coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

पोखरामा विशिष्ट पर्यटक

पर्यटकीय सहर पोखराले देशमा रहेका विदेशी नियोग प्रमुख र विकास साझेदार संस्थाका उच्च पदाधिकारीलाई स्वागत गरेर पर्यटन प्रवद्र्धनको सुखद थालनी गरेको छ। कोभिड– १९ का कारण थला परेका केही क्षेत्रमा पर्यटन अग्रणी छ।

एक, हाम्रो मुलुक प्राकृतिक छटा देखाएर पर्यटक आकर्षित गर्नेमा पर्छ। दोस्रो, मुलुकको समृद्धिका निम्ति यो क्षेत्र यसै पनि धेरै  महत्त्वको छ। विदेशी पर्यटकले यसै पनि नेपाल भन्नेबित्तिकै केही छानिएका क्षेत्रलाई आफ्नो पहिलो छनोटमा पारेका छन्। यसर्थ पोखराको स्थान यसरी यात्रा गरिने नेपालका विविध स्थानमध्ये सबैभन्दा अगाडि छ। 

पोखराले विशिष्ट पाहुनालाई निम्त्याएर आफ्नो महत्त्व थप बढाएको छ नै। सँगै यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नेछ।

कोरोना विषाणु आक्रमणपछिका दुई वर्ष यसै पनि खेर गएका छन्। यी वर्षमा हामीले गर्न नसकेका धेरै कामलाई अब तीव्र गतिमा सम्पन्न गर्नुको विकल्प छैन। कुल गार्हस्थ्य उत्पादनको तीन प्रतिशत ओगटेको पर्यटन क्षेत्रले रोजगारीका निम्ति गरेको योगदान पनि उल्लेख्य छ। 

आर्थिक रूपमा सक्रिय करिब २० प्रतिशत व्यक्तिलाई यसले रोजगारी प्रदान गरेको छ। पर्यटन क्षेत्रमा संलग्न ट्राभल, टुर, होटल, पदयात्रा र अन्य अनेकन् क्षेत्रमा यसको प्रभाव छ। कोभिड– १९ को मारमा परेर धेरैले आफ्नो पेसा तथा व्यवसाय परिवर्तन गर्नुपर्ने अवस्था छ। नदीनाला, तालतलैया, हिमालपहाड, फाँटबेसी र तराईका हाम्रा अनेकन् आयाम छन्। 

प्राकृतिक रूपमा हावापानी, मानिस र संस्कृति सबैको विविधता भएको यति सुन्दर देशमै पर्यटक आउने हुन्। त्यसमा पनि संसारको छानो सगरमाथा भएको देश नेपालबाहेक अन्यत्र कहाँ छ र ?

प्रकृतिले दिएको यो अनुपम अवसरलाई उपयोग गर्दै हामीले पर्यटनलाई फेरि पुरानै लयमा फर्काउनुपर्ने अवस्था छ। त्यसका निम्ति नवीन सामान्यीकरणका अभ्यासमार्फत देशले अगाडि बढ्ने रणनीति बनाउनुपर्छ। यस क्षेत्रमा लाग्ने सबैलाई खोप लगाउने हो भने कोभिडकै कारण पछि पर्नुपर्ने अवस्था रहँदैन। 

स्वास्थ्य मापदण्ड पालना गर्दै यसै पनि अन्य क्षेत्र समेत खोल्नुपर्ने अवस्था छ। स्कुल–कलेजमा समेत भौतिक उपस्थितिमै पढाइ अगाडि बढ्न थालिसकेको छ। मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रलाई झनै टेवा दिनु पर्नेछ। त्यसका निम्ति नीति निर्माताले रणनीतिक तयारी गर्न ढिला भइसकेको छ। 

पोखराबाट सुरु भएको यो अभियानलाई अन्य क्षेत्रमा समेत दोहोर्‍याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन प्रवद्र्धन बोर्ड र अन्य सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्छ। कोरोना संकट रहेको भनेर चुप बस्ने भन्दा अब गर्न सकिने कामको तयारी गर्नु उचित हुन्छ।

कूटनीतिक व्यक्तिहरू पोखरामा गएपछि निश्चित रूपमा उनीहरूमार्फत प्रचारप्रसारमा मद्दत पुग्छ। उनीहरूले भ्रमणमा देखेका दृश्यलाई आफ्ना माध्यममार्फत फैलाउनेछन्। यसै पनि नेपालप्रति विश्वको उत्सुकता रहेको छ। यो मुलुकमा आउन चाहने पर्यटकको संख्या ठूलो छ। कोरोनाका कारण मात्र धेरैले आफ्नो यात्रालाई स्थगन गर्नुपरेको छ।

पहिले समूह बनाएर पर्यटकहरू हिँड्ने गरेका थिए। कोभिडका कारण अहिले सामूहिक यात्रालाई अवरोध भए पनि व्यक्ति र परिवारका भ्रमण हुन सक्छन्। नेपालले पनि कसरी प्रभावशाली व्यक्तिलाई आकर्षित गर्न सकिन्छ भन्ने सोच बनाउनु उचित हुन्छ। कोभिड–१९ संक्रमण फैलिएकै बेला पनि केही विशिष्ट पाहुनाले नेपाल भ्रमण गरी आरोहण गरेका थिए।

 त्यस्ता कठिन अवस्थामा पनि नेपालको आकर्षणले तिनलाई तानेको थियो भने अब बिस्तारै सामान्य अवस्थामा जाँदा अरू व्यक्ति आउन सक्छन्। संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने बेला हो। थोरै मानिस आऊन् तर धेरै खर्च गरून् भन्न ध्येय राख्ने हो भने भुटानबाट समेत नेपालले सिक्न सक्छ। हुन त हामीले जहिल्यै धेरैभन्दा धेरै मानिसलाई यहाँ स्वागत गरेका हौँ।

यो अस्थिरताको वातावरणमा मानिस यात्रा गर्न सकस मानिरहेका छन्। सकेसम्म यहाँ बढीभन्दा बढी व्यक्तिलाई खोप लगाएर संक्रमण नियन्त्रणमा लैजाने हो भने पर्यटन क्षेत्र खुल्न सक्छ। कतिपय अवस्थामा नेपालका बारेमा नकारात्मक सन्देश पनि गइरहेका छन्।

 एसियाका धेरै देशलाई संक्रमणका हिसाबले सुरक्षित ठानिरहेका बेला नेपाललाई भने अझै खतराको सूचीमा राखेको पाइन्छ। यस्ता विषयमा समयमै ध्यान दिने र सम्बन्धित मुलुकलाई नेपाल सुरक्षित रहेको जानकारी गराउन सक्नुपर्छ। विश्वका धेरै मुलुकले आफूलाई खुलाउँदै गएका छन्।

त्यसमा पनि पर्यटन क्षेत्रमा आफूलाई अग्रणी ठानेका मुलुकले त झनै यसमा जोड दिएका छन्। नेपालले पनि त्यसबाट पाठ सिक्नु जरुरी छ। तर, आफू तयारी केही नगर्ने नेपाल कोरोना मुक्त छ भनेर भाषण मात्रै गर्ने प्रवृत्तिले कहीँ पु¥याउँदैन। त्यसैले यसका निम्ति तयारी सबैभन्दा महत्त्वपूर्ण हुन आउँछ।

पोखराले एकपटक यसरी कार्यक्रम गरेका भरमा मात्र पर्यटक आउने बाटो खुल्दैन। यसका निम्ति निरन्तर प्रयास आवश्यक हुन्छ। अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार र यहाँ सामान्य हुँदै गरेको सन्देश पहिलो सर्त हो। त्यसका साथै हिजोजस्तै गरी अब कुनै पनि क्षेत्र अगाडि बढ्न सक्दैन। 

यसमा भइरहेका नयाँ प्रयोगका बारेमा पनि जानकारी राख्नुपर्छ। हामीजस्तै पर्यटन क्षेत्रबाटै आम्दानी गरिरहेका मुलुकको सिकाइ हाम्रा निम्ति उपयोगी हुन्छ। हामीले नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेका बेला कोभिड महामारीको संकट परेर रोकिनुपरेको हो। त्यसैले त्यो रोकिएको कामलाई समेत कसरी अगाडि बढाउन सकिन्छ भन्नेतर्फ ध्यान पुर्‍याउन आवश्यक छ। 

प्रकाशित: १३ आश्विन २०७८ ००:२६ बुधबार

Download Nagarik App
Download Nagarik App