८ वैशाख २०८१ शनिबार
सम्पादकीय

आत्मनिर्भरताको बाटोमा अलमल

अहिलेको विश्व बजारमा कुनै पनि मुलुक एक्लै सबै वस्तुमा आत्मनिर्भर बन्न सक्दैन। अमेरिकाजस्तो धनी मुलुक होस् वा हामी जस्ता गरिब,कोही पनि आत्मनिर्भर बन्न सक्ने अवस्था छैन।

त्यसैले प्रतिस्पर्धात्मक विश्वबजारमा आफूले जे बेच्न सकिन्छ त्यो बेच्ने र आवश्यक वस्तु किन्ने हो। पछिल्ला तीनचार दशकदेखि हामीले विश्व बजारमा कुनै खास वस्तु बेच्न सकेका छैनौँ।

हामी वस्तुभन्दा सेवा (मानव श्रम) बेच्ने मुलुकमा परिरहेका छौं। खाडीलगायत विभिन्न मुलुकमा हामी युवाको श्रम बेचिरहेका छौँ र त्यसबाट आएको पैसाले खाद्यान्न खरिद गरेर जीवन निर्वाह गरिरहेका छौँ। अहिलेको विश्वमा जसले वस्तु,सेवा, सिप र प्रविधि बेच्न सकेको छ त्यो मात्र सफल बनेको अवस्था छ। हामीले जस्तो सस्तो श्रम बेचेर कोही पनि मुलुक सम्पन्न हुन सकेको छैन।

हामीकहाँ संभावना र अवसर नभएका होइनन्। जलस्रोत र जडीबुटी मात्र राम्रोसँग बेच्न सके पर्याप्त आम्दानी हुन सक्छ। प्रत्येक वर्ष करोडौँको संख्यामा मानिस समुन्द्रको सयर गर्न पुग्छन्। आवश्यक प्रचारप्रसार र उचित प्रबन्ध गर्न सके तिनै मानिसलाई हिमाल हेर्न ल्याउन सकिन्छ। रमणीय र लोभलाग्दा हिमालका काखमा नरमाउने प्राणी कुन होला?

तर हामीकहाँ योजना बनाइँदैन। नेता र प्रशासक कसरी आफ्नो दुनो सोझ्याउने भन्नेमै चिन्तित छन्। मुलुकका लागि यहाँ सोच्ने कोही देखिएको छैन। खाडी मुलुकहरूमा अबको केही समयमा पेट्रोलियम पदार्थको सञ्चिति सकिँदैछ।

पेट्रोलियम पदार्थ बेचेर धनी भएका उनीहरूले अबको गन्तव्य पर्यटनलाई बनाउन थालेका छन्। अहिले त्यहाँ पर्यटन लक्षित पूर्वाधार बनाउने होड चलेको छ। अल्पकालीन योजना पनि बनाउन नसक्ने हाम्रो लागि दीर्घकालीन लक्ष्यको विषय त पर नै भयो।

हामीले कृषिलाई आफ्नो मुख्य पेसा बनाएको दशकौँ भइसकेको छ तर जीवन निर्वाह भने छिमेकी मुलुकले उत्पादन गरेको खाद्यवस्तुबाट भइरहेको छ। यस अर्थमा कृषिप्रधान मुलुक भन्नु अब आफैँमा लाजलाग्दो विषय बनेको छ।

गत आर्थिक वर्षमा करिव ८० अर्ब रुपियाँको खाद्यान्न आयात भएको थियो। चालु वर्षको पहिलो तीन महिनामै करिब पौने १८ अर्ब रुपियाँको खाद्यान्न आयात भएको छ। मासिक ६ अर्बको खाद्यान्न आयात भइरहेको तथ्यांकले हामीले के गरिरहेका छौँ भन्ने गम्भीर प्रश्न खडा गरेको छ।

यो वर्ष भित्र्याउने बेलामा अचानक आएको वर्षा र बाढीले करिब ११ अर्ब ८७ करोड रुपियाँको धान नष्ट गरेको छ। यसले आगामी दिनमा चामल आयात बढ्दा कुल खाद्यान्न आयात झनै अकासिने देखाएको छ।

कृषिलाई प्रमुख पेसा बनाएर पनि खाद्यान्नमा किन क्रमशः परनिर्भरताको अवस्था आइरहेको छ ? बढ्दो आयात रोक्न सरकार विफल भएको छ। सुधारको अपेक्षा गर्न सक्ने अवस्था छैन। सरकारले बनाएका योजना विफल भइरहेका छन्। अकासिँदो खाद्यान्न आयातले व्यापार घाटा चुलिएको छ। यसले अर्थतन्त्रलाई नै समस्यातर्फ धकेलेको छ।

नेपालमा कृषि पेसा खुम्चिनुमा मुख्य रूपमा दुईचारवटा कारण देखिन्छन्। दुई–तीन दशकअघि २०/४० मुरी धान,केही मुरी मकै,गहुँ र कोदो फलाउने पहाडका परिवारमा अहिले एक गेडो अन्न फल्दैन। युवा कि शहर पसेका छन् कि विदेश पुगेका छन्।

घर कुरेर बसेका वृद्ध बाउआमाले धान,मकैको कुरा परै जावोस्, तरकारी समेत उत्पादन गर्न सक्दैनन्। यही कारण पहाडी भूभाग सबै रित्ता र बन्जर हुन पुगेका छन्। यसको विकल्पमा ऊर्बर भूमि तराई मधेस दिन/परदिन भरिँदैछ। मधेसमा बसाइँ सराइको चापले खेतीयोग्य भूमिमा घर/टहरा बनिरहेका छन्। अनावश्यक रूपमा सडक बनाइरहेको अवस्था छ।

विकसित मुलुकहरूले कृषि उत्पादन बढाउन अनेकौँ उपाय अपनाएका छन्। आधुनिक प्रविधि र हाइब्रिड जातको प्रयोगले नसोचेको सफलता मिलिरहेको छ। हामीकहाँ भने किसानले समयमा मल र बिउ पाउने वातावरणसमेत बन्न सकेको छैन। उन्नत जात,पर्याप्त सिँचाइ, नयाँ प्रविधि, सिप जस्ता विषय त कल्पना मात्र हो।

कृषि मन्त्रालयको जिम्मेवारी लिएको मन्त्रीले समयमा मलखाद र बिउ वितरण गरे ठूलो कुरा मानिने अवस्था छ। यसो भन्दैमा सरकारले पटक्कै कृषिमा ध्यान दिएकै छैन भन्ने पनि होइन।

बर्सेनि ठूलो आकारको बजेट कृषिमा खर्च भइरहेको छ। कृषिका लागि अनुसन्धान केन्द्रहरू पनि बनेका र काम गरिरहेका छन्। केन्द्र, प्रदेश र स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेको पनि देखिएकै छ तर पनि कता हो कता तालमेल मिलेको छैन। आन्तरिक मागअनुसार उत्पादन हुन सकेको छैन। प्रत्येक वर्ष आयात चुलिइरहेको छ।

दूध,अण्डा, कुखुराजस्ता केही वस्तुमा हामी आत्मनिर्भर पनि भएका छौँ। यसले गर्न सके किन हुँदैन भन्ने उदाहरण देखाएको छ। शासनको बागडोर सम्हाल्नेहरूले फलफूल, माछामासु,तरकारी र अन्य खाद्यवस्तुमा किन आत्मनिर्भर हुन सकेनौँ भन्ने कारण खोज्न ढिला भइसकेको छ। कृषि एउटा विज्ञान भए पनि अन्यजस्तो जटिल प्रविधि र सिपको आवश्यकता पर्दैन।

हाम्रोमा कृषिमा पछौटेपनको अर्को मूल कारण यो अझै पनि निर्वाहमुखी साधन मात्र हुनु हो। जबसम्म कृषि पेसालाई आयआर्जनका रूपमा बदल्न सकिँदैन तबसम्म यो पेसामा युवालाई आकर्षित गर्न सकिँदैन।

कृषिलाई आयमुखी बनाएर यसबाट पनि कमाउन सकिन्छ भन्ने बनाउन सके मात्र आत्मनिर्भरताको बाटोमा लाग्नेछ। नत्र अवस्था झन जटिल बन्दै जानेछ। मलुकका तीनै तहका सरकारले कृषिलाई प्राथमिकता दिँदैमा समस्या समाधान हुँदैन। समस्याको जडमा नपुगेसम्म अहिलेको अवस्था कायमै रहनेछ।

प्रकाशित: ७ मंसिर २०७८ ०१:४४ मंगलबार

Download Nagarik App
Download Nagarik App