१४ माघ २०७८ शुक्रबार
सम्पादकीय

विकास गिज्याउने खाल्डाहरू

सडक नबन्दाको पीडा स्थानीय बासिन्दाले व्यक्त गर्नै नसक्ने किसिमको हुन्छ। यसले सडक प्रयोगकर्तालाई आक्रोशित तुल्याउँछ। लोकतान्त्रिक मुलुकका बासिन्दाले स्वतन्त्र घुमफिरको स्वतन्त्रता पाएका हुन्छन्।

तर, सडक ठीक नभएपछि तिनले स्वतन्त्र भएर घुमफिर गर्न पाउँदैनन्। घरबाट बहिर निस्किनुअघि नै सडकको अवस्थाले तिनलाई चिन्तित तुल्याउँछ। देशमा सडक विस्तार तीव्र गतिमा भइरहेको छ। निर्माण प्रक्रिया सुरु भए पनि त्यसलाई पूर्ण रूपमा ठीक अवस्थामा राख्न भने सकेको देखिँदैन।

सुरुमा सडक बनाउँदा मात्र होइन, बनाइसकेपछिका सडकको अवस्थालाई दुरुस्त राख्न सक्दा मात्र नागरिकमा आशा सञ्चारित हुन्छ। सडकलाई बेथिति हालतमा राखेका कारण पनि आमनागरिकमा सरकारप्रति नकारात्मक भाव उठ्ने गरेको छ। यसलाई कम गर्न सडकलाई यथासमय निर्माण वा पुनर्निर्माण गरी प्रयोगलाई सहज बनाउन सक्नुपर्छ।

दोलखाको जीवनरेखाका रूपमा रहेको चरिकोट–मुडे सडक अलपत्र अवस्थामा राखेको ६ वर्ष भइसकेको छ। दोलखालाई काठमाडौँ उपत्यका जोड्ने प्रमुख प्रवेश मार्गलाई यस्तो हालतमा छाड्दा जनजीवनलाई अत्यन्त कष्ट भएको छ। ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाले यो सडक निर्माणको जिम्मा लिएको यतिका वर्ष हुँदा पनि पूरा नगरी राखेको छ।

सडक समयमा निर्माण नभएकोप्रति गुनासो गर्दै स्थानीयले विरोध कार्यक्रम आयोजना गर्दै आएका छन्। उनीहरूले बसमै जिम्मेवार व्यक्तिका तस्बिरसमेत राखेर यसबारे ध्यानाकर्षण गराए पनि निर्माण सम्पन्न भएको छैन।

सडकलाई समयमा सम्पन्न नगर्दा यसले आमनागरिकको जीवनमा बहुआयामिक प्रभाव पार्छ। एक, यसले दैनिक आवतजावतमै समस्या सिर्जना गर्छ। दुई, यसले जनजीवनलाई अत्यावश्यक वस्तु र सेवासँग जोड्नसमेत कठिन हुन्छ। सडकको अवस्था यस्तो राखिछाड्दा कोही व्यक्ति बिरामी हुँदासमेत उपचारका निम्ति काठमाडौँ ल्याउन र लैजान कठिन हुन्छ।

राजधानी काठमाडौँको पर्यटकीय क्षेत्रका रूपमा रहेको हात्तीवन–गोदावरी सडकको दूरवस्थाबारे यहाँका जिम्मेवार व्यक्तिहरू जानकार छन्। सडक खाल्डाका कारण स्थानीयलाई हिँडडुलमा कठिनाइ भएको छ। सडकका खाल्डा छल्दै यात्रा गर्दा लामो समय लाग्छ। समय लामो हुने मात्र होइन, यस्ता सडकका कारण सवारी साधनको आयु कम हुने, बिग्रिने समस्या हुन्छ।

यसका लागि बढी इन्धन खर्च हुने गर्छ। यस्ता सडक आसपासका बासिन्दाको जीवन पनि कष्टकर हुन्छ। सडकबाट निस्केको धुलोले स्थानीय बासिन्दालाई कठिन हुन्छ। यसले तिनको स्वास्थ्य बिगार्ने खतरा पनि उत्तिकै हुन्छ। यो सडक निर्माण सुरु भएको पाँच वर्षमा पनि सम्पन्न हुन नसक्दा स्थानीय बासिन्दालाई कष्ट भइरहेको छ।

यी केही प्रतिनिधि उदाहरण मात्र हुन्। समग्र सडकका गुणस्तरमा ध्यान दिएको देखिँदैन। सडकमा खाल्डा पर्नासाथ सुरुमै मर्मतसम्भार गर्ने हो भने धेरै क्षति हुँदैन। लामो समय हुँदै गएपछि त्यो झन्झन् ठूलो हुन्छ र बनाउँदा बढी खर्च लाग्ने भइसक्छ।

सडकको खराब अवस्थाका कारण दुर्घटनासमेत हुन्छ। सडकका खाल्डाखुल्डी बनाउने मात्र होइन, सडकलाई सुरक्षित तुल्याउन छेउमा बार लगाउनेदेखि सीमांकन गर्नेसम्मका काम हुनुपर्छ।

सडकको अगाडिको अवस्थाबारे जानकारी दिने सूचकको पनि अभाव देखिन्छ। खासमा आमसडक प्रयोगकर्ताले भगवान भरोसामै आफूलाई राख्नुपर्ने अवस्था छ। सडकका कतिपय ठाउँमा मंगाल खुला छाडिएका छन्। त्यहाँ परेर मानिसको ज्यान जान सक्छ।

यस्तो अवस्थाबारे सम्बन्धित निकायको ध्यान जान नसक्नु आफैँमा विडम्बनापूर्ण अवस्था हो। हालैको ठूलो वर्षामा कपन खहरे खोलामा एक स्थानीय बालक परेर निधन भएको धेरै भएको छैन। सडकलाई धराप अवस्थामा राख्ने सम्बन्धित ठेकेदार र कर्मचारीमाथि कारबाही नहुनाले पनि यस्तो अवस्था आएको हो।

ठेकेदार, कर्मचारी र राजनीतिक व्यक्तिबीचको मिलेमतोबाट सडक समयमै निर्माण हुन नसकेका हुन्। ठेकेदारले समयमा काम सम्पन्न नगरेपछि कारबाही अगाडि बढाउनुपर्ने हुन्छ। राजनीतिक प्रभावका आधारमा यस्ता ठेकेदारमाथि कारबाही हुँदैन।

केही राष्ट्रियस्तरका नेताहरूको ठेकेदारसँगको उठबस चर्चाको विषय हुने गरेको छ। तिनको पहुँचका आधारमा कारबाही हुँदैन। समाजलाई प्रतिस्पर्धात्मक नबनाइ विकास निर्माण सहज हुँदैन। राजनीतिक पहुँचका आधारमा ठेक्का पाउने व्यक्तिले निर्माण समयमै गर्दैनन्।

तिनलाई कारबाही गर्न नसक्ने भएपछि निर्माण अधुरो रहिरहन्छ। सडक निर्माणका निम्ति अग्रिम पाइने परिचालन खर्च ठेकेदारले अन्य क्षेत्रमा लगानी गरी आम्दानी गर्न थाल्छन्। केही वर्ष राज्यको रकम सित्तैमा चलाउन पाउनु पनि ठूलै उपलब्धि हुन्छ यस्ता ठेकेदारलाई।

सडकको अवस्थाबारे अनुगमन गर्ने संयन्त्र बनाएर काम गर्नुपर्ने देखिन्छ। कुनै पनि सडकमा समस्या देखिनासाथ सम्बन्धित निकायले समयमै खबर गर्ने र त्यसमा आवश्यक काम गर्ने व्यवस्था हुनुपर्छ। एकातिर, यहाँ सडकमा हुने विकास निर्माणका काममा एकरूपता छैन। अर्कोतिर, यस्ता सडकमा धेरैवटा निकाय सक्रिय छन्। यिनका कारण सडकको दूरवस्था भइरहेको छ।

सडकलाई लथालिङ्ग छाडेका कारण व्यापक रूपमा धुलो उड्ने गरेको छ। वर्षात्को मौसममा यहाँ खासै धुलो नउड्ने हुँदा वातावरण पनि सफा देखिन्छ। हिउँद लाग्नेबित्तिकै सडकबाट उठेको धुलोले आमनागरिकलाई आक्रान्त तुल्याउने गरेको छ। यसका कारण स्थानीय बासिन्दा अनेकन रोगको सिकार भइरहेका छन्।

सडक निर्माण समयमै नहुँदा आमनागरिकको जीवनलाई अनेकन ढंगले प्रभाव पर्छ। मानसिक, शारीरिक र भौतिक रूपमै तिनलाई प्रभाव पर्छ। अतः सडकलाई असरल्ल छाड्ने अहिलेको अभ्यासमा सुधार अत्यावश्यक भइसकेको छ। सरोकारवाला निकाय मात्र होइन, नागरिक समाजका अगुवाहरूको पनि यसमा ध्यान जानु आवश्यक छ। 

प्रकाशित: ९ मंसिर २०७८ ०७:०० बिहीबार

Download Nagarik App
Download Nagarik App