७ वैशाख २०८१ शुक्रबार
शिक्षा

विद्यालय जाँदा-आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ

दोगडाकेदार गाउँपालिका-१ बैतडीका प्रकाश विष्टले भर्खर किशोरावस्थामा प्रवेश गरे। गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ। बिहान पढाइ हुने बेलामा साढे ३ बजे नै ‘आलराम’ लगाउनुपर्छ। ४ बजे पोसाक, जुत्ता, टोपी कसेर झोला बोक्दै बाटो लाग्नुपर्छ र बल्ल ७ बजे ‘स्कुल’ पुगिन्छ।

उनलाई आधारभूत तहसम्म पढ्न केही असजिलो थिएन। जब उनले ८ कक्षा उत्तीर्ण गरे त्यसपछि उनको दौडाइ सुरु भयो। गत वैशाखमा पञ्चदेव महानन्द मावि रिममा भर्ना भएका विष्टले विद्यालय जाँदा-आउँदा मात्रै दैनिक छ घण्टाको हाराहारीमा बाटोमै बिताउनुपर्छ। ‘२४ घण्टामध्ये छ घण्टा स्कुल र छ घण्टा बाटामै बिताउनुपर्छ’,उनले भने, ‘रिममा पढ्न गएपछि समय तालिका निकै पेचिलो भयो। सुत्न र घरायसी काम गर्नै समय बाँड्नुपर्छ। पढ्ने समय त त्यस्तै हो।’

गोरङका प्रकाश मात्रै होइन, उनी जस्तै धेरै विद्यार्थीको दिनचर्या एउटै छ। बिहान स्कुल लाग्दा ४ बजे र दिउँसो स्कुलमा ७ बजे घरबाट निस्कनैपर्छ। लामो दिनमा उज्यालोमै घर पुग्ने हुँदा अलि सजिलो थियो। छोटा दिन (हिउँदे याम) मा भने निकै समस्या पर्छ। गोरङकै ९ कक्षामा पढ्ने उर्मिला विष्टले भनिन्, ‘लामो दिनमा त उज्यालोमै घर पुगिन्छ। छोटा दिनमा भने राति पर्छ। सबै सँगै आउन कहिल्यै अरूलाई कुर्नुपर्छ त कहिल्यै आफूले कुर्नुपर्छ।’ टाढाको बाटो हुँदा एक्लै हिंड्न नसकिने उनले बताए।

उनका अनुसार ८ कक्षा पास भएका विद्यार्थी सबै स्कुल जाँदैनन्। ‘टाढा भएकै कारण केटा इन्डिया (भारत) जाने त केटीहरू बिहे गरेर जाने धेरै छन्। केही विद्यार्थी पञ्चदेव त केही विद्यार्थी डिलासैन गाउँपालिकाको शिक्षा केन्द्र अमर मावि धामीगाउँमा जाने गरेका छन्,’उनले भनिन्।

उर्मिलासँगै ८ कक्षामा पढ्ने १५ जना थिए तर अहिले ९ कक्षा पढ्न रिम जाने नौ जना मात्रै छन्। ‘यसमध्ये पनि दुईचार जना त स्कुलै छोड्ने कुरा गरिरहेका छन्’, उनले भनिन्, ‘घरको काम पनि गर्नु स्कुल पनि जानु सम्भव नहुँदो रहेछ। घरमा बढी मान्छे हुने त निर्धक्क स्कुल जान्छन्, नहुनेलाई त समस्यै हुन्छ।’

विमल जोशीका भाइबहिनीहरू धामीगाउँको शिक्षा केन्द्रमै पढ्न जान्छन्। धामीगाउँ पढ्न पनि त्यति सजिलो छैन। गोरङका विद्यार्थीलाई अढाईदेखि तीन घण्टा समय हिंड्नैपर्छ। भाइबहिनीमा जेठा जोशी धामीगाउँ पढ्न कहिल्यै आफन्तको घरमा बस्ने त कहिल्यै आफ्नै घरबाट जाने हुँदा बहिनी तुलसा र भाइ शिव पनि सोही विद्यालय पढ्न थालेका हुन्।

नातेदार भएको र पहिलेदेखि नै आफ्नो टोलका सबै विद्यार्थीले धामीगाउँ पढेको हुँदा आफू पनि सोही विद्यालय पढ्न गएको उनले बताए। ‘मोरङका विद्यार्थीलाई पढ्न जता गए पनि टाढै पर्छ’,उनले भने, ‘रिम, धामीगाउँ जता गए पनि पाँचछ घण्टा बाटामै बिताउनुपर्छ। दिनभरि हिंडेपछि गृहकार्य गर्ने पनि समय हुँदैन। घर पुग्दा अँध्यारो हुन्छ। खाना खाएर सुत्ने त्यसैमा समय बराबर हुन्छ।’

त्यसो त गोरङका विद्यार्थी रिम पढ्न थालेको हिजोआज होइन। वर्षौं पहिलेदेखि नै शिक्षा आर्जन गर्न चाहने विद्यालय अभावले नै विस्थापित भइरहेका थिए। ‘नौ वर्षअघि रिम पढ्न जाँदा हामी छ जना मात्रै थियौं’, पूर्वविद्यार्थी सुनिता विष्टले भनिन्, ‘१२ जना कक्षा ८ मा उत्तीर्ण भएका थियौं तर रिम पढ्न जाने छ जना मात्रै भयौं। स्कुल नजाने चार जना केटाले बिहे गरेर भारततिर गए भने दुई जना केटी बिहे गरेर गए।’

उनका अनुसार उनीसँगै विद्यालय जाने छ जना पनि पछिल्लो वर्ष तीन जनामै झरे। ‘घरको काम र टाढाको विद्यालय नै उनीहरूका लागि हासिल गर्ने शिक्षा अँधेरी बन्यो। उनी सम्झिन्छन्। नजिकै शैक्षिक संस्था भए सबै शिक्षित हुने उनले बताए। ‘गाउँमै विद्यालय भएको भए अशिक्षित कोही हुनुपर्ने थिएन’, उनी भन्छन्, ‘विद्यालयकै कारणले यहाँका शिक्षित परिवार विस्थापित भइसकेका छन्। अरू सर्वसाधारणको त के कुरा।’ गोरङका सर्वसाधारण ८ कक्षा पास गरेपछि पढाइ सकिएको सम्झिने गरेको उनी बताउँछन्।

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की पनि विद्यार्थीका लागि विद्यालय निकै टाढा हुँदा निकै समस्या भएको बताए। ‘बालबालिकालाई निकै टाढा छ’, उनले भने, ‘यो सबै भौगोलिक बनावटले हो। गाउँगाउँमा विद्यालय राखेर पनि साध्य हुँदैन। गाउँहरू निकै टाढाटाढा छन्। त्यो ठाउँबाट विद्यार्थीले हिंडेर आउनुपर्छ। ठूलो मान्छेलाई नै डेढ दुई घण्टा लाग्ने ठाउँमा बालबालिकालाई बढी समय लाग्नु स्वाभाविक हो।’

विद्यालयमा छात्रावास किन नबनाएको भन्ने सोधाइमा उनी भन्छन्, ‘अहिले छात्रावास छैन। यसका लागि हामीले पटकपटक छलफल पनि गरेका हौं। केके नमिलेर त्यस्तै भयो।’

उनका अनुसार सबैभन्दा टाढाका विद्यार्थीका गोरङकै हुन्। ‘तिनै विद्यार्थीको सजिलोका लागि आगामी शैक्षिक सत्रदेखि बेताल आधारभूतलाई मावि बनाउने तयारी गरिरहेका छौं। नयाँ शैक्षिक शत्रबाट ९ कक्षामा पढाइसमेत सुरु हुन्छ।’ उनले भने। त्यसपछि ‘एसइई’ उत्तीर्ण भएर मात्रै ‘प्लस टू’ पढ्न रिम आउनुपर्ने उनले बताए।

अहिले दोगडाकेदार गाउँपालिकामा एउटा क्याम्पस छ। गोरङकै विद्यार्थीले पढ्न जाने हो भने झण्डै सात घण्टा हिंडेर खोचलेकमा क्याम्पस पढ्न जानुपर्छ। भौगोलिक बनावटले पछि टाढाका विद्यार्थीलाई निकै समस्या हुने गरेको उनले बताए। गाउँपालिका अध्यक्ष कार्कीका अनुसार टाढाबाट आउने विद्यार्थीका लागि क्याम्पस पढ्न सजिलोका लागि छात्रावासको व्यवस्था गर्ने सोच बनाएको उनले बताए। रासस

प्रकाशित: १२ मंसिर २०७९ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App