हामीकहाँ अचेल जतासुकै भ्रष्टारका कथा सुन्न पाइन्छ। चाहे त्यो पशुपतिको जलहरी राख्दा होस् वा नगर विकासका जग्गाको कुरामा अनियमितताको आभाष भइरहन्छ। जबसम्म समाजमा अनियमितताबाट आर्जित आम्दानीबाट प्राप्त सुखसुविधामा लज्जाबोध हुँदैन तबसम्म यो अभ्यास चलिरहन्छ। मुलुकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको व्यवस्था छ।
यसले हरहमेसा अनियमितताको अनुसन्धान गरिरहने जिम्मेवारी पाएको छ। मुलुकमा महालेखा परीक्षकको विभाग छ। संविधानले व्यवस्था गरेको यो निकायको काम सरकारी हिसाबकिताब जाँच गर्नु हो। यसले प्रत्येक वर्ष प्रस्तुत गर्ने प्रतिवेदन यो मुलुकमा हुने अनियमितताको एउटा अभिलेख हो। देशमा कस्ताकस्ता अनियमितता चलिरहेका छन् भन्ने तस्बिर प्रतिवेदनले प्रस्तुत गरेको छ।
आराध्यदेव पशुपतिनाथको जलहरी राख्ने क्रममा ११ किलो सुन गायब भएको शंकामा अख्तियारले उजुरीमाथि छानबिन थालेको समाचार सार्वजनिक भएको छ। हाम्रा पुर्खाले शिवस्व खानुहुँदैन भन्ने मान्यता राख्दै आएका हुन्। अहिले भगवानको मन्दिरछेउमा समेत अनियमितता गर्न नडराउने परिपाटी विकास भइरहेको छ।
महालेखाकै प्रतिवेदनअनुसार विद्युतीय शवदाह बनाउने क्रममा समेत अनियमितता भएको छ।आर्यघाट जीवनको अन्तिम सत्य हो। त्यहाँ पुगेपछि जोसुकैलाई श्मसानको वैराग्य उत्पन्न हुन्छ। त्यसले मानिसलाई अनाचारबाट जोगाउने अपेक्षा गरिन्छ। यो स्थितिमा पनि मानिसले आफूलाई जोगाउन सक्दैनन् भने सुध्रिन सक्ने ठाउँ धेरै छैन।
हाम्रा पुर्खाले आफन्तजनका नाममा पाटीपौवा बनाएका थिए। तिनले चौतारो, पुलपुलेसो हालेका थिए। कसैले आफन्तजनको सम्झनामा त कसैले आफ्नै परत्र सुधार गर्न पनि यस्ता क्षेत्रमा लगानी गर्दै आएका हुन्। कतिपयले स्कुल खोलिदिएका छन्। यस्ता स्कुल वर्षौँवर्ष चलिरहून् भनेर त्यसका निम्ति चाहिने स्रोतको जोगाड पनि गरिदिएका छन्। कतिपय धार्मिक पीठका निम्ति यस्तै दाताले सहयोग गरेका छन्।
यस्ता महान् पुर्खाका सन्तानमा अहिले लोभ बढेको छ। यस्ता सम्पदा र सम्पत्तिलाई आफ्नो बनाउन जालझेलको सहारा लिने प्रवृत्ति आम बनेको छ। मौका परे जोसुकैले यस्ता सार्वजनिक सम्पत्ति हडप्न तयार हुने गरेका देखिन्छ। यस्तो सम्पत्ति सार्वजनिक हो भन्ने बिर्सेर त्यसलाई हडप्न खोज्ने गलत अभ्यास अहिले आमरूपमा फैलिइरहेको छ।
यस्ता काममा राजनीतिक व्यक्तिहरूको बढ्ता संलग्नता छ। कुनैबेला राजनीति भनेकै सेवा कार्य थियो। आज राजनीति भनेको अनेकन किसिमले सार्वजनिक सम्पत्तिको दोहन गर्ने माध्यम बनेको छ। जसरी हुन्छ कुनै पद प्राप्त गर्ने र त्यसलाई दुरूपयोग गर्दै अनियमित काम गर्ने परिपाटी अहिले आमरूपमा देखिएको छ। कुनै पनि व्यक्तिले इमानदारीपूर्वक आफूलाई गलत कामबाट अलग गर्न सक्ने स्थिति छैन। सार्वजनिक पद बिक्रीमा छन्। किनेर पदमा पुगेका व्यक्तिको ध्यान सेवामा हुँदैन। तिनले जसरी पनि आफूलाई अनियमिततामा लगाउँछन्। पछिल्ला दिनमा राजनीतिमा लागेका व्यक्तिहरूको संलग्नता बढी देखेपछि यस्तो निष्कर्ष निस्कनु स्वाभाविक हो।
अचेल सरकारी जग्गा दुरूपयोग भएका खबर पनि त्यत्तिकै सार्वजनिक भइरहेका छन्। सार्वजनिक जग्गा खास प्रयोजनका निम्ति पहिल्यैदेखि छुट्याएर राखिएका हुन्। अचेल सहर बनेका छन् तर बालबालिकाले खेल्ने ठाउँसमेत छैनन्। नगर विकास समिति, राष्ट्रिय निकुञ्ज, वन, उपवन आदिका नाममा यस्ता जग्गा राखिएका हुन्। तर यी जग्गा कुनै न कुनै रूपमा अहिले दुरूपयोग भइरहेका छन्।
अख्तियारमै उजुरी परेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको सयौँ विघा जग्गा गैरकानुनी बिक्री–वितरण, लिज, अतिक्रमण आदिबारे अनुसन्धान सुरु भएको छ। पछिल्ला दिनमा अख्तियारले आफूलाई यस्ता अनियमितताको गुनासो आउनासाथ सक्रियतापूर्वक छानबिन सुरु गरेको छ। वास्तवमा देशमा यतिबेला अख्तियारले समेत छानबिन गर्न नभ्याउने गरी अनियमितता भइरहेका छन्। स्थानीय तहसम्म स्रोतसाधन पुगेपछि अनियमितता स्वाभाविक जस्तो बन्न पुगेको छ।
कुनै स्थानीय तहले आफूलाई अरूभन्दा भिन्न देखाउने हो भने अनियमितता नगरे मात्र पुग्छ। खासमा भ्रष्टाचार मुलुकमा महारोगका रूपमा फैलिइसकेको छ। भ्रष्टाचारविरुद्ध सक्रियरूपमा लाग्न सक्ने गरी मुलुकमा ऊर्जावान कुनै नेता नआई समस्याको समाधान तत्काल हुने देखिएको छैन। छानबिन र अनुसन्धान गर्ने निकायले समेत नभ्याउने गरी अनियमितता भइरहेको छ भने त्यसको समाधान सहज छैन।
समाजमा फैलिएको अनियमितता र अराजकताले आमनागरिकलाई वितृष्णा भइसकेको छ। सरकारी कार्यालयमा सजिलै काम हुन सक्दैन। त्यसमा कुनै न कुनै हिसाबले नजराना चढाउनुपर्ने बाध्यतामा सर्वसाधारण छन्। यस्तो परिस्थितिमा सुधार ल्याउन सबै संस्था र व्यक्तिले आफूलाई सक्रिय बनाउँदै अनियमितताविरुद्ध लाग्नुपर्ने अवस्था छ।
अनियमितता बढ्दै जाँदा त्यसले मुलुकमा बहुआयामिक क्षेत्रमा प्रभाव पार्छ। यसले मुलुकको विकास निर्माणमा मात्र नकारात्मक प्रभाव पार्दैन, अनैतिक काम गर्ने जमात बढाउँछ। जसरी कमाए पनि हुन्छ, मेहनत गर्नुपर्दैन भन्ने भाव यसले आम रूपमा विस्तार गर्छ। त्यही भएर आजको दिनमा देशमा कसैले अनियमितता गरेर कमाए पनि प्रश्न गरेको सुनिँदैन। बरु उसले आर्जन गरेको त्यो अनियमित सम्पत्ति गौरवपूर्ण कर्मका रूपमा अनुदित हुन थाल्छ।
भ्रष्टाचारबाट मुलुकलाई जोगाउने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको नागरिक चेतना हो। सबै तहका सरकारलाई उच्च पारदर्शिताको व्यवहार गर्न प्रेरित गर्ने र नागरिक सचेत हुने हो भने भ्रष्टाचारको अन्त्य सम्भव छ। यसका निम्ति प्रश्न गर्ने नागरिक जमात तयार हुनुपर्छ। त्यसो भए मात्र अहिले देखिएको जताततै भ्रष्टाचारको स्थितिमा सुधार आउँछ। यो मुलुक पनि युरोपका भ्रष्टाचारशून्य मुलुकजस्तै बनाउने हो भने नागरिक सक्रियता पहिलो सर्त हो।
प्रकाशित: २४ भाद्र २०७८ ०१:२० बिहीबार