१६ चैत्र २०८० शुक्रबार
शिक्षा

सिटिइभिटीले सुरु गर्यो छानबिन

लहान-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त टिएसएलसी कार्यक्रम सञ्चालन गर्दै आएका संस्थाले मनपरी रकम असुलेको समाचार प्रकाशन भएपछि सिटिइभिटीले छानबिन सुरु गरेको छ । सिटिइभिटीले पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीलाई पत्राचार गरी निर्देशन दिएपछि छानबिन थालिएको हो ।

सिटिइभिटीका पूर्वाञ्चल क्षेत्रीय निर्देशक शिव दाहालसहितको टोली मंगलबार सिरहाको लहानबाट छानबिन प्रारम्भ गरेको छ । टोलीले लहानस्थित पब्लिक टेक्निकल इन्स्टिच्युट र डा. योगेन्द्र ठाकुर एजुकेसनल एकेडेमी पुगेर संस्थापक र प्रशासनसँग शुल्कलगायतको विवरण माग गरेको निर्देशक दाहालले भने । ‘हामीले अहिले इन्स्टिच्युटसँग लिखित विवरण माग गरेका छौं’, दाहालले नागरिकसँग भने, ‘अध्यनरत विद्यार्थी र अभिभावकसँग अर्को चरणमा भेट्छौं ।’ लहानमा  सिटिइभिटीबाट मान्यता प्राप्त यी दुई इन्स्टिच्युटसँगै पञ्चदेवी टेक्निकल इन्स्टिच्युट पनि सञ्चालनमा छ । सिभिल, इलेक्ट्रिकल सबओभरसियर र जेटिएको पढाइ हुने यो इन्स्टिच्युटसँग भने टोलीले विवरण माग गरेको छैन ।
‘हामीले शुल्क विवरण माग गरेका छौं । सिटिइभिटीको निर्धारित शुल्कको घेरा ननाघ्न सचेत गराउँदैछौं’, दाहालले भने, ‘इन्स्टिच्युटबाट शुल्कबारे विवरण आइसकेपछि विद्यार्थी र अभिभावकसँग जानकारी लिएर प्रतिवेदन माथि (सिटिइभिटी) मा बुझाउँछौं ।’

अनुगमनका क्रममा इन्स्टिच्युट सञ्चालकलाई सिटिइभिटीले निर्धारण गरेको शुल्कको मापदण्डबाहिर गएको भए रकम फिर्ता गरी मापदण्डभित्र आउन भनेको दाहालले बताए । ‘अहिले अध्यनरत विद्यार्थीको हकमा बढी रकम लिनुभएन, लिइसकेकाको हकमा थप छानबिन गरी अघि बढ्छौं’, उनले भने ।
सिटिइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेले नागरिकसँग भने, ‘टिएसएलसी कार्यक्रममा इन्स्टिच्युटहरुले लिएको शुल्कसम्बन्धी समाचार सार्वजनिक भएपछि तत्काल छानबिनका लागि पूर्व क्षेत्रीय कार्यालयलाई निर्देश गर्यौं ।’ तोकेको घेराबाहिर गएर मनपरी शुल्क लिने संस्थाउपर कानुनबमोजिम कारबाही हुने उनले बताए ।
वर्षौंदेखि अवैध असुली
रोजगारीको अवसर खोज्दै प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीसँग यस क्षेत्रका टिएसएलसी अध्यापन गराउने इन्स्टिच्युटले तोकिएभन्दा ७२ हजारसम्म बढी रकम असुल्दै आएको पाइएको छ । सिटिइभिटीको निर्णय लत्याउँदै यस क्षेत्रका इन्स्टिच्युटले वर्षौंदेखि मनपरी रकम असुल्दै आएका छन् ।
पूर्व क्षेत्रमा टिएसएलसी अध्यापन गराउने सिटिइभिटीसम्बद्ध ४५ इन्स्टिच्युट रहेको क्षेत्रीय निर्देशक दाहालले बताए । टिएसएलसीअन्तर्गत अनमी, सिएमए, अहेब, सबओभरसियर, अमिन, जेटिए, एमएलटीलगायतको पढाइ हुन्छ । १८ महिने यी कोर्स अध्ययनका लागि सिटिइभिटीले शूल्क सीमा निर्धारण गरिदिएको छ । सिटिइभिटीले अनमी कोसका लागि १ लाख २० हजार, सिएमएका लागि १ लाख र अन्य कोर्सका लागि १ लाखभन्दा बढी लिन नपाउने निर्णय गरेको दहालले बताए ।

यहाँका इन्स्टिच्युटले भने निजी प्राविधिक शिक्षालय महासंघको निर्णय भन्दै अनमी अध्ययन गर्ने विद्यार्थीसँग १ लाख ९२ हजारसम्म असुल्दै आएका छन् । यसैगरी सिएमएमा १ लाख ८० हजारसम्म र अन्य कोर्समा १ लाख ६० सम्म असुल्दै आएका छन् । इन्स्टिच्युटहरुले मनपरी रकम असुली गरिरहे पनि सिटिइभिटी भने मौन बसेको थियो । इन्स्टिच्युटले जति भन्यो त्यति नतिरे छोराछोरीलाई पढाउन नपाइने भएपछि अभिभावक भनेजति रकम तिर्न बाध्य छन् ।

इन्स्टिच्युटले अभिभावकलाई शूल्कलगायत अन्य  जानकारी पनि उपलब्ध गराउँदैनन् । यी संकाय सञ्चालन गर्दै आएका शिक्षण संस्थाले नागरिक बडापत्रमार्फत शुल्कलगायतका जानकारी सार्वजनिक रुपमा देखिनेगरी राख्नुपर्छ, जसको पालना हुन सकेको छैन । सिटिइभिटीको फितलो अनुगमनका कारण पनि मनपरी शुल्क लिन इन्स्टिच्युटले छुट पाएका छन् ।

प्रकाशित: ४ माघ २०७४ ०१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App