coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

दुर्गमका विद्यालयमा शिक्षक न पूर्वाधार

एउटै कोठामा धेरै कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता। पालिकाले आन्तरिक रूपमै केही शिक्षक नियुक्ति गरे पनि अझै अपुग छ। विद्यालय पुग्न घण्टौं लाग्छ। विद्यालयमा आवासीय सुविधा पनि छैन। यसै त शिक्षकको दरबन्दी न्यून, त्यसमाथि नियमित आउँदैनन् शिक्षक। सबै जनालाई एकै कोठामा राखेर विद्यार्थी पढाउनुपर्ने बाध्यता छ। भिन्दाभिन्दै कक्षाकोठाका लागि पर्याप्त भवन र शैक्षिक सामग्री पनि छैनन्।  

शुभकालिका गाउँपालिका–३ भर्तास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ। ७ सय २० जना विद्यार्थी पढ्ने गरे पनि भवन अभावमा कक्षा १ र २ तथा कक्षा ३ र ४ का विद्यार्थी एउटै कोठामा पढ्छन्। नियमित विद्यालय आउने विद्यार्थी २ सय २० जनाको हाराहारीमा मात्रै रहेको छन्। ‘भर्ना हुने विद्यार्थी संख्या धेरै छ तर न कक्षाकोठाको प्रबन्ध गर्न सकिएको छ, न शिक्षक छन्। १२ कक्षासम्म पढाइ हुने भए पनि शिक्षकको दरबन्दी कमै छ,’ प्रधानाध्यापक राजेन्द्र चौधरीले भने, ‘शिक्षक दरबन्दी नहुनुले कक्षाकोठा अभाव रहेकामा पनि ठिकै मान्नुपरेको छ। धेरै कोठा भएको भए पढाउन गाह्रो हुने थियो।’ गाउँपालिकाले थप एक शिक्षकको व्यवस्था गरिदिएको भए केही सहजता थपिने थियो। विद्यायमा शौचालय, खेलमैदान र खानेपानीको पनि चरम अभाव छ।

भर्ताकै कालिका माध्यमिक विद्यालयको पनि उस्तै छ अवस्था। पढाइ १० कक्षा सम्म हुने गर्छ। पर्याप्त कोठा नहुँदा २ वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ। यो विद्यालयमा पढ्ने विद्यार्थीमध्ये धेरैजसो दिवा खाजा खान पाउने आसले पढ्न आउने गरेको स्थानीय बताउँछन्। सरकारको दिवा खाजा कार्यक्रमअन्तर्गत विद्यालय व्यवस्थापन समितिले विद्यालयमै खाजा तयार गरी खुवाउने गरेको छ। सरकारले प्रति विद्यार्थी दैनिक २० रूपैयाँ नियमित रूपमा उपलब्ध गराउँदै आएको छ। यहाँ ४५ मिनेट पैदल यात्रा गरेर पनि विद्यार्थी पढ्न आउँछन्।

जिल्लाकै अर्को विकट गाउँपालिका पलाँता–६ स्थित देउली आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ। शिक्षक संख्या कम छ। ५ कक्षासम्म विद्यार्थी पढाउँदै आएका छन्। ९८ जना विद्यार्थीलाई एकसाथ धान्न हम्मे पर्छ। विद्यालयमा भवन अभाव छ। शिक्षाको पनि अभाव छ। खानेपानी र खेलकुदको त कुरा परै भयो। पलाँता गाउँपालिकाभित्र ३६ वटा सामुदायिक विद्यालय छन्। त्यसमध्ये ६ वटा माध्यमिक, दुईवटा उच्च मावि छन्। अरू सबै आधारभूत विद्यालयको अवस्था उतै हो।

‘शिक्षककै अभावमा विद्यार्थीहरूको सिकाइ कमजोर छ,’ स्थानीय एक अभिभावकले भने, ‘पालिकाले आफ्नै खर्चमा राखेका शिक्षकको संख्या अपुग छ। अग्रेजी, विज्ञान र गणित पढाउने नै छैनन्।’ पालिकाले शिक्षामा जोड दिएकै छैन। शिक्षाको गुणस्तर बढ्न सकेको छैन।  

प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले भने, ‘दुर्गमका विद्यालयमा क्षमता भएका शिक्षकहरू नै आउन मान्दैनन्, जसले गर्दा विद्यार्थीको क्षमता र ज्ञानको दायरा विस्तार हुन सकेको छैन,’ उनले भने। ‘यस्तो अवस्थामा पढेर पिछडिएको वर्ग कसरी माथि उठ्न सक्छ।

प्रकाशित: ११ माघ २०७९ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App