coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

जाडो बढेपछि रौतहटका विद्यालयहरु बन्द गरिँदै

शीतलहरले गर्दा जनजीवन प्रभाभित भएपछि रौतहटका विद्यालयहरुमा विदा दिन थालिएको छ।  एकै दिन रौतहटका पाँच पालिकाले सामुदायिक विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेका छन्। 

सोमबार रौतहटको गढीमाई, माधव नारायण, राजपुर, परोहा नगरपालिका तथा यमुनामाई गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।  

अत्यधिक जाडो बढेपछि बालबालिकालाई अप्ठ्यारो पर्ने स्थिति सिर्जना भएको छ।  सर्वसाधारणलाई घरबाट निस्कन पनि अप्ठ्यारो हुन थालेपछि सोमवार विद्यालयहरुमा विद्यार्थीको उपस्थिति अत्यन्त कम भएको थियो।  

विद्यालयमा विद्यार्थीको उपस्थिति कम भएको तथा जाडोबाट जोगिने कुनै उपाय विद्यालयमा नहुँदा विभिन्न पालिकाले विद्यालयको पठनपाठन रोक्न थालेका हुन्।  दैनिक एक हजारदेखि एक हजार पाँच सय विद्यार्थी उपस्थित हुने विद्यालयमा अत्यधिक जाडो बढेपछि सोमवार दुई सयभन्दा कम विद्यार्थी उपस्थित भएको एक विद्यालयका प्रअले बताएका छन्।  

गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रकुमार यादवले अत्यधिक जाडो बढेपछि मंगलवारदेखि शुक्रवारसम्म चार दिनका लागि सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको जानकारी दिएका छन्।  

यसै गरी माधव नारायण नगरपालिकाको निर्देशनमा मंगलवारदेखि चार दिनको लागि विद्यालयको पठनपाठन बन्द गरिएको देवी माध्यमिक विद्यालय सखुअवाका प्रधानाध्यापक लखेन्द्र प्रसाद यादवले जनाएका छन्।  

अत्यधिक जाडो बढेपछि विद्यालयहरुमा जाडो विदा दिन थालिएको छ।  दिन र रात एकै किसिमले अत्यधिक जाडो बढ्दा धेरै क्षेत्र प्रभावित भएको छ।  मंगलवारको शीतलहर हेर्दा केही दिन अझै जाडो यथावत रहने अनुमान गरिएको छ।  

प्रकाशित: १८ पुस २०७९ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App