनाउन शुल्क वृद्धि गरेर भए पनि स्तरीय सेवा सुविधा दिन खोजिएको उनको दाबी छ । नियन्त्रक जोशीले अब परीक्षा नियन्त्रण कार्यालय ढड्डामुक्त हुने जिकिर गरे । ‘विगतमा विद्यार्थीले ट्रान्क्रिप्ट लिन १५ दिन कुर्नुपथ्र्यो । अब विद्यार्थीले २४ घन्टाभित्र पाउँछन्,’ उनले भने।

विज्ञान संकायका डिन रामप्रसाद खतिवडाले सेमेस्टर प्रणालीमा स्नातकोत्तर तह गएपछि यस वर्षदेखि कार्यान्वयन हुने गरी परीक्षा शुल्कसमेत वृद्धि गरिएको जनाए।                                                                                                                                         

 

प्रकाशित: ९ माघ २०७४ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App