१७ माघ २०७९ मंगलबार
सम्पादकीय

विकास सम्भव छ?

हामी बेचैन छौँ। विकासका निम्ति छटपटी छ। प्रायः नकारात्मक पक्ष बढी आउँछन्। यसको कारण विकासको गति नपुग्नु हो। जति कामले गति लिन्छ, त्यति हामीलाई अरू उत्साहित बनाउँछ।

यसको अर्थ भए वा गरेका केही राम्रा कामलाई वास्ता नगर्ने भन्ने होइन। यस्तै भएका केही राम्रा काममध्येमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनालाई लिन सकिन्छ।

कुनै बेला कर्णालीमा स्वास्थ्यकर्मी पठाउन सकिँदैनथ्यो। त्यहाँ जान कोही पनि तयार नभएको अवस्था अहिले आएर एकाएक परिवर्तन भएको छ। आज कर्णालीले आफैं चिकित्सक उत्पादन गरेर देश–विदेशलाई दिन सक्ने अवस्था आएको छ।

चिकित्सा शिक्षा र सेवाका अभियन्ता डा.गोविन्द केसीले किन यी विषयलाई आफ्नो अभियान र आन्दोलनको प्रमुख पक्ष बनाए भन्ने जवाफ यही हो।

वास्तवमा दुर्गम र सुगम सेवा–सुविधाको प्राप्तिले बनाउने हो। बाटाघाटाका हिसाबले देश अब पूरै विकट छैन। सडकको अवस्था राम्रो नहोला तर त्यहाँ गाडी जान थालेको छ। देशका प्रायः सबैजसो स्थानलाई हवाईमार्गले पनि जोडेको छ।

यस हिसाबले हेर्दा आजभन्दा तीन दशक अगाडिको नेपाल र आजको नेपालमा ठूलो परिवर्तन आएको छ। खालि त्यो परिवर्तनको गति कम भएकामा मात्र गुनासो हो।

त्यसैले राजनीतिक परिवर्तनमा विकासको गति थपिएपछि दिगो हुन्छ। त्यसपछि राजनीतिक परिवर्तनकै निम्ति लागिरहनुपर्ने अवस्था रहँदैन। नागरिकमा अहिले देखिएका नकारात्मक भावलाई परिवर्तन गर्ने यही उत्तम उपाय हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ तथा एकेडेमिक भवनको शिलान्यास गरेकी छन्।

जुम्लाको सुरम्य वातावरणमा बसेर चिकित्साशास्त्रमा उच्च शिक्षा हासिल गर्न पाउनु आफैंमा एउटा गजबको उपलब्धि हो। यस्तो विशिष्ट भौगोलिक अवस्थिति रहेको ठाउँमा पढेका विद्यार्थीले बिरामीको सेवामा आफूलाई लगाउन झनै बढी प्रेरणा प्राप्त हुन्छ।

नेपालको हावापानी आफैंमा बसोबासका निम्ति योग्य छ। यहाँ उच्चकोटिका शैक्षिक संस्था स्थापना गरी विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिन्छ। कर्णालीको यो सफलतालाई ध्यानमा राखी देशका अन्य सम्भाव्य ठाउँमा समेत शैक्षिक केन्द्र निर्माणमा ध्यान जान सक्नुपर्छ।

यसो भयो भने एकातिर त्यसले हामीलाई दक्ष जनशक्तिको नियमित आपूर्ति मात्र गर्दैन,अर्कोतिर देशमा केही भइरहेको छ भनेर आशा जगाउन सजिलो हुन्छ।

वास्तवमा यतिबेला आम नागरिकलाई मुलुकप्रति आशावादी बनाउनुपर्ने बेला छ। देशमा केही हुँदैन भन्ने भावना यहाँ बेलाबेला प्रकट हुन्छ। मुलुकमा लोकतन्त्र स्थापना भएपछि केही दशक अस्थिरजस्तो देखिए पनि अहिले अवस्था उति साह्रो खराब छैन।

राजनीतिप्रति आम नागरिकको धेरै गुनासो भए पनि बिग्रिहालेको धेरै छैन। यसलाई सच्याउन र सम्हाल्न सजिलो छ। कैयन् देशमा जस्तो हामी आन्तरिक द्वन्द्वमा फसेका पनि छैनौं। हामीभित्र अझै असन्तुष्टि भने छन्। ती असन्तुष्टिलाई पहिचान गर्दै हटाउनतिर हामी सबैको ध्यान जानु आवश्यक छ।

यतिबेला देशमा सबैजसो दल आफ्नो आगामी पाँच वर्षको नेतृत्व चयनमा लागेका छन्। अबको आधा दशक त्यो नेतृत्वले मुलुक हाँक्नेछ। तिनलाई राम्रो कामका निम्ति निरन्तर सजग गराइरहने हो भने परिवर्तन सम्भव छ। सुखद पक्ष के हो भने देशमा अहिले राम्रो पढाइलेखाइ भएका व्यक्तिको उपस्थिति छ।

युवाहरूको सीप र जाँगर हेर्दा देशमा केही हुन्छ भन्ने भाव उत्पन्न भइरहेको छ। निजी क्षेत्रमै व्यक्तिले आफैं धेरै राम्रा काम गरिरहेका छन्। सिर्जनाको क्षेत्रमा पनि काम भइरहेको छ। यो अवस्थामा सार्वजनिक क्षेत्रमा विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्न सक्ने गरी काम हुने हो भने देश विकास धेरै टाढाको विषय हुन सक्दैन।

त्यसैले कुन क्षेत्रमा के गर्न सकिन्छ भन्ने पहिचान गरी अगाडि बढ्ने तयारी हुनु आवश्यक छ। अबका हाम्रा आकांक्षाको आकलन हुनुपर्छ। अबको एक दशकमा हामीले मुलुकलाई कहाँ पुर्‍याउने भन्ने सपना हुनु र त्यसलाई कार्यान्वयन गर्नु आवश्यक छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तो एउटा संस्थाबाट उज्यालो प्राप्त भएको छ भने अन्य यस्तै संस्था हुने हो भने त्यसले हाम्रो जीवनमै फरकपन ल्याउन सक्छ। असन्तुष्टि प्रगतिको कारक हो। अहिले आम नागरिकमा देखिएको असन्तुष्टिलाई ऊर्जाका रूपमा लिएर अगाडि बढ्ने तत्परता राजनीतिक नेतृत्वमा हुनु आवश्यक छ।

वास्तवमा केही नेताले मात्र सकारात्मक ढंगले देशलाई अगाडि बढाउने चाहना राखे भने त्यो सम्भव छ। देशलाई लोकतान्त्रिक मुलुक बनाउन सम्भव भयो भने यसलाई विकसित र बसौंबसौं लाग्ने बनाउन केही गाह्रो छैन।

हाम्रो मुलुकका निम्ति गुणस्तरयुक्त शिक्षा दिने संस्थाको आवश्यकता छ। त्यसैगरी अध्ययन/अनुसन्धानलाई संस्कृतिकै अंग बनाएर जान सक्नुपर्छ। यहाँका जडीबुटीबारे अध्ययन गरी औषधि बनाएर संसारलाई बिक्री गर्न सकिन्छ।

यहाँको जनशक्ति उत्तम रह्यो भने उच्च गुणस्तरका अस्पताल निर्माण हुन सक्छन्। त्यहाँ उपचार गर्न संसारभरबाट मानिस आउन सक्छन्। एसियाली मुलुक सिंगापुर,थाइल्यान्ड,भारत आदिले स्वास्थ्योपचारबाट समेत आम्दानी गर्न सकेका छन् भने हामीलाई उनीहरूकै हाराहारीमा पुग्न केले छेक्छ र? हामीसँग दृढ निश्चय हुने हो भने स्रोतसाधनको कमी हुँदैन।

नेपालमा कुनै बेला यहाँका स्वास्थ्य संस्था सञ्चालन गर्न मात्र होइन, सरकारी कार्यालय स्थापना गर्न समेत बाहिरबाट जनशक्ति ल्याउनुपरेको हो। कहीँ न कहीँबाट सीप र ज्ञान हासिल गर्नैपर्छ। तर,आज त्यस्तो जनशक्ति देशमै उपलब्ध छ।

देशभित्रै खुलेका ठूला र सुविधासम्पन्न अस्पतालले समेत यहीँको जनशक्तिबाट आफूलाई अगाडि बढाइरहेका छन्। त्यसैले सोचाइको दायरा बढाएर अब देशका बहुआयामिक क्षेत्रमा परिवर्तनको आभास दिन सकौँ। आम नागरिकमा रहेको विकासप्रतिको छटपटीलाई बुझौँ।

प्रकाशित: २८ मंसिर २०७८ ०८:२५ मंगलबार

Download Nagarik App
Download Nagarik App