काठमाडौंस्थित कलंकीमा रहेको टिम कन्सल्टले सुषमा केसीको नो अबजेक्सन लेटर (एनओसी)को अनलाइन आवेदन किशोर गिरीको प्रोफाइलबाट भरेको पाइयो। कन्सल्टेन्सीले सुषमाको नागरिकताको साटो गिरीको नागरिकता अपलोड गरेको थियो। जब सुषमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको एनओसी शाखा भक्तपुरमा एनओसी लिन पुगिन्, उनले सक्कल कागजात पेस गरिन्। कार्यालय प्रमुख एवम् मन्त्रालयका उपसचिव वासुदेव वस्तीले सक्कल कागजातसँग अनलाइन अपलोड गरेको कागजात मिलाउँदा नागरिकता नम्बर फरक पाइएको जनाए।
‘नागरिकता नम्बर ३६–०१–७७ –०५९६० सुषमा केसीको हुनुपर्नेमा नागरिकता नम्बर २७१०४८-४७९८३ रहेको पाइयो। यो नागरिकता नम्बर गिरीको भएको पाइयो,’ कार्यालय प्रमुख वस्तीले उक्त कन्सल्टेन्सीलाई कारबाही गरेको कागजात देखाउँदै भने, ‘उक्त शैक्षिक परामर्श दातृ निकायसँग तत्काल समन्वय गरी आगामी दिनमा यसप्रकारका गल्ती नदोहोर्याउन सर्त राखी लिखित माफी मगाइयो।’ उनले थपे, ‘विद्यार्थी सुषमा केसीसँग पुनः सबै सक्कल कागजातअनुसार एनओसी सेवा अगाडि बढ्यो।’
पुतली सडकअवस्थित नेपाल इन्टरनेसनल इजुकेसन कन्सल्टेन्सी प्रालिले किरन खड्काको आइडीमा सुवर्ण नकर्मीको आइडी प्रयोग गरको पाइएको छ। कन्सल्टेन्सीले नक्कली आइडी प्रयोग गरी अनलाइन फारम अपलोड गरेकाले विद्यार्थी किरनले सास्ती खेप्नु पर्यो। उनको एनओसी रोकियो।
नेक्सस प्रिन्टिङ काठमाडौंका मेनेजर महेश बिष्टले पनि एनओसी शाखामा एनओसी प्रोफाइलमा नागरिकता गलत भएको भन्दै अब आइन्दा यस्तो गल्ती नगर्ने भन्दै लिखित माफी मागेका छन्। ‘निबेल गुरुङको एनओसी प्रोफाइल बनाउँदा छिरिङ डोल्मा शेर्पाको नागरिकता अपलोड भएको रहेछ,’ कार्यालय प्रमुख ओस्तीले भने, ‘जसका कारण निबेलको एनओसी निवेदन नै अस्वीकृत भएको छ।’ यति मात्र होइन नागरिककर्मी मंगलबार एनओसी शाखा भक्तपुर पुग्दा स्थलमा कन्सल्टेन्सी सञ्चालकहरू आफ्नो गल्ती स्वीकार गर्दै लिखित माफी मागिरहेका थिए। पुतली सडकमा रहेको ट्रिनिटी एजुकेसन प्रालि, एनआइइसी प्रालिले पनि विद्यार्थीको आवेदन भरिदिँदा अरूको प्रोफाइल प्रयोग गरेको तथा फर्जी कागजात अपलोड गरेको पाइएको उनले जनाए। वस्तीका अनुसार शैक्षिक परामर्श दातृ निकायहरूको लापार्बाहीकै कारण उच्च शिक्षा हासिल गर्न विदेश पुगेका नेपाली विद्यार्थीहरूले समेत सास्ती भोग्नु परेको गुनासाहरू मन्त्रालयमा दिनहुँ आइरहेका छन्। मन्त्रालयले सजगता अपनाएर शैक्षिक परामर्श दातृ निकायहरूले भरेका सबै विद्यार्थीको कागजात निकै गहन रूपमा रुजु गर्ने गरेको र विद्यार्थीलाई एनओसी लिन आउँदा सक्कल कागजात अनिवार्य गरेको उनले जनाए।
‘रूपन्देहीको ब्लु स्काई इजुकेसनले दर्शन बस्यालको शैक्षिक प्रमाणपत्र नै गलत अपलोड गरेको थियो,’ उनले भने, ‘यसलाई पनि हामीले कारबाही गर्यौं,’ उनले थपे, ‘पहिलो चरणमा स्पष्टीकरण सोधेर लिखित माफी मगाइयो। माफीमा पनि कन्सल्टेन्सी सञ्चालकले आफू कारबाहीमा पर्ने त्रासका कारण विद्यार्थीलाई नै गल्ती देखाएर माफी मागेका छन्। कन्सल्टेन्सीले विद्यार्थीबाट मोटो रकम लिएर अनलाइन फारम कन्सल्टेन्सीकै लोगोबाट अपलोड गरेपछि दोषी कन्सल्टेन्सी नै हुन्छ।’
विदेशमा पढाइका साथै अवसर पाइने भएकाले नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेशकै शैक्षिक संस्था रोज्ने गरेका छन्। यसका लागि विद्यार्थीको पहिलो रोजाइ नै शैक्षिक परामर्श दातृ निकाय बन्छ। विद्यार्थीहरू हजारौं रकम शुल्क तिरेर कन्सल्टेन्सीमा सही परामर्श र सूचना लिन जाने गर्छन्। तर तिनै कन्सल्टेन्सीको लापार्बाहीका कारण विद्यार्थीले स्वदेश तथा विदेशमा सास्ती खेप्नुपर्ने अवस्था छ। यसले विद्यार्थी तथा तिनका अभिभावकलाई मानसिक पीडा दिएको छ। प्रमुख ओस्तीका अनुसार शैक्षिक परामर्श दातृ निकायहरू फर्जी कागजात तयार गरी विद्यार्थीको एनओसी अप्लाई गर्ने विकृति बढिरहेको छ। विद्यार्थी र अभिभावक सचेत हुन आवश्यक छ भने शैक्षिक परामर्श दातृ निकाय शुद्धीकरण हुनु जरुरी छ।
मन्त्रालयले हाल रसियामा पनि विकृति पढ्दै गएपछि हाललाई रसियाका लागि एनओसी मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि रोकेको छ। ‘कन्सल्टेन्सी सञ्चालकले विद्यार्थीबाट मोटो रकम असुलेर फर्जी कागजात तयार गरी पठाउने गरेको पाइयो,’ उनले भने, ‘मन्त्रालयमा रसियाबाट विद्यार्थीले कन्सल्टेन्सीले भनेअनुसारको कलेज नभएको, सेवासुविधा नपाएको, भाषा नजान्दा समस्या परेकोलगायत थुप्रै गुनासा रसियामा रहेका नेपाली राजदूतावासबाट आयो।’ उनका अनुसार सन् २०२२ को अन्तसम्ममा ६९ देशमा उच्च शिक्षा हासिल गर्न कुल एक लाख २१ हजार ४ सय १९ नेपाली विद्यार्थीले एनओसी लिएका छन्। जसमध्ये सबैभन्दा बढी ६६ हजार ८ सय २ ले अष्ट्रेलियाका लागि एनओसी लिएका छन् भने जापानका लागि १६ हजार एक सय ५७, क्यानाडाका लागि ११ हजार ३२, अमेरिकाका लागि ५ हजार १ सय २० तथा बेलायतका लागि ७ हजार ६ सय २७ ले एनओसी लिएका छन्। एनओसीबाटै राज्यले कुल २७ करोड ६२ लाख २६ हजार राजस्व उठाएको मन्त्रालयले जनाएको छ।
प्रकाशित: २९ पुस २०७९ ०१:४९ शुक्रबार