coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

तलब माग्न नगरपालिकामै पुगे शिक्षक

गोदावरी नगरपालिका अगाडि तलब माग्दै शिक्षकहरु। तस्बिरः पुष्पराज जोशी/नागरिक

गोदावरी नगरपालिकाले चार महिनादेखि यहाँ कार्यरत शिक्षकलाई तलब दिन सकेको छैन। चार महिनादेखि तलब नपाउँदा यहाँका शिक्षक आन्दोलित बनेका छन्। शुक्रबार दिउँसो गोदावरी नगरपालिकाका शिक्षकहरु आफ्नो चार महिनादेखिको तलबको माग गर्दै नगरपालिकामै पुगे। उनीहरुले नगरपालिका अगाडि कालो व्यानर बोकेर नाराबाजी गर्दै आफूहरुलाई चाँडोभन्दा चाँडो तलब दिनुपर्ने माग अगाडि सारेका हुन्।  

नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, गोदावरी नगर शिक्षक समिति, नेपाल राहत शिक्षक समितिको संयुक्त आयोजनामा शुक्रबार दिउँसो नगरपालिकाको कार्यालय अगाडि आएर धर्ना दिँदै विरोध गरेका छन्। विरोध कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नरेन्द्रराज शर्माले पटक–पटक तलब नपाएको बिषय नगरप्रमुखलाई राख्न खोज्दा भेट्न समेत नपाएको बताए। ‘हामीले किन तलब पाएनौ भन्दा नगरप्रमुखले हाम्रा कुरा सुन्नु भएन। नगरप्रमुखले हामीलाई भेट्न नचाहेपछि हामीले खुला पत्र लेखेका थियौ। तर, पनि हाम्रो सुनुवाई भएन। त्यसैले आज हामी पुनः नगरपालिकालाई झकझकाउन यहीँ आइपुगेका छौँ।’  

यसअघि हरेक महिनामा पाउने तलब कात्तिक महिनादेखि भने नपाएको राष्ट्रिय माध्यमिक विद्यालय बल्मीका शिक्षक दशरथ ओझाले बताए। उनले भने,‘हामीले विगत चार महिनादेखि तलब खान पाएका छैनौ। हामीले हाम्रो पारिश्रमिक माग्न अहिले नगरपालिकामै पुगेका छौँ।’ नगरपालिकाको लापर्वाहीका कारण अहिलेसम्म शिक्षकले तलब पाउन नसकेको बताउँदै उनले भने,‘महिनैपिच्छे दिनुपर्ने तलब चार चार महिनासम्म पनि नपाउँदा घरपरिवार चलाउन शिक्षकहरुलाई गाह्रो भइरहेको छ। यसतर्फ नगरपालिकाको ध्यान जाओस्।’ गोदावरी नगरपालिकामा स्थायी शिक्षक, राहत शिक्षक, निजी स्रोत शिक्षक, बाल बिकास शिक्षक, नगर शिक्षक लगायतका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्।  

यस्तै नगरपालिकाले नगर शिक्षकलाई पनि तलबमा विभेद गरेको छ। नगरपालिकाद्वारा राखिएका नगर शिक्षकलाई तलबमा विभेद गरेको भन्दै नगर शिक्षकहरुले पनि आन्दोलनमा सहभागिता जनाएका छन्। नगरपालिकाले अहिले निजी शिक्षकलाई प्राथमिक तहमा मासिक २० हजार, निमावि तहमा २२ हजार र मावि तहमा २५ हजार दिने गरेको छ। आफूहरुको माग भनेको विगतमा नगरपालिकाले निजी शिक्षकको व्ययभारको जिम्मा लिएर यो तलब तोकेकोमा अब भने नगरपालिकाले नगर शिक्षकहरुको तलब वृद्धि हुनुपर्छ भन्ने पनि रहेको राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष शर्मा बताउँछन्। उनले नगर शिक्षक र संघीय शिक्षकबीच विभेद भएको बताए। ‘नगर शिक्षक र सरकारी शिक्षकको तलबमा निकै अन्तर छ। सरकारी शिक्षकले प्रावि तहमा ३५ हजार तलब छ। तर, नगर शिक्षकले २० हजार मात्रै पाउँछन्,’ उनले भने,‘विभेद भयो भन्ने मात्रै नभई नगर शिक्षकले न त पोशाक भत्ता नै पाउने गरेका छन्।’

कक्षा १ देखि ७ सम्म स्थानीय पाठ्यक्रम बनाउनु पर्ने भए पनि त्यो अहिलेसम्म नगरपालिकाले नबनाएको पनि उनी बताउँछन्।  

गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट भने नगरभित्रका विद्यालयहरुले मंसिरमा भर्नुपर्ने माग फारम नभरेका कारण समस्या आएको बताए। उनले भने,‘लेखा शाखा प्रमुख पनि अनिवार्य अवकास भएकाले पनि यसमा समस्या देखिएको हो।’ अब सोमबारदेखि भने समस्या समाधान हुनेगरी काम  हुने भएको उनले बताए। ‘हामीले महालेखा परीक्षकबाट एक जना कार्यालय प्रमुखको नाममा मलेपमा गएर खाता खोलेका छौँ,’ उनले भने,‘पैसा जम्मा भइसकेको छ, अब सोमबारदेखि रोकिएका आर्थिक समस्या समाधान हुनेछ।’  

प्रकाशित: ६ माघ २०७९ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App