७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यार्थीको प्रसन्नताका लागि अतिरिक्त क्रियाकलाप

बालबालिका खेल्न, नाच्न, गाउनलगायतका बालमनोविज्ञानसँग जोडिएका क्रियाकलाप गर्न मन पराउछन्। यस्ता क्रियाकलापले बालबालिकाको चौतर्फी विकासमा जोड दिएका हुन्छन्। खेलले बालबालिकालाई नियम पालना गर्ने, समाजमा धेरै जनासँग मिलेर बस्ने, अरूलाई पालो दिने, आफ्नो पालोका लागि धैर्य गर्ने कुरा सिकाउँछ। नाँचगानले बालबालिकाको बालापन झल्काउँछ। यसले उनीहरूको सर्वाङ्गीण विकासमा जोड दिन्छ। त्यही भएर अहिले सत्तरकारी र निजी दुवै खाले विद्यालयले किताबी ज्ञानभन्दा पनि बालबालिकाको अतिरिक्त क्रियाकलापमा जोड दिन थालेका छन्। विगतमा स्कुल जानुपर्दा रोएर जाने अवस्थाको क्रमशः अन्त हुँदै छ। अब बाबुनानी हाँसेर स्कुल जाने दिन क्रमशः आउन थालेको छ।  

विद्यालयले स्कुलमा नानीहरूलाई किताबी ज्ञान साथै अतिरिक्त क्रियाकलाप कक्षा नै सञ्चालन गरिरहेका छन्। यसमा स्कुलले बालबालिकालाई विभिन्न खाले अतिरिक्त क्रियाकलाप गराउँछन्। जस्तैः पौडी खेल्न सिकाउनु, घोडचढी, कराँते, नाँचगान, व्यक्तित्व कलालगायत विभिन्न थरी अतिरिक्त क्रियाकलापले बालबालिकामा सर्वाङ्गीण विकासमा जोड दिएको छ।  

भक्तपुरमा रहेको काठमाडौं वल्र्ड स्कुलका डा. मिथिलेशकुमार झाले हाल नेपालका स्कुलले दिने शिक्षा अन्तर्राष्ट्रिय स्तरको रहेको बताउँछन्।  

‘हालको विद्यालय शिक्षा ग्लोबल सिटिजन बनाउने नै हो। विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने शिक्षा नै आजको आवश्यकता हो,’ झाले भने, ‘अब हामीले बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक तथा संवेगात्मक क्षमता विकास गर्ने शिक्षा दिन किताबी ज्ञानले मात्र पुग्दैन। यसका लागि विद्यालयले हाल किताबी ज्ञानभन्दा पनि अतिरिक्त क्रियाकलापमा जोड दिएका छन्।’ उनले थपे, ‘नेपालमा पनि हाल अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने स्कुलहरू खुलेका छन्। यसले नेपालमै बालबालिकाले अन्तर्राष्ट्रिय स्तरको व्यावहारिक ज्ञान दिने शिक्षा पाएका छन्।’ उनले आफ्नो स्कुलले अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रमका आधारमा विद्यालय शिक्षा उपलब्ध गराइरहेको जनाए।

सैद्धान्तिक रूपमा सिकेका ज्ञानलाई व्यावहारिक रूपमा परिणत गरी शिक्षामा जोड दिनुपर्ने लोयल्टी एकेडमीका प्रिन्सिपल वीरेन्द्र सुब्बाले जनाए। उनले बालबालिकालाई कक्षामा रटाउनुभन्दा पनि अभिनय र नाँचगानका माध्यमबाट सिकाउँदा छिटो सिक्ने र दीर्घकालसम्म सम्झिरहने अनुभव बाँडे। ‘किताबको भारी बोकाउने परम्परागत शिक्षा प्रणालीले एकातिर बालबालिकालाई स्कुलप्रति नकारात्मक विचार उत्पन्न गराउँछ भने अर्कातिर त्यस्ता स्कुलको शिक्षाले बालबालिकाको संवेगात्मक विकास गर्दैन,’ प्रिन्सिपल सुब्बाले भने, ‘तसर्थ, पढाउने शैली मात्र भिन्न भएर पुग्दैन, पढाइको मूल्याङ्कन गर्ने तरिकामा समेत परिवर्तन आउनुपर्छ।’ प्रिमियर स्कुल सातदोबाटो ललितपुरकी प्रविना थापाले बालबालिकाको क्षमताका आधारमा शिक्षा दिने प्रणाली नेपाली स्कुलले आत्मसात गरी अघि बढिरहेकाले हाल विद्यालय शिक्षाबाटै बालबालिकाको सिर्जनशील बन्दै गएको बताइन्। ‘बालबालिकालाई खेलाएर, हँसाएर, नाँचगानका माध्यमबाट व्यावहारिक ज्ञान दिने शिक्षा प्रणाली नेपालका धेरै स्कुलले दिइरहेकै छन्,’ उनले अनुभव सुनाइन्, ‘नेपालमा स्थापना भएका केही विशिष्ट श्रेणीका विद्यालयहरूले अतिरिक्त क्रियाकलापमा जोड दिने शिक्षा दिएका छन्। यसकारण यो शिक्षा अलि महँगो हुन गएको हो।’उनले थपिन्, ‘नयाँ प्रणालीअनुसारको शिक्षाले बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिएको छ।’

बालमनोविज्ञहरूले दुईदेखि दश वर्षबीचको समय बालबालिकाको जीवनका लागि जग बसाल्ने समय भएकाले अभिभावक तथा विद्यालय दुवैले यही समयमा बालबालिकाको विशेष निगरानी गर्नुपर्ने बताउँछन्। बालबालिकामा भावनात्मक विकास, शारीरिक विकास, मानसिक विकास, नैतिक विकास गर्नु आवश्यक छ। विकास सही समयमा हुन पाएन भने उनीहरू जीवनमा असल नागरिक बन्न नसक्ने अनुभव एपेक्स लाइफ स्कुलका संस्थापक सुवास न्यौपानेको छ।  

वृहस्पति विद्यासदनका प्रिन्सिपल कुमार थापाका अनुसार नेपाली स्कुलहरूले बालमैत्री शिक्षण सिकाइमा जोड दिएका छन्। बालबालिकालाई सहभागितामूलक शिक्षा दिने पाठ्यक्रम तयार भएको छ।  

‘बालबालिकाको ज्ञानेन्द्रियको प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप नेपालका स्कुलहरूमा पनि सुरु भएको छ,’ थापा भन्छन्, ‘आँखा, कान, नाक, जिब्रो, छालाको प्रयोग हुने क्रियाबाट बालबालिकाको शिक्षण सिकाइ हुनुपर्छ।’उनले थपे, ‘पाठ्यक्रम बनाउनेले नै बालमनोविज्ञान पढेको र बुझेको हुुनुपर्छ। यसरी बनाइएको पाठ्यक्रमअनुसार शिक्षकलाई तालिम दिएर कक्षाकोठामा प्रवेश गराउन सके मात्र बालबालिकाहरूले व्यावहारिक ज्ञान पाउँछन्।’ उनका अनुसार हरेक गतिविधिका लागि शिक्षकले शैक्षिक सामग्री र कक्षागत गतिविधिहरू तयार पारी कुन विषयवस्तु कसरी सिकाउने भनी योजना बनाउनुपर्छ। यसरी सरोकारवाला सबै पक्षले प्रयाप्त गृहकार्य गर्ने हो भने बालबालिकाले अतिरिक्त क्रियाकलापमा आधारित ज्ञान पाउँछन्। यसले बालाबलिकाले विद्यालय तहदेखि नै व्यावहारिक र नैतिक ज्ञान पाउँछन्।  

निजी तथा सामुदायिक विद्यालयमा अहिले पनि बालबालिकाको उमेरमा गीत, नृत्य, चित्रकला, भ्रमण, खेलकुद गतिविधिलगायतबाट शिक्षा दिइनुको साटो नर्सरी कक्षाबाटै लेखाउन पढाउन थाल्दा बालबालिकामा नकारात्मक असर पर्ने भएकाले अब विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने विद्यालय सञ्चालकहरूको भनाइ छ । 

प्रकाशित: ३० फाल्गुन २०७९ ०३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App