८ वैशाख २०८१ शनिबार
शिक्षा

चन्दादाताको सहयोगमा विद्यालयको घेराबन्दी, प्रवेशद्वार र मञ्च निर्माण

उदयपुरको त्रियुगा नगरपालिका १६ भोर्लेस्थित माध्यमिक विद्यालयमा चन्दादाताको सहयोगबाट आकर्षक प्रवेशद्वार (गेट), मञ्च र घेराबन्दी निर्माण सम्पन्न भएको छ। विद्यालयले अभिभावक, शिक्षक, शिक्षा प्रेमी, कर्मचारी र जनप्रतिनिधिसँग चन्दा संकलन गरेर अपुग रकम थप्दै गेट, कार्यक्रम गर्ने मञ्च र स्कुल घेराबन्दी निर्माण गरेको हो।  

विद्यालयले बिभिन्न सय जनालाई सम्मान गरेको छ। सामुदायिक विद्यालयले जनप्रतिनिधि, अभिभावक, शिक्षापेमी र शिक्षकदेखि पूर्व विद्यार्थीसँगै विद्यालय निर्माणमा योगदान पुर्‍याउने स्थानीयलाई सम्मान गरेको हो। चन्दाबापत संकलन ५ लाख ५६ हजार ४ सय ७५ रुपैँया र विद्यालयको १ लाख ३९ हजार थपेर ६ लाख ९५ हजार, ४ सय ७५ रुपैयाँमा आकर्षक गेट र कार्यक्रम मञ्च र प्राङ्गण घेराबेरा गरिएको प्रधानाध्यापक ९प्रअ० बिपिनचन्द्र राईले बताए।  

प्रअ राईका अनुसार १ वर्षअघि ‘सहकार्यबाट सबै कुरा सम्भव छ’ भन्ने नाराका साथ गेट, मञ्च र घेराबेरा गर्न विद्यालयबाट चन्दादातासँग सहयोग आव्हान गरेको थियो। जस अनुसार गच्छे अनुसार स्थानीय अभिभावकदेखि शिक्षक, कर्मचारी र जनप्रतिनिधिसम्मले चन्दा दिएका थिए। न्यूनतम ५ सयदेखि अधिकतम २० हजारसम्म चन्दा प्राप्त भएपछि अपुग रकम विद्यालयबाट थपेर आकर्षक गेट, भेला, बैठक र सांस्कृतिक कार्यक्रम गर्न व्यवस्थित मञ्च र विद्यालय सुरक्षित राख्न घेराबेरा निर्माण गरेको उनले बताए।  

बिहीबार एक कार्यक्रमका बिच वडाध्यक्ष मानबहादुर राईले गेट, मञ्च र घेराबन्दीको उद्घाटन गरे। सोही विद्यालयका पूर्व प्रअ रहेका राई ७ वर्षअघि मात्र राजीनामा दिएर  ०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जितेकोमा ०७९ मा पुनः दोहोरिएका हुन्। कार्यक्रममा विद्यालय र अभिभावकको तर्फबाट वडाध्यक्ष राईलाई सम्मान गरियो। २ दशक लामो सेवा गरेर विद्यालयको शैक्षिक, भौतिक स्तरोन्नतिमा विशेष योगदान गरेको भन्दै शिक्षक तथा अभिभावकसमेतले राईर्लाइ सम्मान गरेका थिए।  

त्रियुगा नगरपालिकाका १६ लाई नगरका १६ वडै वडामध्ये सबभन्दा राम्रो र विकसित वडाको रुपमा चिनाउन चाहेको र त्यसमा वडाबासीले साथ दिँदै आएको राईले बताए।  

स्थानीय चन्दादाताहरूले अनुपम उदाहरण देखाएका स्थानीयका छोराछोरी अध्ययन गर्ने उक्त विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र भौतिक संरचना, खेलकुद तथा अन्य सृजनशील क्रियाकलापमा वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि दोहोराए।  

सोही वडाबाट महिला सदस्य दोहोरिएर जिल्ला समन्वय समिति सदस्य रहेकी गोमा कार्कीले विद्यालय र अभिभावक मिलेर अनुकरणीय काम गरेको भन्दै प्रशंसा गरिन्। वडाका अन्य विद्यालयहरूले यस्तै नमुना काम गरेर देखाउन आग्रह गर्दै उनले त्यसका लागि आफू, वडाध्यक्ष र सदस्यहरू एकजुट रहेको बताइन्।  

कार्यक्रममा वडा सचिव महेश खनाललगायत विद्यालयलाई स्थापनाकालदेखि अहिलेसम्मको अवस्थामा ल्याउन बिभिन्न क्षेत्र र तहमा रहेर योगदान गरेकालाई पनि सम्मान गरियो। संस्थापक शिक्षक, अभिभावक, जग्गादाता, सहयोगदाता निकाय, कर्मचारी, पूर्व जनप्रतिनिधिलगायत बिभिन्न क्षेत्रका समाजसेवीहरू सय हाराहारीलाई सम्मान गरिएको प्रअ राईले बताए।  

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर रखाल मगरले गेट मञ्च र घेराबन्दी निर्माण योजनाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। शिक्षक चूडामणि राईका अनुसार १० वर्षअघि नै बालमैत्री घोषित प्रविधिमैत्री विद्यालयमा अंग्र्रेजी र नेपाली माध्यममा पठनपाठन हुने गरेको छ। सो विद्यालयका सबै शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सोही सामुदायिक विद्यालयमा पढाउँदै आएको शिक्षक राईले बताए।  

प्रकाशित: ५ माघ २०७९ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App